शनिबार, साउन ४, २०७६

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई ७० करोड निकासा, आजैदेखि धमाधम काम

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। | तस्वीर:काठमाडौं प्रेस

काठमाडौं, वैशाख ३० : भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अर्थ मन्त्रालयले सोमबार ७० करोड निकासा गरेसँगै काम संचालनमा आएको छ।

आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले भुक्तानी नपाएपछि सबै काम आइतबारदेखि ठप्प पारेको थियो। अर्थमन्त्रालयले सोमबारनै ७० करोड रुपैयाँ आयोजनालाई निकासा पठाएसँगै ठेकेदार कम्पनीले आजै बिहानदेखि काम सुचारु गरेको हो।

नागरिक उड्डयन प्राधिकरण तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कागजी प्रक्रियामा ढिलाइ गरेपछि भुक्तानी भएको थिएन।

आयोजना प्रमुख प्रवेश अधिकारीले रकम निकासा भएसँगै काम सुचारु भएको जानकारी दिए। पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुदाँ भुक्तानीमा समस्या आएको हो। पर्यटन मन्त्रालयले आइतबार अर्थ मन्त्रालयसँग समन्वय गरेको थियो।

केही साता अगाडी बुटवल उपमहानगरपालिकाले ढुंगागिट्टीमा पनि रोक लगाएको थियो। यसरी सबै तर्फ अवरोध हुँदा आयोजना समयमा सम्पन्न हुनेमा आंशका उब्जिएको आयोजना प्रमुख अधिकारीको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मार्फत असार ५ गतेदेखि विमानस्थल संचालनमा ल्याउने घोषणा गरिसकेका छन्।

राष्ट्रिय गौरवका १९ आयोजनामध्ये भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लक्ष्यभन्दा पनि बढी रकम खर्च गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा अन्य आयोजनाको प्रगति निराशाजनक रहेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलले भने लोभलाग्दो प्रगति हासिल गरेको छ।

विमानस्थल निर्माणका लागि चालु आर्थिक वर्ष २०७५/७६ मा ६ अर्ब ८३ करोड रुपैयाँ छुट्याइएको भएपनि आठ महिनामा सबै खर्च गरेर थप ५५ करोड रुपैयाँ निकासा गरिएको थियो। त्यो पनि खर्च भएको जनाएको छ। जुन लक्ष्यको १०८.१ प्रतिशत हो। आयोजनाले विमानस्थलमा आठ महिनामा सात अर्ब ३८ करोड रुपैयाँ खर्च गरिसकेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व.रवीन्द्र अधिकारीले विशेष जोड दिएको विमानस्थलमा आगामी असार ५ गते उडान भर्ने लक्ष्य छ। केही दिन अगाडी मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलले समेत स्थलगत निरिक्षण गरेका थिए।

अवलोकनको क्रममा प्रधानमन्त्री ओलीले असार ५ गतेदेखि संचालनमा ल्याउने गरी कामलाई तिव्रता दिन आयोजना प्रमुखलगायतलाई निर्देशन दिएका थिए।

एसीयाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सन् २०१६ देखि विमानस्थल निर्माण सुरु भएको थियो। भूकम्प तथा भारतीय नाकाबन्दीले गर्दा एक वर्ष पछाडि धकेलिएको थियो।
आयोजना निर्माणको लागि आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो। तर लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ भने यता मुआब्जाको लागि २३ अर्ब रुपैयाँ आयोजनाले माग गर्दै आएको छ।
समयमा काम सम्पन्न नहुँदा नेपाल आउने र जाने हवाई यात्रुले सास्ती बेहोर्दै आएका छन्। विमानस्थलमा एयरबसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिने छ।

 

 Published Date: Monday, 13th May 15:30:54 PM