शुक्रबार, चैत्र २८, २०७६

क्रिस गेलको छक्का-चौका कीर्तिपुरमा हेर्न पाइने

| तस्वीर:फाइल

काठमाडौं, माघ १६ : टि–२० क्रिकेटका सबैभन्दा खतरनाक ब्याट्सम्यान हुन्, क्रिस गेल। अन्तर्राष्ट्रिय क्रिकेट होस् वा फ्रेन्चाइज लिग।

जब गेल क्रिजमा हुन्छन् तब जस्तोसुकै उत्कृष्ट बलर पनि रक्षात्मक हुन्छन्। बलर रक्षात्मक पनि किन नहुन्। उनी जस्तोसुकै बलमा बाउन्ड्री लगाउन माहिर छन्। 

टि–२० क्रिकेटमा ब्याटिङका अधिकांश रेकर्डमा आफ्नो नाम लेखएका गेल ब्याटिङ होस् या फिल्डिङमा दर्शकलाई ‘इन्टरटेन’ गर्न पनि खप्पिस छन्। गेलको ब्याटिङ मन नपराउने सायदै होलान। टेलिभिजनमा गेलको ब्याटिङमा झुम्ने थुप्रै समर्थक नेपालमा पनि छन्।

तर, अब नेपाली समर्थकले गेलको ब्याटिङको मज्जा टेलिभिजनको पर्दामा होइन, मैदानमै प्रत्यक्ष लिने पाउने छन्। नेपाली दर्शकले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै गेलको छक्का–चौकाको आनन्द लिने पाउने छन् र उनको अनौठो सेलिब्रेसनको साक्षी बन्न पाउने छन्। 

नेपाली समर्थकलाई यो अवसर एभरेष्ट प्रिमियर लिग (इपीएल) ले जुराइदिन लागेको हो। चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान गेलले पोखरा इनोजबाट खेल्ने पक्का भएको छ। 

बिहीबार पत्रकार सम्मेलन गरी पोखरा राइनोजले गेल इपीएलका लागि क्लबमा आबद्ध भएको जानकारी दिएको छ। उनी नेपालमा क्रिकेट खेल्ने अहिलेसम्मकै सबैभन्दा ठूला स्टार हुनेछन्। 

गेलले भिडियोमार्फत नेपालमा क्रिकेट खेल्न पाउँदा उत्साहित भएको बताएका छन्। टिम पोखरा राइनोजलाई समर्थन गर्न पनि आग्रह गरेका छन्। उनले आफ्नो धमाका हेर्नका लागि तयार रहन पनि भनेका छन्।

गेलसँगै वेष्ट इन्डिजकै ड्वायन स्मिथ, श्रीलंकाका उपुल थरंगा र अफगानिस्तानका मोहम्मद साहजादले पनि इपीएल खेल्ने पक्का भइसकेको छ। स्मिथ बुलटल ब्लास्टर्समा, थरंगा ललितपुर प्याट्रिओट्स र साहजाद चितवन टाइगर्समा आबद्ध भएका छन्। 

गेलले सन् १९९९ मा भारतविरुद्ध खेल्दै अन्तिर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। त्यस्तै, उनले सन् २००० मा टेस्ट र सन् २००६ मा टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए। यसबीच वेष्ट इन्डिजका लागि उनले ३०१ एकदिवसीय, १०३ टेस्ट र ५८ टि–२० खेल खेलेका छन्। 

तथ्यांकमा गेल 

टि–२० अन्तर्राष्ट्रिय
५८ खेल – १६२७ रन
२ शतक, १३ अर्धशतक
१०५ छक्का, १३८ चौका

एकदिवसीय
३०१ खेल– १०,४८० रन
२५ शतक, ५४ अर्धशतक
३३१ छक्का, ११२८ चौका

टेस्ट 
१०३ खेल– ७२१४ रन
१५ शतक, ३७ अर्धशतक
९८ छक्का, १०४६ चौका

टि–२०
४०४ खेल– १३,२९६ रन
२२ शतक, ८२ अर्धशतक
९७८ छक्का, १०२६ चौका

 Published Date: Thursday, 30th January 17:51:50 PM