सोमबार, जेठ १९, २०७७

सेनाले अस्पतालबाट उठायो कोरोना संक्रमित पुरुषको शव

भैरहवा, जेठ ९ : रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका गुल्मीको पुरुषको शव नेपाली सेनाको टोलीले उठाएको छ।

सेनाले ती पुरुषको शव शुक्रबार दिउँसो दुई बजे उठाएको हो। अस्पतालको आईसीयू कक्षमा मृत्यु भएका पुरुषको नेपाली सेनाको प्राविधिक टोलीले शव र्‍यापिङ गरी शववाहनमा राखेर अस्पतालबाट निकालेको हो।

मृतकको परिवारले अस्पतालको लापरवाहीले उनको मृत्यु भएको आरोप लागएका थिए। साथै, कोरोना पोजेटिभ देखिएपछि उनको उपचार नगरेको भन्दै बिहीबार छानबिनको मागसमेत राखेका थिए। 

आज भने शव व्यवस्थापनका लागि तयार पारिएको कागजमा सेनाको टोलीले हस्ताक्षर गर्न भनेपछि मृतकको परिवारले केही नभनी हस्ताक्षर गरेका थिए।

जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका पुरुषमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो। उनको स्वाब पुन: पीसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब पठाइएको छ।

उनको उपचारमा संलग्न क्रिमसन अस्पतालका चिकित्सक, नर्स, आफन्त र एम्बुलेन्स चालकसहित २९ जनामध्ये १९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। 
साथै, क्रिमसन अस्पतालका १० जना र मृतको पछिल्लो रिपोर्ट भने आउन बाँकी छ।

 Published Date: Friday, 22nd May 16:00:55 PM