बुधबार, साउन २१, २०७७

टोखा नगरपालिकाको तीन स्थानीयसहित चार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २८ : टोखा नगरपालिकाका तीन स्थानीयसहित चार जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाको विभिन्न १२ स्थानका मानिसहरुको स्वाब नमुना संकलन गरि परीक्षण गर्दा टोखा ६ हरियाली बस्तीका चार जनामा संक्रमण पुष्टि भएको हो। 

महाशाखाले समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ/छैन भन्दै गत साता उपत्यकाकाे १२ स्थानबाट एक सय मानिसका दरले स्वाब संकलन गरेको थियो। उक्त बस्तीबाट एक सय बढीको मानिसको स्वाब संकलन गरि जाँच गर्दा चार जनामा कोरोना पोजेटिभ देखिएको हो। 

संक्रमित मध्ये तीन जना हरियाली बस्तीकै स्थानीय हुन् भने एक जना कैलालीबाट आएर क्वारेन्टाइनमा बसेका ब्यक्ति हुन्।

महाशाखाले काठमाडौं महानगरपालिका २९ डिल्लीबजार क्षेत्रबाट पनि दुई सय नमुना संकलन गरेको थियो। उक्त नमुनाको परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको छ। 

महाशाखाले बिहीबार विभिन्न मालपोत कार्यालय, अस्पताल, बैंक, यातायात कार्यालय र अस्पतालका सेवा प्रदायक कर्मचारी तथा सेवाग्राहीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको छ। उक्त स्वाबको रिपोर्ट आउन भने बाँकी नै छ।

स्थानीयमा संक्रमण भेटिन थालेपछि महाशाखाले समुदायमा कोरोना भाइरसको स्थिति अध्ययन गर्न पाँच दिनभित्र उपत्यकाका पाँच हजार मानिसको स्वाब परीक्षण गर्ने भएको छ।

 Published Date: Sunday, 12th July 14:21:33 PM