बुधबार, असोज १४, २०७७

उपत्यका नगरपालिका फोरमको निष्कर्ष- संक्रमित बढे, नाका बन्द गरौं

काठमाडौं, साउन २६ :  काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि उपत्यका नगरपालिका फोरमले नाका बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ।

मेयर फोरमको सोमबार बसेको बैठकले संक्रमितको संख्या थपिँदै गएकाले सबै नाका बन्द गर्नुपर्ने निष्कर्ष निकालेको हो।  फोरमले उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुमै अत्यन्त कडाइ गर्न सरकारसँग माग गरेको छ। फोरमले आइतबारमात्रै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई नाकामा कडाइ गर्न सुझाव दिएको थियो।

‘उपत्यका मुलुकको राजधानी समेत भएकाले कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने खतरा छ। उपत्यका प्रवेश विन्दुबाट अनाधिकृत रुपमा समेत मानिसहरु प्रवेश गर्ने र गराउनेलाई कार्यलाई पूर्णतः नियन्त्रण गर्न सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘तेस्रो मुलुकबाट आउनसक्ने ठूलो संख्याको यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्नु उपयुक्त हुने भएकाले संघीय सरकारसँग माग गरेका छौँ।’

जुलुस निकाल्न प्रतिबन्ध लगाउन माग

बैठकले उपत्यकामा समुदाय स्तरमा कोभिड-१९ को संक्रमण जान सक्ने खतरा बढेको निष्कर्ष निकाल्दै सरकारको समर्थन वा विरोधमा र्‍याली, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न कडाइका साथ निषेध गरिनुपर्ने बताएको छ। यस्तै,  भिडभाड हुने साँस्कृतिक गतिविधि जात्रा,पर्व सञ्चालनमा पनि रोक लगाउन माग समेत फोरमले गरेको छ।

‘संक्रमण सर्न सक्ने सम्भावनालाई न्यूनीकरण गर्न मास्क उपयुक्त र अनिवार्य भएको तथ्यलाई ध्यानमा राखी मास्क नलगाई आवतजावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेलाई कारवाही गर्न पनि फोरमले माग गरेको छ। 

सार्वजनिक सवारी बन्द गर्न माग

उपत्यका संक्रमणको उच्च जोखिमयुक्त रहेको देखिएकाले अनाधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएकाले तरकारी व्यापारलाई साँझ बिहानमात्र सीमित गरी निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई भदाै १५ गतेसम्मका लागि निषेध गर्नुपर्ने पनि बैठकले निर्णय गरेको छ।

सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण दर तीव्र भएको स्थितिलाई ध्यानमा राखी पुनः जोरविजोर प्रणाली लागू गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउनुपर्ने तथा अन्यमा जोर विजोर तत्काल लागू गर्न माग समेत बैठकले गरेको छ।

उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले केही व्यक्तिलाई काठमाडौंभित्र छिराउँदा शान्त तलाउमा ढुंगा हानेजस्ता भएको र थप भयावह हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै नाकामा कडाइ गर्नुको अर्को विकल्प नभएको बताए।उनले सरकारले बन्दाबन्दी खोले पनि लामो दूरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको बन्दाबन्दी नै मानेर आवतजावत बन्द गर्नुपर्ने उनको भनाइ छ। 

बैठकमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र सीसीएमसीका पदाधिकारी समेत सहभागि थिए। बैठकमा सहभागी प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईले पनि फोरमका माग सकारात्मक रहेको बताए।

उपत्यकामा हालसम्म १ हजार ८० जनामा संक्रमण पुष्टि भइसकेको छ।  सोमबारमात्रै उपत्यकाका ४४ जनामा संक्रमण पुष्टि भएको थियो। अहिले उपत्यकामा ४४३ जना संक्रमितको उपचार अस्पतालमा भइरहेको छ। तीमध्ये ३४ जनाको आईसीयूमा उपचार भइरहेको छ।

 Published Date: Monday, 10th August 2020 1:11:41 pm