शुक्रबार, चैत्र २८, २०७६

प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने- अप्ठ्यारो परे मलाई भन्नुहोस्

काठमडाौं, माघ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा मंगलबार आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी)’ सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहो¥याए। उनले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको बताए।

निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको उदाहरण दिँदै उनले भने, ‘केही समयअघि सुपारी, अदुवा तथा पाम आयलको निर्यातमा समस्या थियो, अहिले समस्या समाधान भएको छ, निर्यातका विभिन्न क्षेत्रमा सरकारले सहजीकरण गरिरहेको छ।’

उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट निजी क्षेत्रलाई पूर्णरुपमा साथ रहने विश्वास दिलाए। ‘ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुहोस्,’ व्यवसायीलाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले भने, ‘यदि कुनै अप्ठ्यारो आए मलाई भन्नुहोस्।’

राजनीति परिवर्तनपछि मुलुक आर्थिक समृद्धिको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबका प्रयास सुशासन र आर्थिक विकासमा केन्द्रित हुने बताए। ‘अब हामी नयाँ मार्गमा उत्साहित भएका छौँ, सिङ्गो देश विकासको काममा नलागी सुशासन र विकास सम्भव छैन,’ उनले भने, ‘विकास र समृद्धिका लागि निजी क्षेत्रको सामूहिक सहयोगको खाँचो छ, सुशासन र देश विकासमा हाम्रो सामूहिक प्रयास लगाउनुपर्छ।’

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सिआइपी सम्मानबाट निजी क्षेत्रको मनोबल बढेको बताए। मुलुकका लगानीको वातावरण बनाउन सरकार सदैव क्रियाशील रहेको बताउँदै उनले भने, ‘राज्य सधैँ व्यवासयीको साथमा छ, हामी व्यापार–व्यवसाय गर्न कुनै व्यवधान आउन दिँदैनौँ । उद्योगी व्यवसायीको मनोबल खस्कन दिँदैनौँ, ढुक्क भएर लगानी गर्नुहोस्।’

 Published Date: Tuesday, 11th February 17:06:18 PM