बुधबार, साउन २१, २०७७

काठमाडौं आउँदै गरेको जीप त्रिशूली नदीमा बेपत्ता

काठमाडौं, असार १८ : पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिए।

स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा जीप खसेको देखेपछि नजिकैका व्यक्तिमार्फत सशस्त्र प्रहरीलाई खबर आएको र तत्कालै आफ्नो नेतृत्वमा गोताखोर टोली परिचालन भएको उनले बताए।

अहिले सशस्त्रको टोलीसहित जिल्ला प्रहरी कार्यालय धादिङ र आदमघाटस्थित सशस्त्र टोलीले खोजी कार्य जारी राखेका छन्। प्रत्यक्षदर्शीका अनुसार  खसेको जीप एम्बुलेन्स जस्तो देखिन्छ। वरिष्ठ उपरीक्षक धौबजीले भने, 'जीप काठमाडौंतर्फ जाँदै गरेको अनुमान गरिएको छ। जीपमा कति जना सवार थिए भन्ने एकीन भइसकेको छैन। गोताखोरले पानीभित्र झण्डै २५ फिट तलसम्म हेर्दासमेत जीप फेला परेको छैन।'

 Published Date: Thursday, 2nd July 13:37:27 PM