मंगलबार, जेठ ७, २०७६

विष्णु पौडेलले भने-बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिए सजाय भोग्न तयार छु

काठमाडौं, वैशाख २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।

संघीय संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सोमबार भाग लिँदै महासचिव पौडेलले भने,‘ललिता निवासको जग्गा प्रकरणमा दोषी ठहर भए जस्तो सुकै कारबाही भोग्न तयार छु। त्यसको सत्य तथ्य बाहिर आउने गरी छानविन होस्।’

उनले सरकारी जग्गा प्रकरणबारे यथार्थ छानविनका लागि माग पनि गरे। उनले ललिता निवासको जग्गा प्रकरणमा केही नेतासहित आफ्नो पनि नाम जोडिएको र त्यसबारे आफूले स्पष्ट पारिसकेको बताए।

महासचिव पौडेलले सरकारको नीति तथा कार्यक्रम दोहोरो अंकको आर्थिक वृद्धि, तीव्र गतिको आर्थिक विकास र समृद्धिका लागि क्षेत्रगत योजनासहितको तीन खम्बे नीतिमा आधारित रहेको बताए। उनले नीति तथा कार्यक्रमले जनतासँग गरिएको प्रतिबद्धता अनुरुप तीव्र आर्थिक विकास हासिल गर्न योगदान दिने बताए।

 Published Date: Monday, 6th May 17:47:23 PM