सोमबार, भदौ २, २०७६

हिमालय एयरलाइन्सले काठमाडौं–बेइजिङ सिधा उडान भर्ने

| तस्वीर:फाइल

काठमाडौं, असार ३१ : हिमायल एयरलाइन्सले चीनको राजधानी बेइजिङको दासिङ विमानस्थलमा सिधा उडान भर्ने गरी प्रक्रिया अघि बढाएको छ।

हिमालय एयरलाइन्सको एयरवस ३३० जहाज भाडामा लिएर बेइजिङको नयाँ सुविधासम्पन्न दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी प्रक्रिया अघि बढाएको हो।

योसँगै एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत चीनका पाँच वटा गन्तव्यमा उडानको प्रक्रिया पनि सुरु गरेको छ।  चीनले सन् २०१४ देखि निर्माण सुरु गरेको विमानस्थलमा परीक्षण उडान यसै वर्ष गरेको थियो। 

विश्वकै ठूलो विमानस्थल भएको दाबी गर्दै आएको चीनले विमानस्थल निर्माणमा चीनले १२ विलियन अमेरिकी डलर खर्च गरेको छ। सोही विमानस्थलमा हिमालयले उडान गर्ने गरी प्रक्रिया अघि बढाएको हो। हिमालयले हाल चीनको चोङकिङ शहरमा चार्टर उडान गरिरहेको छ। हिमालयले चोङकिङ विमानस्थलसहित बेइजिङ, सांघाई, ग्वाङजाओ र तियानजिन शहरमा सेडुवल उडान भर्ने गरी प्रक्रिया अघि बर्ढाको छ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चीन उडान गर्न नसकिरहेका बेला हिमालयले भने चीनमा आक्रामक उडानको प्रक्रिया थालेको हो। हिमालयले एयरवस ३३० भाडामा ल्याउने प्रक्रिया समेत सुरु गरेकाले छिट्टै चीनको राजधानी बेइजिङमा निर्माण भएको अत्याधुनिक नयाँ विमानस्थलमा उडानको प्रक्रिया सुरु गरेको हो। 

‘हिमायलले बेइजिङसहित पाँच वटा शहरमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ,’ मन्त्रालय स्रोतले भन्यो। हिमायल एयरलाइन्सको चीनको नागरिक उड्डयनले हवाइ सुरक्षासम्बन्धी अडिट समेत सम्पन्न गरिसकेको छ। जसमा हिमालय एयरलाइन्स अडिटमा पास भएकाले पनि चीनले उडान अनुमति छिटो दिन सक्ने मन्त्रालयको बुझाइ छ। 

नेपालीहरु पछिल्लो समय चीन जानेक्रम बढ्दो छ। खासगरी नेपाल र चीन दुबै  तर्फका व्यवसायीहरु बाक्लो रुपमा आउने जाने क्रम बढेको छ। जसका कारण पनि चीनतर्फ नेपालका एयरलाइन्सहरुले उडान गर्न लामो समयदेखि प्रयास जारी गरेका छन्। 

चीनले हाल आबुधावी, दमाम, ढाका, दोहा, दुबई र क्वाललम्पुर उडान गर्दै आएको छ। नेपालमा चीनतर्फबाट दैनिक आधा दर्जन उडान हुने गरेको भएपनि नेपालबाट भने कुनै पनि एयरलाइन्सलाई अनुमति दिएको छैन। नेपाल वायुसेवा निगमले तीन वर्षदेखि ग्वाङ्जाओ उडान गर्न अनुमति मागेको भएपनि हालसम्म दिएको छैन। 

केही साताअघि मात्रै नेपाल वायुसेवा निगमलाई सुरक्षा अडिटपछि मात्रै उडान अनुमति दिने पत्र पठाएको छ। जसको समय अझै ६ महिना लम्बिने पक्का भइसकेको मन्त्रालयका अधिकारीहरुको बुझाइ छ।

चीन उडानको अनुमति नपाउँदा नेपाल वायुसेवा निगमले खरिद गरेको एयरवस ३३० जहाजको नयाँ गन्तव्य पाउन सकेको छैन। नेपालको हवाइ आकाशलाई युरोपेली आयोग आएसाले सन् २०१३ देखि कालो सूचीमा राख्दै आएको छ। जसका कारण चीनले पनि नेपालको हवाइ सुरक्षा अडिटपछि मात्रै अनुमति दिने जवाफ दिएको छ। 

गत वर्ष नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा ४८.८ प्रतिशतले वृद्धि भएको छ। नेपाली पर्यटन बजारमा भारत पहिलो र चीन दोस्रो स्थानमा रहेको छ। नेपाल आउने कुल पर्यटक संख्यामा १४.४ प्रतिशत चिनियाँ पर्यटक रहेका छन्। 

चीनबाट आउने एयरलाइन्सहरुले अत्याधिक भाडा महँगो लिएका कारण पनि चिनियाँहरु नेपाल आउन पाएका छैनन्। नेपालबाट उडान भएमा भाडादर घट्ने चिनियाँ पर्यटक ह्वात्तै बढ्ने अनुमान सरकारी अधिकारीको छ। 

यती वर्ल्ड इन्भेष्टमेन्ट कम्पनी र तिब्बत एयरलाइन्सको लगानी रहेको छ। जसमा  ५१ प्रतिशत नेपाली र ४९ प्रतिशत तिब्बत एयरलाइन्सको लगानी छ। एयरलाइन्ससँग एयरबस ३२० सिरिजका तीन थान जहाज छन्। जसमध्ये एक थान गन्तव्य नहुँदा भाडामा दिइएको छ।

१० वर्षमा २० वटा जहाजमार्फत युरोप र अमेरिका समेत उडान गर्ने लक्ष्य लिएको एयरलाइन्सले पर्यटकीय गन्तव्यमा भने उडान विस्तार गर्न सकेको छैन। 
 

 Published Date: Tuesday, 16th July 17:04:04 PM