सोमबार, भदौ ३०, २०७६

मूल्य घटाएर आयाे आइफोन ११, यस्ता छन् तीन नयाँ मोडल

आईफोन ११ सार्वजनिक गर्दै एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक। | तस्वीर:एजेन्सी

काठमाडौं, भदौ २५ : विश्वको सबैभन्दा लोकप्रिय ग्याजेट जाइन्ट एप्पलले आइफोनको नयाँ मोडल आइफोन ११ सार्वजनिक गरेको छ।

एप्पल क्याम्पस कुपरटिनो क्यालिफोर्नियाको स्टिभ्स् जब्स अडिटोरियममा आयोजित विषेश समारोहमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आईफोनको तीन नयाँ मोडल, आईप्याड र एप्पल वाच–५ सार्वजनिक गरेका हुन्।

एप्पलले सार्वजनिक गरेका नयाँ मोडलहरुमा अत्याधुनिक फिचरहरु समावेश गरेको बताएको छ।

एप्पलले एप्पल वाच ५ सिरिज, आइप्याडको नयाँ मोडल र आईफोनको तीन मोडल सार्वजिक गरेको छ। आइफोन–११, आइफोन–११ प्रो र आईफोन–११ म्याक्स।

तीनै नयाँ मोडलमा क्यामराको लेन्स थपेको छ भने त्यसलाई अघिल्लो मोडलभन्दा निकै परिस्कृत गरेको छ। तीनै फोनमा अल्ट्रा लेन्स राखिएको छ। आईफोन म्याक्समा तीनवटा लेन्स राखिएको छ।

एप्पलले आफ्ना सबै ग्याजेटमा गेमिङ सर्भिस पनि थपेको छ। महिनाको पाँच अमेरिकन डलर तिरेर हजारौ गेम खेल्न मिल्नेगरी एप्पल आर्केडको नयाँ सुविधा ल्याएको छ। यो सुविधा आइफोन, आईप्याड, एप्पल टीभीलगायत सबै प्रोडक्टमा राखिएको छ।

आईफोनले मूल्य घटायो

एप्पलले प्रतिस्पर्धात्मक बजारलाई मध्यनगर गर्दै नयाँ आइफोनको मूल्य तुलनात्मक रुपमा घटाएर सार्वजनिक गरेको छ। संचारमाध्यमहरुले मंगलबार एप्पलले सार्वजनिक गरेको आईफोनको मूल्य अनुमान गरेकाेभन्दै निकै कम रहेको टिप्पणी गरेका छन्।

आईफोन ११ को मूल्य ६९९ अमेरिकन डलर अर्थात ८० हजार ३४० रुपैयाँबाट सुरु छ। आईफोन ११ म्याक्स ६४ जिविको मूल्य १०९९ अमेरिकी डलर अर्थात एक लाख २६ हजार ३१४ रुपैयाँ छ भने ५१२ जिविको १४४९ अमेरिकी डलर अर्थात एक लाख ६६ हजार ५४० रुपैयाँ छ।

आइफोन ११ को सुरु मूल्य ६९९ डलरबाट सुरु हुनु आइफोन १० भन्दा पनि सस्तो हो। साथै एप्पलले अघिल्ला मोडलहरुको मूल्य पनि घटाएको छ।

एप्पलको नयाँ भिडियाे सर्भिस

एप्पलले नयाँ भिडियो स्ट्रिमिङ सर्भिस पनि सार्वजनिक गरेको छ। नोभेम्वर १ देखि विश्वका एक सय देशमा सुरु हुने एप्पल टिभि प्लसमार्फत नेट फ्रिल्क्ससँग प्रतिस्पर्धा गर्नेगरी मूल्य घटाएर भिडियो सर्भिस सुरु गर्ने घोषणा सिइओ टिम कुकले गरेका छन्।

 Published Date: Wednesday, 11th September 13:29:21 PM