सोमबार, चैत्र १७, २०७६

नौ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, पुस २५ : केही दिनदेखि लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको छ। बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला एक हजारले सुनको मूल्य घटेको थियो।

आज छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार तीन सय पुगेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार पाँच सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार दुई सय पुगेको थियो।

यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ। बिहीबारको तुलनामा १५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला आठ सय ८५ पुगेको छ।

बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो। महासङ्घले बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार पाँच सय र तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार दुई सय निर्धारण गरेको थियो।

सामान्य उतारचढावबीच कारोवार भइरहेको सुनको मूल्य अमेरिका र इरानबीचमा तनाव देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो। अहिले अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५४९.९५ र चाँदीको मूल्य प्रतिऔँस १७.९२ अमेरिकी डलरमा झरेको छ।

विश्व बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५७३.५० अमेरिकी डलर पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएकाले स्वभाविकरुपमा त्यसको प्रभाव नेपाली बजारमा परेको महासङ्घले जनाएको छ।

 Published Date: Friday, 10th January 13:05:47 PM