शुक्रबार, कात्तिक १, २०७६

चिनियाँ राष्ट्रपति असोज २५ गते नेपाल आउने पक्का

चिनियाँ राष्ट्रपति सी चिनफिङ | तस्वीर:साउथ चाइना मर्निङ्ग पोस्ट

काठमाडौँ, असोज २२ : चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि असोज २५ गते नेपाल आउने पक्का भएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सीको भ्रमणको मिति सार्वजनिक गरेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ।

नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्नेछन् भने राष्ट्रपति भण्डारीले सी र चिनियाँ टोलीको सम्मानमा रात्रीभोज आयोजना गर्नेछिन्।

राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच औपचारिक भेटवार्ता हुनेछ भने सो अवसरमा केही दुई पक्षीय सम्झौता र सहमतिमा हस्ताक्षर हुने पनि परराष्ट्रले जनाएको छ।

राष्ट्रपति सीले नेपालका प्रमुख राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने छ।

चिनियां विदेशमन्त्रालयले पनि आजै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको छ। सी काठमाडौं उत्रनुअघि भारतको चेन्नई पुग्ने छन् जहाँ उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटबार्ता हुनेछ।  

राष्ट्रपति सी असोज २६ मा वेइजिङ फर्कने जनाइएको छ।

 Published Date: Wednesday, 9th October 12:37:21 PM