मंगलबार, असार ३, २०७६

जाे काठमाडाैंलाई कत्थककाे कदर गर्न सिकाउँदैछिन्

कत्थक नृत्य प्रस्तुत गर्दै सुबिमा श्रेष्ठ | तस्वीर:रकि प्रजापती।

ललितपुर, जेठ २४ :

ता थेइ 
ता थेइ 
थेइ ता
थेइ ता

ललितपुरको झम्सिखेलस्थित ज्ञान मण्डला भवनको पहिलो तलामा रहेको एउटा फराकिलो कोठाभित्र शास्त्रीय सङ्गीतको धून एकनाशले गुञ्जिरहेको छ। 

खुट्टामा घुङ्गरु बाँधेका कलिला किशोरीहरू तालमा चाल मिलाउँदैछन्। उनीहरूमाझ छिन्, सुबिमा श्रेष्ठ। 

उनी ताली बजाउँदै यता–उता हिँड्छिन्। जसको नृत्य–मुद्रा मिलेको छैन, उसलाई हात–खुट्टाको ताल मिलाउन सिकाउँछिन्। 

ता धिं धिं धा
धा धिं धिं धा

यो काठमाडौंको एक कत्थक नृत्य पाठशालाभित्रको दृश्य हो। र, सुबिमालाई यस पाठशालाकी संस्थापक, निर्देशक वा गुरुआमा जे भन्दा पनि हुन्छ। 

कत्थक अर्थात् कथा। हरेक कत्थक नृत्यले कुनै न कुनै कथा भनिरहेकै हुन्छ। तर, सुबिमाको कत्थकले मात्र होइन, आँखाहरूले पनि कथा भन्न खोजे झैं लाग्छ।

भिडियाे

जब सुबिमा बोल्छिन्, उनका ठूला र चम्किला आँखाहरू धप्धपी बल्छन्। मानौं, उनको मुख होइन, आँखाहरू कथा सुनाउन आतुर छन्। 

नृत्य आँगन स्थापना गरी काठमाडौंलाई कत्थक नाच्न सिकाउने–प्रेरित गर्ने सुबिमालाई सानो छँदा कत्थक त के, कुनै पनि नृत्य आउँदैन थियो। उनी नृत्यकी दर्शकमात्रै थिइन्। 

एक दिन एउटा यस्तो घटना भयो, जसले उनको जिन्दगी बदल्यो। उनी दर्शक रहिनन्, कलाकार भइन्। अरु नाचेको हेरेरै मक्ख हुने उनी आफ्नै नृत्यले सबैलाई मुग्ध पार्ने भइन्। 

नृत्य आँगनमा पलेँटी कसेर सुबिमाले आफ्नो कत्थक–कथा सुनाइन् :

नाच्न नजान्ने केटी !

त्यो मिथुन चक्रवर्तीको जमाना थियो।

मिथुनको डान्सको जादू भारतमा मात्र होइन, पाटनको मङ्गलबजारमा पनि चलेको थियो।

सुबिमाकी चुल्बुले बहिनी मिथुन झैं डान्स गर्थिन्। घरमा होस् वा टोलमा, हरेक जात्रा–पर्वमा उनी मिथुन झैं नाच्थिन्। 

परिवार, आफन्त र टोलबासी सबै बहिनीको नाचको तारिफ गर्थे। ताली बजाउँथे। 

तर, सुबिमा भने लजालु थिइन्। प्रायः सधैं एउटा कुनामा बसेर बहिनी र अरु साथीहरू नाचेको हेर्थिन्। 

तीन वर्ष अघि काठमाडौंमा कत्थक नृत्य प्रस्तुत गर्दै सुबिना श्रेष्ठ। तस्वीरः याेगेश महर्जन

सुबिमाभित्र पनि एउटी प्रतिभाशाली नृत्यकार लुकेको छ भन्ने कसैलाई थाहा थिएन। उनकै परिवारलाई पनि। 

एकदिन एउटा पारिवारिक जमघटमा बहिनी सदा झैं नाचिरहेकी थिइन्। उनी पनि नाच्न अघि सरिन्। तर, फुपूले उनलाई रोक्दै भनिन् – नाच्न नजान्ने मान्छेले किन नाच्नु पर्‍यो।

हुन त फुपूले मायालु स्वरमै त्यो कुरा भनेकी थिइन्। तर, त्याे कुरा उनको दिलमा खिल झै गड्यो र त्यसले उनलाई नृत्यमा पारङ्गत बन्ने प्रेरणा एवं उर्जा दियो। 

कत्थक–यात्रा

बुवा चाहन्थे – छाेरीले धेरै पढून्, राम्रो जागिर खाऊन्।

नृत्यप्रति बुवाको आपत्ति थिएन। तर, नृत्यलाई पढाई, पेशा र जिन्दगी बनाउन सकिन्छ भन्ने विश्वास उनलाई थिएन।

सुबिमाका लागि भने नृत्य फगत एउटा रुचि नभएर जुनून भइसकेको थियो। 

नृत्य आँगनमा कत्थक नाच्न सिकाउँदै सुबिमा श्रेष्ठ । तस्वीरः रिवाज राई

एसएलसीपछि छोरीलाई इञ्जिनियरिङ पढाउने धोको बुवाको थियो। उनी भने पद्म कन्या क्याम्पसमा गुरू हनी श्रेष्ठसँग नृत्य पढ्न–सिक्न चाहन्थिन्। 

बुवालाई थाहै नदिई नृत्य विषयको फाराम भरिन्। तर, फाराममा बुवाको हस्ताक्षर अनिवार्य थियो। उनी डराई–डराई बुवाछेउ पुगिन् र नृत्य पढ्ने योजना सुनाइन्। 

बुवाको अनुहारमा कालो बादल मडारियो। हुँदैन भन्न सकेनन्। हुन्छ भनिहाल्न पनि सकेनन्। बेमनले हस्ताक्षर गर्दै भने – दुई वर्ष नृत्य पढ, तिम्रो इच्छा पूरा गर, त्यसपछि जिन्दगीप्रति गम्भीर बन।

दुई वर्षमा जे पनि हुन सक्थ्याे। पाटनमा दुईपटक मच्छिन्द्रनाथको रथ तानिन्थ्यो। घण्टाघर वरपर दुईपटक नीलो शिरीषको फूल फुल्थ्यो। र, नक्खू खोलामा धेरै पानी बग्थ्यो। 

उनले दुई वर्षमात्रै नृत्य पढ्ने बुवाको शर्तमा सहमति जनाइन्। 

तर, उनले जे सोचिन्, त्यही भयो। दुई वर्षपछि नृत्य छोड्नु परेन। 

नृत्य आँगनमा कत्थक नाच्न सिकाउँदै सुबिमा श्रेष्ठ । तस्वीरः रिवाज राई

भारतीय दूतावासको छात्रवृत्ति पाएर दिल्लीको श्री राम भारतीय कला केन्द्र कत्थक पढ्ने–सिक्ने अवसर पाइन्। उनी भन्छिन्, ‘म सधैं चाहन्थेँ – मेरो पनि गुरु होस्। मेरो सपना भारत गएपछि पूरा भयो।’

दिल्लीमा उनले प्रख्यात भारतीय कत्थक नृत्यकार शिखा खरेलबाट कत्थक बुझ्ने–सिक्ने अवसर पाइन्। तर, नयाँ ठाउँमा भिज्नु सजिलो थिएन। विश्वका कुनाकुनाबाट कत्थक सिक्न आएका विद्यार्थीमाझ आफू हराएको अनुभव गर्थिन्। 

दिल्लीमा चार वर्ष बिताउँदा पनि सुबिमाले कत्थकमा पारङ्गत भएको अनुभव गरिनन्। सधैं दोस्रो हुन्थिन्। कहिल्यै पहिलो भइनन्। 

एकदिन हार खाएर उनले गुरुजीसँग आफ्नो मनको व्यथा पोखिन्। गुरुजीको सल्लाह थियो –  पहिले तिमी यहाँको रहन–सहनमा भिज, अनि तिम्रो कत्थक उम्दा हुन्छ। 

गुरुजीको टिप्सले काम गर्‍यो। उनले आफूमा के अपूर्णता छ भन्ने बोध गरिन्। त्यसपछि उनको कत्थकमा निखार आयो। दिल्लीमा थप चार वर्ष कत्थक सिकेर उनी काठमाडौं फर्किन्। 

कत्थकमात्रै आउँछ, केही आउँदैन ! 

सन् २००६ मा सुबिमा नेपाल फर्किन्। 

नेपालमा भर्खरै युद्ध सकिएको थियो। शान्ति प्रक्रिया सुरू भएको थियो। 

दशक लामो युद्ध सकिँदा र कत्थक डिग्री हासिल गरेर नेपाल फर्किदा भूइँमा खुट्टै थिएन। तर, त्यस बेला उनलाई थाहा थिएन – काठमाडौंमा कत्थकको कुनै मूल्य छैन। 

सुबिमा भन्छिन्, ‘जसरी हामीलाई बाँच्न खाना, पानी र हावा चाहिन्छ, त्यसरी नै कला पनि चाहिन्छ।’ तस्वीरः रिवाज राई

कत्थकको डिग्री लिएर उनी काठमाडौंमा जागिर खोज्दै भौतारिइन्। नृत्य प्रशिक्षकको जागिर खोज्दै धेरै स्कुल पुगिन्, तर कसैले जागिर दिएनन्।

सबैको भनाइ उही हुन्थ्यो – तपाईंलाई कत्थकमात्रै आउँदो रहेछ, अरु कुनै नृत्य आउँदैन रहेछ! 

जागिर नपाएर निराश भइरहेको बेला उनलाई एकल कत्थक प्रस्तुति दिने प्रस्ताव आयो। उनले नाइँ भन्नुपर्ने कारण थिएन। तर, जब आफ्नो नृत्यको पारिश्रमिक पाइन्, तब हस्रक्कै भइन्। 

किनकि, खामभित्र पाँच सय रुपैयाँमात्रै थियो। कत्थकको कदर नभएकोमा उनको मन कुँडियो। उनी भन्छिन्, ‘त्यो एकल प्रस्तुतिका लागि कति महिना अभ्यास गरेकी थिएँ, पाँच सय रुपैयाँमात्रै पाउँदा चित्त दुख्यो।’

त्यो दिन घर फर्किदै गर्दा उनले मनमनै अठोट गरिन् – मलाई कत्थक मात्रै आउँछ भने कत्थकलाई नै पेशा बनाउँछु र कत्थकको कदर बढाउँछु। 

कत्थक सिकाउन व्यस्त सुबिमा श्रेष्ठ । तस्वीरः रिवाज राई

त्यही दिन सुबिमाले नृत्य आँगन सुरु गर्ने निधो गरेकी हुन्।

नृत्य आँगन खुलेको एक दशक भएको छ। अहिले कत्थकप्रति आकर्षण बढ्दो छ। विद्यार्थीहरु पनि बढ्दैछन्। र, काठमाडौंले पनि कत्थकको कदर गर्न थालेको छ। 

उनी भन्छिन्, ‘तर जति सफल भइयो, त्यति नै संघर्ष गर्नुपर्ने हुँदो रहेछ। जति सफल, त्यति नै संघर्ष। यो कहिल्यै नरोकिने रहेछ।’

कत्थककाे शक्ति 

२०७२ सालको भूकम्पले घरहरूमात्रै भत्काएन, मनहरू पनि भत्कायो। कतिका आफन्त बिते। कति आफैं घाइते भए।

भूकम्प गएको कति सातासम्म पनि काठमाडौंबासीको मन काँपिरहेको थियो।

भूकम्पमा घर–प्रियजन गुमाएर टेन्टमा बसिरहेका मानिसको मनमा मल्हम लगाउने उद्देश्यले सिर्जनालयले कीर्तिपुरमा कत्थक नृत्यहरू प्रस्तुत गरेको थियो।

कत्थक हेरेपछि एक भूकम्पपीडित वृद्धाले अनुहारमा मुस्कान छर्दै भनिन् – मनै आनन्दित भयो। एक छिनलाई भए पनि मैले सबै दुःखहरू बिर्सेँ। 

त्यो बेला सुबिमाले कत्थकको असली शक्ति अनुभूत गरिन्। 

उनी भन्छिन्, ‘जसरी हामीलाई बाँच्नलाई खाना, पानी र हावा चाहिन्छ, त्यसरी नै कला पनि चाहिँदो रहेछ।’

 Published Date: Friday, 7th June 12:45:20 PM