शुक्रबार, चैत्र २८, २०७६

हिमपहिरोले बन्द अन्नपूर्ण पदमार्ग एक महिनापछि सञ्चालन 

काठमाडौं फागुन, ४ : हिमपहिरोको कारण एक महिनादेखि बन्द रहेको अन्नपूर्ण पदमार्ग सञ्चालनमा आएको छ । गत माघ ३ गते अन्नपूर्ण क्षेत्रको हिङ्कु क्षेत्रमा गएको हिमपहिरोका कारण बन्द भएको पदमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको हो । 

पदमार्ग शुरु भएसँगै आधार शिविरतर्फ पर्यटकहरु देखिन थालेका छन् । 

पदयात्रा सञ्चालनमा आएसँगै पर्यटकहरुलाई उच्च सर्तकता अपनाउन छोम्रोङ पर्यटन व्यवस्थापना समितिले आग्रह गरेको छ । हिमपहिरोले बाटो अवरुद्ध गरेको स्थानमा अझै १२ फिटसम्म हिउँ रहेका कारण पर्यटकलाई सर्तकता अपनाउन आग्रह गरेको समितिले जनाएको छ । 

टे«किङ एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष हरि भूजेलका अनुसार हिमपहिरोले क्षति पुर्याएको बाटोको स्थानीयको पहलमा मर्मत भएपछि पदमार्ग सञ्चालनमा आएको हो। साथै, पदमार्गको झिँनु, घुर्सुङ, किम्रोङखोला, छोम्रोङ, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छ्रे बेस क्याम्प (एमबीसी) र एबीसीमा गरी ६० होटल पनि सञ्चालनमा आएको उनले बताए । 

किम्रोङखोलाका होटल संञ्चालक मिकास गुरुङका अनुसार पदमार्ग सञ्चालनमा आएसँगै दैनिक ३० देखि ३५ पर्यटक तथा गाईड आधारशिविर तर्फ जान थालेका छन् ।

गत माघ ३ मा हिमपहिरेमा परी हराएका व्यक्तीको भने अझै उद्धार हुन सकेको छैन । हिमपहिरो गएको स्थानमा अझै १२ फिट हिउँ भएको कारण हराएका पर्यटक तथा गाइडको खोजी तथा उद्धारमा समस्या भएको उनले बताए । 

केही दिन अघि मात्रै काठमाडौंको भोटे समाज नामक संस्थाबाट हिमपहिरोमा हराएकाको खोजीको लागि २५ जना मानिस आएका थिए । आफ्ना मान्छे हराएको भन्दै खोज्न आएको उक्त समूहले रेक्ट्रो डिभाइसको मध्यमबाट खोजी गर्दा समेत पत्ता लाग्न सकेन । बाक्लो हिउँ जमेको कारण पत्ता नलागेपछि उक्त  समूह फर्किएको छ।  

छोम्रोङमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का नेत्र शर्माका अनुसार तीन दिनको अवधिमा करिब ३० जना विदेशी तथा नेपाली आधार शिविर तर्फ गएका छन् । शुक्रबार (पहिलो दिन) ६, शनिबार १९ र आइतबार ५ जना आधारशिवीर तर्फ गएका छन् । 

छोम्रोङदेखि अन्नपूर्ण आधार शिविरसम्मको दुरी २४ किलोमिटर रहेको छ।

१७ पर्यटक आधार शिविरमा

एक महिनापछि सञ्चालनमा आएको पदमार्ग हुँदै १७ जना पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका छन्। 

शर्माका अनुसार शुक्रबार आइस स्केटिङका लागि १४ जना नेपाली र तीन जना विदेशी गरि १७ जनाको समूह आधार शिविर तर्फ गएका थिए । उनीहरु आज मात्र आधार शिविरमा पुगेका छन्, भन्ने अन्य पर्यटकहरु पुग्ने क्रममा रहेका छन्।

अन्नपूर्ण पदमार्गाको हिमपहिरोमा चार जना कोरियाली र तीनजना नेपाली गाइड हराएका छन् । हराएका मध्ये सरोज परियार, मिनबहादुर लामा र छिरिङ भोट (नेपाली) तथा कोरियाली नागरिकहरु ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेका छन् ।

 Published Date: Sunday, 16th February 17:15:51 PM