बुधबार, फागुन ७, २०७६

श्री एयरलाइन्सले जनकपुर उडान सुरू गर्दै, दुई हजार भाडा

काठमाडौं, माघ ३ : निजी लगानीमा सञ्चालित श्री एयरलाइन्सले सोमबारदेखि काठमाडौं–जनकपुर उडान गर्ने भएको छ।

नयाँ गन्तव्यमा उडानको तयारी गरेको श्री एयरलाइन्सले भाडादर न्यून राखेको जनाएको छ। काठमाडौंदेखि जकपुरको एकतर्फी भाडादर दुई हजार रुपैयाँ राखिएको प्रवक्ता अनिल मानन्धरले बताए। ‘जनकपुर हाम्रो नयाँ गन्तब्य हो, सुरुआती चरणमा यात्रुको सुविधालाई लक्षित गर्दै सीमित अवधिका लागि प्रमोसनल फेयर सार्वजनिक गरेका हौं,’ उनले भने।

अन्य एयरलाइन्सले एकतर्फी भाडादर तीन हजार राखेकोमा श्री एयरलाइन्सले घटनाएको हो। हाल जनकपुरमा यति एयरलाइन्स र बुद्ध एयरलगायतले उडान गर्दै आएका छन्।

श्रीले जनकपुरमा नियमित उडान लगतै काठमाडौं–सिमरा उडानको तयारी गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले श्रीलाई एक महिना अघि नै जनकपुर र सिमरा दैनिक एक÷एक उडानको अनुमति दिइसकेको छ। तर, लामो समयदेखि पोखरामा परीक्षण उडानको अनुमति मागे पनि अहिलेसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको छैन।

श्रीले नयाँ खरिद गरेको टर्बोप्रोप जहाजमार्फत नयाँ गन्तव्यमा गत मंसिर २५ गते  परीक्षण उडान गरिसकेको छ। प्रवक्ता मानन्धरका अनुसार नयाँ गन्तब्यमा बम्बार्डियर कम्पनीको ८० सीट क्षमताको टर्बोप्रोप क्यु ४०० जहाजमार्फत नियमित उडान हुनेछ।

श्रीले हाल दुईवटा ५० सीटे सीआरजे २००, दुईवटा ७८ सीआरजे ७०० मार्फत धनगढी, विराटनगर, नेपालगंज, भरतपुर र भैरहवालगायतका विमानस्थलमा उडान गर्दै आएको छ।

 

 Published Date: Friday, 17th January 14:30:14 PM