सोमबार, मंसिर २३, २०७६

अञ्जलीको विश्व कीर्तिमान, नेपाल एकै ओभरमा विजयी

अञ्जली चन्द।

पोखरा, मंसिर १६ : १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपालकी अञ्जली चन्दले विश्व कीर्तिमान कायम गरेकी छन्। उनको विश्व कीर्तिमानसँग नेपालले एकै ओभरमा जित हासिल गरेको छ।

पोखरामा सोमबार भएको माल्दिभ्सविरुद्धको खेलमा अञ्जलीले ६ विकेट लिँदै उत्कृष्ट बलिङको कीर्तिमान कायम गरेकी हुन्। उनले २.१ ओभरमा दुई ओभर मेडियन राख्दै ६ विकेट लिएकी हुन्।

यस अघि महिला टी–२० प्रतियोगितामा मालदिभ्सकी मास इलिसाको नाममा उत्कृष्ट बलिङको कीर्तिमान रहेको थियो। उनले यहि जनवरीमा चीनविरुद्धको खेलमा चार ओभर बलिङ गर्दा एक मेडियन राखेर तीन रन खर्चिदै ६ विकेट लिएकी थिइन्।

सोमबारको खेलमा टस जितेर मालदिभ्सले ब्याटिङ रोजेको थियो। सातौ ओभरमा आएकी अञ्जलीले पहिलो ओभरमै तीन विकेट लिइन्। त्यसपछि दोस्रो ओभरमा दुई र तेस्रो ओभरको पहिलो बलमै छैठौं विकेट चट्काइन्।

उनीसँगै करुणा भण्डारीले दुई विकेट लिएपछि मालदिभ्स १०.१ ओभरमा सबै विकेट गुमाएर १६ रनमै समेटियो।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका ओपनरद्वय काजल श्रेष्ठ र सिता राना मगरले पहिलो ओभरमै १७ रन बटुले।

प्रतियोगितामा अञ्जली प्लेयर अफ द म्याच भइन्।

 Published Date: Monday, 2nd December 12:58:25 PM