बुधबार, मंसिर २५, २०७६

अन्तर्राष्ट्रिय मान्यताविपरीत इन्टरनेटको भाउ १३ प्रतिशत बढ्ने

काठमाडौं, असार ३० : सरकारले साउन १ गतेदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लगाउने भएपछि इन्टरनेट सेवा महँगिने भएको छ।

आलोचनाकाबीच सरकारले इन्टरनेटमा कर वृद्धि गरेपछि सेवाग्राही महँगो  इन्टरनेटको मारमा पर्ने भएका छन्। नेपालमा इन्टरनेट सेवा महँगो भइरहेका प्रतिवेदन आइरहका बेला करको भारले झनै उपभोक्ता मारमा पर्ने भएका छन्। 

संघीय संसद्बाट पारित आर्थिक विधेयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेको थियो। विगतमा इन्टरनेट सेवामा टीएससीसम्बन्धी प्रावधान नभए पनि सरकारले आर्थिक विधेयकमा १३ प्रतिशतको अतिरिक्त भार थपिदिएको थियो।

गत वर्ष नै कार्यान्वयन गर्न खोजिएपछि व्यापक आलोचनापछि कार्यान्वयनमा  आएको थिएन। तर, यस वर्ष भने जबरजस्ती रुपमा कार्यान्वयनमा लैजाने तयारी गरिएपछि सेवाग्राहीले अहिले तिर्दै आएको शुल्कमा थप १३ प्रतिशत बढी शुल्क तिर्नुपर्ने भएको छ। 

दूरसञ्चार क्षेत्रको अन्तर्राष्ट्रिय संगठन आइटीयुले पनि इन्टरनेट खर्च घटाएर प्रतिव्यक्ति आयको दुई प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ। तर नेपालमा भने दूरसञ्चार सेवामा सेवा प्रदायकले कुल आयको चार प्रतिशत ग्रामिण दूरसञ्चार कोष, दुई प्रतिशत रोयल्टी, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लाग्नुले भार सबै उपभोक्तामा परेको छ। 

आगामी आर्थिक वर्षको सुरुबाटै अतिरिक्त शुल्क लिने भन्दै कम्पनीहरूले सेवाग्राहीलाई जानकारीसमेत गराइसकेका छन्।  कम्पनीहरुले बुधबारदेखि हुने बिलिङमा १३ प्रतिशत अतिरिक्त शुल्क थपरे पठाउने तयारी गरेका छन्। इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइएसपी) हरुले शुल्क वृद्धिसम्बन्धमा ग्राहकलाई मोबाइल म्यासेजमार्फत सूचना दिइसकेका छन्। 

आइएसपीएनका अध्यक्ष भोजराज भट्टले सरकारले चालु वर्षदेखि नै टीएससीको व्यवस्था गरेकोमा दुई पक्षीय छलफल भई मर्मत सम्भारको खर्चमा मिलान गर्ने सहमति भएपनि सरकारले कार्यान्वयन नगरेपछि बाध्य भएर मूल्य बढाउन लागेको बताए।

सरकारले भ्याट र टीएससीबापतको शुल्क अन्यत्रबाट सहुलियतमार्फत उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। तर, हालसम्म कुनै प्रक्रिया अगाडि नबढेको भन्दै सेवा प्रदायक कम्पनीहरूले बढेको अतिरिक्त शुल्क ग्राहकबाट उठाउन  लागेका हुन्।
 

 Published Date: Monday, 15th July 19:51:05 PM