सोमबार, भदौ २, २०७६

ललितपुरमा खुल्याे ‘बीउ एटियम’

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन

साउन २६, पाटन : ललितपुर महानगरपालिकाले ‘बीउ एटियम’ सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले सहरी खेती साझेदारी कार्यक्रम अन्तर्गत कृषकहरुलाई उन्नतस्तरको बीउ एटिएममार्फत् उपलब्ध गराउने गरी सो एटिएम सञ्चालनमा ल्याएको हो । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आइतबार ललितपुरमा एक कार्यक्रममा बीच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीको उपस्थितिमा सो प्रविधिको पनि उद्घाटन गरे । उनले सहरी कृषकहरुको उत्पादनमा बढावा दिने उद्देश्यका साथ उन्नत विउ विजन वितरणका लागि बीउ एटियमको पनि व्यवस्था गरिएको स्पष्ट पारे । 

एटीएममा ३६ जातका तरकारी तथा फलफूलको उन्नत बीउ पाउने व्यवस्था पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । 

२०, ५० र १०० रुपैयाँका सफा नोट एटियममा घुसाएपछि उनीहरुले चाहे अनुसारको बीउको चित्र आउने र सोही चित्रमा थिचेपछि आवश्यक बीउ प्राप्त गर्ने व्यवस्था सो एटियममा गरिएको छ ।

ललितपुर महानगरपालिकाले ‘पानी एटियम’ पनि संचालन गरिसकेको छ । मेयर महर्जनले सहरी क्षेत्रको उचित व्यवस्थापनका लागि ‘साईकल लेन’को व्यवस्था गर्ने कामलाई पनि अघि बढाइएको जानकारी दिए । 

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव जिसीले प्रदेश र स्थानीय सरकारसँग मिलेर कृषि उत्पादनमा बढावा दिन नयाँ–नयाँ प्रविधिको विकास गर्न सरकार तयार रहेको बताए । उनले कृषिमा निर्भर मुलुकलाई अघि बढाउन कृषि क्षेत्रको विकासमा तीन वटै तहबीच मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए । 

ललितपुर महानगरपालिकाले नौ लाख रुपैयाँ लगानीमा स्थापना गरेको सो मेशिनको सेवा सबै वडामा संचालनमा ल्याउने तयारी पनि गरेको छ ।

 Published Date: Sunday, 11th August 17:12:45 PM