सोमबार, भदौ ३०, २०७६

६० वर्षमाथिका कर्मचारीलाई मात्रै पेन्सन दिन कांग्रेसको माग

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सहभागी। तस्वीर : रासस ।

काठमाडौं, साउन १ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। 

बुधबार बसेको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकम कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले ६० वर्ष उमेर पुगेका कर्मचारी मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। 

‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले ५८ वर्षमा पेन्सन पाउने सरकारको प्रस्ताव आफ्नो पार्टीले स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारे। सांसद बडुले राष्ट्रको व्ययभारलाई कम गर्न पनि निजामती कर्मचारीहरुको पेन्सन पाउने उमेर हद ६० वर्ष तोक्नुपर्ने तर्क पनि गरे।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले निजामती कर्मचारीको पेन्सन वृद्धि गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराएका थिए। उनले काम नबढाउने तर सेवा र सुविधामात्रै कर्मचारीहरुलाई थप गरेर राष्ट्रको व्ययभार बढाउने पक्षमा आफू नरहेको पनि बताए।

विधेयकमा कर्मचारीको पेन्सन उसले पाएको तलवको ७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव गरिएको छ। त्यसप्रति सांसदहरुले आपत्तिसमेत जनाएका छन्।
 

 Published Date: Wednesday, 17th July 18:26:43 PM