सोमबार, भदौ ३०, २०७६

बुद्ध जन्मभूमिमै बुद्धका मूर्ति तोडफोड

तोडफाड गरिएका बुद्धका मूर्ति। | तस्वीर:काठमाडौं प्रेस

बुटवल, साउन २ : रुपन्देहीको बुटवल–बेलहिया सडकखण्डको मध्यभागमा राखिएका बुद्धका मूर्ति तोडफाेड गरिएको छ।

गएराति तिलोत्तमाको शंकरनगरचोकदेखि नयाँमिल खण्डमा राखिएका पाँचवटा बुद्धका मूर्ति तोडफोड गरिएका हुन्। केही बुद्धका मूर्ति सडकमै फालिएका छन्।

तिलोत्तमा नगरपालिकाले बुद्ध जन्मस्थल लुम्बिनीको पहिचानका लागि ६ लेन सडकको मध्य डिभाइडरमा योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मूर्ति राखेको थियो।

लुम्बिनी भ्रमण वर्षको अवसर पारेर बैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले बुद्धका मूर्ति अनावरण गरेकी थिइन्। बुद्धका मूर्ति तीन सय मिटरको दूरीमा राखिएका थिए। यसका लागि नगरपालिकाले ५० लाख बजेट छुट्टाएको थियो। जसमध्ये गत आर्थिक वर्षको अन्त्यसम्म २३ लाख रुपैयाँ खर्च भएको र बाँकी चालु वर्षमा खर्च गर्ने नगरपालिकाले जनाएको छ।

बुद्धका मूर्तिहरु कसले किन फुटायो भन्ने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मेयर बासुदेव घिमिरेले बुद्धका मूर्ति तोडफोडले नगरपालिकालाई स्तब्ध बनाएको बताए।

 

 Published Date: Thursday, 18th July 12:13:29 PM