मंगलबार, भदौ ३, २०७६

भीम रावलले भने- छिमेकी देशमा भइरहेका घटनाबाट नेपालले पाठ सिक्नुपर्छ

| तस्वीर:फाइल

काठमाडौं, साउन २८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीमबहादुर रावलले असमान र अपमानजनक सन्धिबाट मुलुकलाई मुक्त गर्न सरकारले कूटनीतिक र राजनीतिक पहल गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले शक्तिशाली सरकारले विगतमा भएका गलत सम्झौताबाट मुलुकलाई मुक्त राख्नुपर्ने बताएका हुन्। उनले नेपालको सार्वभौम सत्तामा आँच पुर्‍याउने गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने तर्क गरे। 

‘नेपाली युवा युवतीलाई विदेशी सेना भर्ती गरिने नेपालको सार्वभौमसत्तामा आँच पुर्‍याउने निरंकुश राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गरिनुपर्छ। भूतपूर्व  गोर्खाका न्यायोचित आवाज सुनिनुपर्छ र त्यसलाई सम्बोधन गरिनुपर्छ,’ उनले भने।

रावलले नेपाल कुनै पनि शक्ति राष्ट्रसंघको संयुक्त सैनिक अभ्यासमा सहभागी हुन नहुने बताए।

‘कुनै पनि शक्ति राष्ट्रसँग कुनै पनि प्रकारको सामरिक गठजोडमा संलग्न हुन नेपालको संविधानले अनुमति दिँदैन। त्यस्तो गठजोडमा लाग्नु नेपालको हितमा पनि छैन।  देशभित्र र बाहिर संयुक्त बहुराष्ट्रिय सैनिक अभ्यासमा नेपालको संलग्नता गलत हुन्छ। प्राकृतिक विपदको सामना गर्ने उद्देश्यमा सिमित रहेर सुरक्षा निकायकाबीच तालिम र अनुभवको आदान प्रदान गर्न सकिने भएतापनि ठूलो संख्यामा सेनालाई संलग्न गराएर दुई पक्षीय सैनिक अभ्यासमा पनि नेपाल अब संलग्न हुनु हुँदैन,’ रावलले भने।

उनले छिमेकी देश र अन्तर्राष्ट्रिय जगतमा भएका घटनाबाट पाठ सिकेर तत्कालीन राजनीति परिस्थितिलाई गम्भीर विश्लेषण गर्दै राष्ट्रहितका पक्षमा दृढताका साथ उभिनुपर्नेमा जोड दिए।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नदिन विदेशी हस्तक्षेप बढ्न सक्ने भन्दै उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानविनको बाँकी काम अबिलम्ब पूरा गर्न सरकारलाई आग्रह गरे।
 

 Published Date: Tuesday, 13th August 18:48:44 PM