मंगलबार, असार ३, २०७६

सबै सार्वजनिक यातायात राति १० बजेसम्म अनिवार्य चलाउनुपर्ने

| तस्वीर:फाइल फोटो

काठमाडौं, चैत २४: काठमाडौं महानगरपालिका नगरसभाले महानगरभित्रका रूटमा चल्दै आएका सार्वजनिक यातायात राति १० बजेसम्म अनिवार्य चलाउनुपर्ने निर्णय गरेको छ । १५ दिनभित्र राजपत्रमा प्रकाशित भएपछि यो निर्णय कार्यान्वयनमा आउने महानगरपालिकाले जनाएको छ ।

महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले कात्तिकदेखि माघ मसान्तसम्म बिहान ५ बजेदेखि राति ९ बजेसम्म र बाँकी महिनामा बिहान ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने निर्णय गरेको जानकारी दिए । डङ्गोलले काठमाडौं महानगरपालिका सवारी तथा यातायात सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार यो निर्णय गरिएको काठमाण्डौँप्रेसलाई जानकारी दिए ।

‘आम यात्रुहरुको बाध्यतालाई ध्यानमा राख्दै  योजना ल्याइएको हो । अबको १५ दिन भित्रमा राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा ल्याउँछौँ’, उनले भने । महानगरले पटक–पटक सार्वजनिक यातायातको सयम सीमा तोकेको भएपनि हालसम्म कार्यन्वयनमा आउन सकेको छैन । बस व्यवसायीहरुले रातिसम्म यात्रु नपाउने दाबीसहित महानगरको मापदण्डलाई अवहेलना गर्दै आइरहेका थिए ।

‘पहिला हामीले सिस्टममा बसाल्नका लागि मात्र मापदण्ड बनाएका थियौँ, अब कानुनै बनेर आउने भएकाले कार्यन्वयन हुन्छ,’ डङ्गोलले भने, ‘कार्यान्वयन हुन्छ, ढुक्क हुनुस् । राति १० बजेसम्म नचलाउने व्यवसायीलाई कारवाहि हुन्छ ।’

 Published Date: Sunday, 7th April 20:13:40 PM