सोमबार, जेठ १९, २०७७

पर्यटन क्षेत्रको २५ अर्ब रुपैयाँ लगानी संकटमा

भैरहवा, चैत २६ : गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीको २५ अर्ब रुपैयाँ लगानी संकटमा परेको छ। कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले घोषणा गरेको लकडाउनले लुम्बिनी, बुटवल, तिलोत्तमा र भैरहवामा अहिले सानाठूला करीब ३०० होटल तथा रेष्टुरेन्ट एवं १०० ट्राभल एजेन्सी बन्द  छन्। 

सम्भावित सङ्क्रमणका कारण नेपाल भ्रमण वर्ष २०२० यसअघि नै सरकारले स्थगन भएको  घोषणा गरेको थियो। जिल्लामा २५ तारे होटेल मात्रै छन्। यसमा आश्रित लगभग सात हजार कर्मचारी र उनका परिवारमा पनि दैनिक गुजारा चलाउन समस्या परेको छ। 

तिलोत्तमामा सिल्भर हेरिटेज ग्रुपको तीन अर्ब रुपैयाँ लगानी रहेकोे पाँचतारे होटल टाइगर प्यालेस १५ दिन यतादेखि पूर्णरुपमा बन्द  छ। होटलमा काम गर्ने सात सय कर्मचारीलाई पनि होटल व्यवस्थापनले अहिले बिदा दिएको छ। 

दैनिक ३५ लाख रुपैयाँ ्को कारोवार हुने सो होटलमा क्यासिनोसमेत छ। होटेलमा मासिक ३५ हजारभन्दा बढी भारतीय पर्यटक आउने गरेका थिए। होटलका सूचना अधिकारी रणधीर यादव होटलमा ठूलो नोक्सानी भएको बताउछन्। उनी भनछन्, यहाँबाट आश्रित कर्मचारीको परिवारलाई समेत समस्या परेको छ। 

मणिग्राममा रहेको चारतारे होटल ड्रिम ल्याण्ड गोल्ड रिसोर्ट पनि झन्डै  एक अर्ब लगानीमा  सञ्चालनमा आएको होटल हो। यस होटलले पनि आफ्ना २०० कर्मचारीलाई बिदा दिएको छ। होटलका सञ्चालक तथा होटल व्यवसायीको छाता संगठन होटल एशोसियशन अफ नेपाल (हान)का केन्द्रीय सदस्य गोपाल रानाले होटेल पर्यटनको आधार भएको उल्लेख गर्दै यसले सबैलाई मारमा पारेको बताउँछन्।

बुटवलमा होटल क्लब डेनभो, एभिन्यू, होटल टुलिप जस्ता ठूला होटल अहिले बन्द छन् । भैरहवा क्षेत्रका तारे होटलमध्ये होटल निर्माण, होटल नान्स, होटल मौर्य, होटल रेडसन, होटल यती, होटल ह्वाइट लोटस पनि लकडाउनपछि पूर्ण रुपमा बन्द छन्। लुम्बिनी क्षेत्रमा रहेका होटल पवन प्यालेस, होटल होक्के, होटल कसाई, होटल बुद्धमाया गार्डेनलगायत होटल सबै बन्द रहेको सिद्धार्थ होटल एसोशियसन रुपन्देहीले जनाएको छ।

पछिल्लो समय रुपन्देहीमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका कारण पनि नयाँ होटल खुल्ने क्रम जारी छ। 

होटेल न्यू इरा बुटवलका सञ्चालक माधव नेपालले बन्दाबन्दीका कारण होटेल व्यवसायीलाई लगानीको ब्याज तिर्न समस्या हुने बताए। नेपालको पैदलमार्ग हुँदै धेरै पर्यटक आउने बेलहियासमेत रुपन्देहीमा पर्ने भएकाले यहाँ वार्षिक स्वदेशी र विदेशी गरी २० लाख पर्यटक आउने गरेको सिद्धार्थ होटल एशोसियशनको तथ्याङ्कमा उल्लेख छ।

 Published Date: Wednesday, 8th April 11:23:46 AM