मंगलबार, असार २३, २०७७

चीनले जौं आयातमा ८० प्रतिशत शुल्क वृद्धि गरेपछि अष्ट्रेलिया दु:खी

चीनले अष्ट्रेलियाबाट आयात गरिने जौमा ८० प्रतिशत शुल्क बढाएको छ। एक सय दशभन्दा धेरै देशले कोरोना भाइरसबारे अन्तर्राष्ट्रिय छानविनका लागि दबाब दिएपछि यसरी शुल्क बढाइएको हो।

व्यापारमन्त्री साइमन बर्मिङघमले अष्ट्रेलियाको जौमा लगाइएको ७३.६ प्रतिशत एन्टि डम्पिङ ट्यारिफ र ६.९ प्रतिशत एन्टि सब्सिडी ट्यारिफबारे अपिल गर्ने सङ्केत दिएका छन्।

“अष्ट्रेलियाको जौमा कर लगाउने चीनको निर्णयलाई लिएर अष्ट्रेलिया निराश छ,” उनले एउटा वक्तव्यमा भनेका छन्, “हामी यो निर्णयको आधार अस्वीकार गर्दछौं। अगाडिको बाटोबारे विचार गर्दै हामी नतिजाको विवरण मुल्याङ्कन गर्नेछौं। यो विषयमा अपिल गर्ने अधिकार हामीसँग सुरक्षित छ। मूल्यमा सरकारकी सहुलियत नलिई काम गर्ने अष्ट्रेलियाली कृषक विश्वकै उत्पादकमध्ये पर्नेमा हामी विश्वस्त छौं।”

एउटा एन्टि डम्पिङ गुनासोबारे १६ महिने अनुसन्धानपछि चीनको वाणिज्य मन्त्रालयले सोमबार अबेर नयाँ शुल्क घोषणा गरेको थियो। “अष्ट्रेलियाबाट आयातित जौले घरेलु उद्योगमा उल्लेखनीय क्षति पुगेको अनुसन्धानको निष्कर्ष छ,” मन्त्रालयको वेबसाइटमा प्रकाशित वक्तव्यमा भनिएको छ।

नयाँ मूल्य चीनसँग अष्ट्रेलियाको जौ व्यापारमा ठूलो धक्का हो। अष्ट्रेलियाको करिब आधा जति जौको निर्यात चीनमै हुने गर्छ। एक साताअघि मात्रै अष्ट्रेलियाको चारोटा मासु प्रशोधन कम्पनीबाट चीनले आयात निषेध गरेको थियो।

कोभिड १९ विश्वव्याधि र विशेष गरी महामारीको श्रोतबारे अन्तर्राष्ट्रिय अनुसन्धानमा दबाब दिएकैले अष्ट्रेलियालाई चीनले सजाय स्वरूप शुल्क वृद्धि गरेको शङ्का बढ्दै गएको छ। विश्व स्वास्थ्य सभा समक्ष एउटा स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान गर्ने अष्ट्रेलियाली समर्थनको प्रस्तावमासोमबार राति एक सय दशभन्दा धेरै देशले समर्थन जनाएका थिए।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस घेब्रेयेससले अनुसन्धान गर्ने वाचा पनि गरेका थिए। चीनका राष्ट्रपति सि जिन्पिङले विश्वव्यापी प्रतिकार्यको वृहत मुल्याङ्कनलाई देशले समर्थन गर्ने जनाएका थिए।

“यो कार्यका लागि वैज्ञानिक र पेशागत सोंच आवश्यक छ। विश्व स्वास्थ्य संगठनले यसको नेतृत्त्व गर्नुपर्छ। वस्तुनिष्ठता र निष्पक्षताको सिद्धान्त कायम गर्नुपर्छ,” सिले भनेका थिए।
यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरसको श्रोतसम्बन्धी छानबिनमा भइरहेको जोड पूर्णतया सामान्य भएको बताएका थिए। तर चीनका विदेशमन्त्री वाङ यीले महाव्याधिलाई राजनीतिकरण गरेकोमा विदेशी विधायकको भर्त्सना गरेका थिए।

क्यानबेर्रास्थित बेइजिङका राजदूतले पनि सोधपुछमा जोड दिएकोले अष्ट्रेलियाली उत्पादन उपभोक्ताले बहिष्कार गर्नसक्ने सम्भावना उठाएका छन्। कोरोना भाइरससम्बन्धी तनावबाहेक चिनियाँ स्टिल आयातमा अष्ट्रेलियाले लगाएको शुल्कबारे चीनको लामो समयदेखि गुनासो रहेको बर्मिङ्घमले स्वीकारेका छन्।

“हाम्रो एन्टि डम्पिङ प्रणालीबारे चीनबाट पहिले पनि कुरा आएको थियो,” अष्ट्रेलियन फाइनान्सियल रिभ्युलाई उनले भने, “यो मुद्दालाई तर्कमा आधारमा समाधान गर्नुपर्छ।”
 

 Published Date: Sunday, 24th May 06:44:08 AM