सोमबार, भदौ ३०, २०७६

भिसिटिएस प्रणालीको सुरुवात, उद्योगीहरु भने असन्तुष्ट

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीको शुभारम्भ कार्यक्रममा बुधबार सहभागी अर्थमन्त्री डा युवराज खतिवडालगायत।

काठमाडौं, साउन १  : सरकारले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)को शुभारम्भ गरेको छ। बुधबारदेखि नै लागू हुने गरी अर्थमन्त्री डा. युवराज खतिवडाले भिसिटीएस प्रणालीको सुरुवात गरेका हुन्। 

तर, उद्योगीहरुले भने सरकारको यो निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उद्योगी तथा व्यवसायीहरुले भने सरकारले आवश्यक पूर्वाधारको विकास नगरी भिसिटिएसको सुरुवात गरेको भन्दै  असन्तुष्टि जनाएका हुन्। 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सरकारले सामान्य जानकारी र पूर्वाधारको आवश्यक तयारी नगरी उद्योगी व्यवसायमाथि नै अल्झन आउने गरी हतारमा भिसीटिएस प्रणालीको शुभारम्भ गरिएको जनाएका छन्।

सेवा शुभारम्भ कार्यक्रममा सहभागी भएका नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले स्थानीय ढुवानीकर्ताहरुलाई मारमा पार्नेगरी सो प्रणाली लागू गरिएको भन्दै असन्तुष्टि जनाए। उनले अर्थमन्त्री डा। युवराज खतिवडालाई सो सेवा तीन महिनासम्म परीक्षणकालको रुपमा सञ्चालन गर्न सुझाव दिए।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले सो प्रणालीबाट मुलुकको आपूर्ति व्यवस्थामा समस्या नआउने कुराको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरे। उनले स्थानीय ढुवानीकर्तालाई समेत भ्याट लगाउने गरी आएको सो प्रणालीले मुलुकको आपूर्ति व्यवस्थालाई ठप्प बनाउने तर्क पनि गरे।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनि व्यवसायीहरुलाई पर्याप्त जानकारी दिएर मात्रै सो प्रणाली देशभर लागू गराउन सरकारसँग आग्रह गरिन्। उनले स्थानीय तहमा सरकारले ल्याएको सो व्यवस्थाका कारण व्यवहारिक कठिनाइ देखिने भएकाले सो समस्या समाधानका लागि गम्भिर हुन पनि सरकारको ध्यानाकर्षण गराइन्।

सामान्य जानकारी र प्रविधि प्रयोगका लागि आवश्यक पूर्वाधारको समेत व्यवस्था नगरी सरकारले सो प्रणाली लागू गरेकोमा उद्योगी, व्यवसायीहरुको असन्तुष्टि छ।  उनीहरुले तत्काल भिसिटिएसमा जान नसकिने भएकाले केही समय दिन सरकारसँग माग गर्दै आएका थिए।
 

 Published Date: Wednesday, 17th July 16:35:42 PM