सोमबार, असार २९, २०७७

कोरोनाभाइरसले इटालीमा एकै दिन ६ सयभन्दा बढिको मृत्यु, विश्वभर २१ हजारको निधन

काठमाडौं, चैत १३ : कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार मात्रै ६ सय ८३ जनाको निधन भएको छ। यससँगै इटालीमा कोरोनाभाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय नाघेको छ।

त्यसैगरी बुधबार मात्र इटालीमा ५ हजार २ सय १० जना नयाँ संक्रमित फेला गरेका छन् । यससँगै इटालीमा संक्रमितको संख्या ७४ हजार ३ सय नाघेको छ ।

चीनपछि सबैभन्दा बढी प्रभावित इटालीमा चीनमा भन्दा दोब्बरभन्दा पनि बढी मानिसको ज्यान गइसकेको छ ।

त्यस्तै अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा पनि समग्र भाइरस संक्रमितको संख्या ६५ हजार ७ सय नाघेको छ ।

अमेरिकामा बुधबार मात्र १ सय ५५ जनाको उक्त भाइरसको कारण ज्यान गएको छ । यससँगै अमेरिकामा समग्र मृत्यु हुनेको संख्या पनि ९ सय ३५ पुगेको छ ।

इटालीपछि दोस्रो सबैभन्दा धेरै मानिसको ज्यान गएको स्पेनमा अहिलेसम्म ३ हजार ६ सय भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । स्पेनमा ४९ हजार ५०० भन्दा धेरै मानिसमा कोरोनाभाइरसको संक्रमित छन्। 

विश्वभर कोरोना भाइरस संक्रमणको संक्रमण ४ लाख ६८ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २१ हजार पुगेको छ । 
 

 Published Date: Thursday, 26th March 08:44:59 AM