शनिबार, असार २७, २०७७

केन्यामा लोकप्रिय हुँदैछ बाल्कोनी चर्च 

केन्याको राजधानी नाइरोबी नजिकै एउटा अपार्टमेन्ट ब्लकमा स्पिकरबाट “हि ह्याज गट द होल वर्ल्ड इन हिज ह्यान्ड्स” बजिरहेको छ।

बालबालिका माथि बाल्कोनीमा नाचिरहेका छन्। केहीले डायपर लगाएका छन्। आमाबाबुले पनि साथ दिएका छन्। रेभरेन्ड पल माचिरा र ब्यान्डले प्रस्तुत गरेको धुनमा सबै झुमिरहेका छन्।

परम्परागत चर्च सेवा स्थगित गरिए पनि माचिरा रोकिएका छैनन्। आफूलाई “बालबालिको प्रचारक” बताउने माचिरा गीतको बीचमा बाइबल पनि पढ्छन्।

केन्यामा पहिलो संक्रमण मार्चको मध्यतिर देखा परेको थियो। त्यसयता माचिराले “बाल्कोनी टु बाल्कोनी” सेवा चलाइरहेका छन्। अल सेन्ट्स कथिड्रल अफ द एङग्लिकल चर्च अफ केन्याका प्रचारक माचिराले यो प्रयास निकै लोकप्रिय बन्दै गएको बताए।

“कोरोना भाइरसले केन्या र संसार आक्रमण गर्दा विश्वासीहरूको सेवा निकै छिटो प्रभावित भयो,” उनले भने,“मेरो विचारमा यो चर्चका लागि निकै ठूलो अवसर हो। हामीलाई सडकमा जाने अवसर छ। यशु कहिलेकाहीँ मात्रै मन्दिर जालान् तर उनको मुख्य मण्डली त बाहिर छ, सडकमा छ।”

केन्याका धेरै बालबालिका अनलाइन सेवाको पहुँचमा नभएको उनले बताए। यो घुमन्ते सेवाको अवधारणा लिलियन मबिरेबाट आएको माचिराले बताए। मबिरेले घरभित्रै बस्दा बस्दा वाक्कदिक्क भएका बालबालिकालाई आ आफ्नो बाल्कोनीबाट प्रार्थना गाउन लगाउने प्रयास गरेका थिए। मबिरेले अत्यधिक प्रतिक्रिया पाएको र माचिरालाई पनि साथ दिन निम्त्याएको बताइन्।

“मैले बालबालिकामा धेरै वृद्धि भएको देखेकी छु,” उनले भनिन्,“कहिलेकाहीँ ढिलो हुन्छ र दिउँसो २ बजे म बाल्कोनी पुग्दिनँ। उनीहरू मलाई सोध्छन, खोज्छन्। यो अब जीवनशैली बन्दै गएको छ। कहिलेकाहीँ घर बसेको बेला उनीहरूललाई सिकाएको गीत गाएको सुन्छु।”

केन्यामा एक हजारभन्दा धेरै संक्रमित भएको सूचना छ। परिवार पाल्नलाई दैनिक काम गर्नुपर्ने धेरैलाई अहिले कठिनाइ भइरहेको छ।

“बाल्कोनी टु बाल्कोनी” अहिलेसम्म १६ भिन्न स्थलमा पुगेको माचिराले बताए। उनको टोलीको दुईटा शर्त छ। आवास क्षेत्रमा बाल्कोनी हुनुपर्छ। यसो गर्दा सामाजिक दूरी कायम हुन्छ। अर्को, परिसरका सबैले टोलीको सेवा र उपस्थितीमा पनि मञ्जुरी दिएको हुनुपर्छ।

“अहिलेसम्म निकै सुन्दर अनुभव भइरहेको छ। बालबालिकाहरू भगवानको प्रार्थना गर्छन्। समुदायका सबैले हामीलाई साथ र सहयोग नगरे यो पूरा हुनसक्दैन,” माचिराले भने।

एक पटक उनको टोलीलाई कतै निम्तो दिइएको थियो। तर त्यहाँ पुग्दा एक सदस्यले आपत्ति जनाएपछि उनीहरू त्यहाँबाट फर्किएका थिए। मौसम अर्को चुनौती हो। केन्यामा भारी वर्षा भइरहेको छ। केही सातामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु भएको छ।

स्थानीय वान्जिरू मबिरिरीलाई आइतबारको दिन दुई वर्षे सन्तानलाई घरभित्र राख्न कठिन भइरहेको बताइन्। “बाल्कोनी टु बाल्कोनी” सेवाले केही सहज भएको उनी बताउँछिन्। उनी यो प्रयास निरन्तर होस् भन्ने चाहन्छिन्। टोलीले उनीहरूलाई डर कम गर्न सहयोग पुर्या एको उनी बताउँछिन्।
 

 Published Date: Sunday, 31st May 06:41:38 AM