सोमबार, भदौ ३०, २०७६

विनोद चौधरीको टिप्पणी: कर्मचारीलाई काम नलाग्ने राजनीतिक दलले नै बनाएका हुन्

काठमाडौं, साउन २ : उद्योगपति एवं कांग्रेस सांसद विनोद चौधरीले मुलुकको कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै काम नलाग्ने बनाएको आरोप लगाएका छन्।

अर्बपतिसमेत रहेका सांसद चौधरीले राजनीतिक दलहरुकै संरक्षणका कारण कर्मचारीहरु माथिल्लो ओहोदामा पुग्ने गरेकाले उनीहरुले काम गर्न नसकेको तर्क पनि गरे। उनले लिडरसिपसँगको सम्बन्धको आधारमा माथिल्लो ओहोदामा कर्मचारी पुगेकाले उनीहरुले काम गर्न नसकेको पनि स्मरण गराए।
 
बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उद्योगपति चौंधरीले २०४६ सालयताका दिनहरुलाई हेर्ने हो भने माथिल्लो ओहोदामा पुग्ने कर्मचारीसँग योग्यता र कार्यक्षमता भन्दा पनि नेतृत्वसँगको सम्बन्धले काम गर्ने गरेको पनि उल्लेख गरे।

सबैभन्दा कम क्षमता भएकाहरुलाई माथिल्लो ओहोदाको जिम्मेवारीमा पुर्‍याउने राजनीतिक नेतृत्वका कारण मुलुकको कर्मचारी संयन्त्र कामै गर्न नसक्ने अवस्था पुगेको उद्योगपति चौधरीको दाबी छ।

उद्योगपति चौंधरीले कर्मचारी संयन्त्रलाई गतिशील बनाउन उनीहरुको मानसिकतामा परिवर्तन हुने गरी तालिमको व्यवस्था गर्न पनि सरकारसँग माग गरे। योग्यता, क्षमता र कार्यकुशताको आधारमा कर्मचारीलाई जिम्मेवारी दिने व्यवस्था भएमात्रै मुलुकमा कर्मचारीले उचित ढंगले कार्य सम्पादन गर्न सक्ने उनको बुझाइ छ।
 

 Published Date: Thursday, 18th July 15:29:15 PM