सोमबार, जेठ १९, २०७७

नेप्सेले लगायो सर्किट ब्रेक, परिसूचक २५ दशमलब ३० अंकले घट्यो

काठमाडौं, वैशाख ३० : झण्डै डेढ महिनापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दुई प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ। नियामक निकाय धितोपत्र बोर्ड कारोबार समयमा नेप्सेमा दुई प्रतिशतभन्दा घटबढ हुनेबित्तिकै कारोबार रोक्न नेपाल स्टक एक्चेन्जलाई निर्देशन दिएको थियो। 

सोही आधारमा नेप्सेले सर्किट ब्रेक लगाइ आजको कारोबार बन्द गरेको हो। बजार खुलेदेखिनै निरन्तर ओरालो लाग्दै आएको नेप्से करिब एक घन्टा २४ मिनेटको अवधिमा बन्द भएको हो। यद्यपी बोर्डले कारोबार अवधि दुई घन्टासम्म सीमित गरेको थियो। कारोबार मापक नेप्से परिसूचक २ दशमलबद ०२ प्रतिशत अर्थात् २५ दशमलब ३० अंकले घटेर एक हजार २२६ दशमलब १५ रोकिएको छ। यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलब ३९ अंकले घटेर २६५ दशमलब ६७ पुगेको छ। 

कारोबार भएका कुल ११ उपसमूहको शेयर ओरालो लागेको छ। बैंकिङ २६ दशमलब ११, होटल ३ दशमलब ३८, विकास बैंक १५ दशमलब ३६, जलविद्युत् १५ दशमलब ३५, वित्त ३ दशमलब २७, निर्जीवन बीमा ७२ दशमलब ३३, उत्पादन ३४ दशमलब ३६, अन्य १९ दशमलब ४२, माइक्रोफाइनान्स १८ दशमलब ०५, जीवन बीमा १५७ दशमलब ७८ र सामूहिक लागनी कोषको शेयर ० दशमलब ०१ अंकले घट्यो। 

स्टकका अनुसार आज कुल ८७ कम्पनीको एक लाख छ हजार ३१२ कित्ता शेयर १० करोड ४३ लाख ७२ हजार ६४६ रुपैयाँमा खरिदबिक्री भयो। कारोबार रकमका आधारमा नागरिक लगानी कोषको शेयर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको शेयर आठ करोड ८८ लाख ५७ हजार ५९० रुपैयाँमा खरिदबिक्री भयो।

यसैगरी छिमेकी लघुवित्त विकास बैंकको शेयर ४६ लाख ९८ हजार ५४० रुपैयाँ, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर ३८ लाख ५९ हजार ५४८ रुपैयाँ, नविल बैंक लिमिटेडको १५ लाख ७४ हजार ६०० रुपैयाँ, ज्योति विकास बैंकको संस्थापक शेयर नौ लाख चार हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको तीन लाख ५० हजार ३२० रुपैयाँमा खरिदबिक्री भयो। 

सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले २२ दशमलब ३८ प्रतिशतले गुमाए। हिमालय बैंक ३, नविल बैंक र नागरिक लगानी कोष २ दशमलब ९९, कृषि विकास बैंक र कालिका माइक्रोक्रेडिट डेभलपमेन्टको २ दशमलब ९८ तथा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले समान २ दशमलब ९७ प्रतिशतले गुमाए। 

 Published Date: Tuesday, 12th May 14:46:50 PM