शुक्रबार, असोज ९, २०७७

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे निर्णय हुनसक्ने

फाइल फाेटाे

काठमाडौं, साउन २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आज बस्ने मन्त्रिपरिषद् बैठकमा लकडाउनलगायतका विषयमा निर्णय हुनसक्ने जनाएको छ। लकडाउन खोलेयता कोरोना भाइरस संक्रमित बढ्दै गएका छन्। आजको बैठकबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष निर्णय हुनसक्ने एक मन्त्रीले बताए।

यस अघि सरकारले भदौ १ गतेदेखि हवाई उडान र लामो दूरीका सार्वजनिक सञ्चालन गर्ने निर्णय गरेको थियो। कोरोना संक्रमण बढेकाले त्यसलाई संशोधन गरिने जनाएको छ।

यस्तै, सरकारले भदौ १ गतेदेखि विद्यालय भर्नालगायतका कार्यक्रम गर्ने निर्णय गरेको थियो। त्यसमा पनि फेरबदल हुने ति मन्त्रीले बताए।

सरकारले लकडाउन खोलेयता कोरोना संक्रमण बढ्दै गएको छ। प्रधानमन्त्री ओलीले गत साता विज्ञहरुसँग गरेको छलफलमा पनि लकडाउन गर्न अधिकांशले सुझाव दिएका थिए।

प्रधानमन्त्री ओलीले सरकारले अध्ययन गरेर निर्णय गर्ने जनाएका थिए। यो अवधिमा कोरोना संक्रमणको अवस्था र नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे अध्ययन गरिएको जनाएको छ।

अहिले परीक्षण कम भएपनि संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। प्रदेश २ का समुदायस्तरमै कोरोना फैलिएको छ भने काठमाडौं उपत्यकामा पनि संक्रमण बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार नौ सय ७२ पुगेको छ। त्यस्तै, कोरोनाबाट ७६ जनाको मृत्यु भइसकेको छ। जसमध्ये ३८ जनाको लकडाउन खोलेपछि मृत्यु भएको हो।

 Published Date: Monday, 10th August 2020 8:15:48 am