शुक्रबार, असोज ९, २०७७

बिना सांसद मन्त्री बनेका अर्थमन्त्री खतिवडाको पद अब के होला ?

काठमाडौं, साउन १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा  चुलिदै जाँदा अर्थमन्त्री युवराज खतिवडाको पद जोगिने कि गुम्ने टुंगो लाग्न सकेको छैन।

संवैधानिक व्यवस्था अनुरुप उनलाई मन्त्रीमा निरन्तरता दिनका लाग अबको एक महिनाभित्र सांसद बनाइसक्नु पर्नेछ। राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल गत फागुन २० गते पुरा गरेर सांसद मुक्त भएका खतिवडा ६ महिनासम्म सांसद नभएपनि मन्त्री बन्न पाउने संवैधानिक सुविधा अनुसार अहिले बहाल छन्।

संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधामन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै पनि व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने  प्रावधान छ। त्यसरी बनेका मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसके स्वतः पदमुक्त हुने व्यवस्था छ।

राष्ट्रियसभा सदस्यको दुई वर्षको कार्यकाल समाप्त भएपछि खतिवडाले गत फागुन २० गते मन्त्री पदबाट राजीनामा दिएका थिए। सरकारले संविधानको धारा ७८ अनुसार नै उनले राजीनामा दिएको २४ घन्टा नपुग्दै सूचना तथा प्रविधि मन्त्रीको थप जिम्मेवारीसहित फागुन २१ गते पुनर्नियुक्ति दिएको थियो। खतिवडाको मन्त्री  पद कायमै राख्नका लागि उनलाई भदौ २१ गते अगावै सांसदमा नियुक्ति गर्नुपर्नेछ। 

राष्ट्रियसभामा मन्त्रिपरिषदले सिफारिस गरेर राष्ट्रपतिले मनोनित गर्ने एक सिट रिक्त छ।

राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभाको सदस्य अझै रिक्त रहेकाले खतिवडालाई भदौ २१ गते अघिनै नियुक्त गरे उनको मन्त्री पद जोगिने अन्यथा मन्त्री पद स्वतः हट्ने अधिवक्ता  टीकाराम भट्टराई बताउँछन्। 'मन्त्रीको रुपमा  खतिवडाको पद कायम राख्न एक मात्र विकल्प छ, उनलाई फेरी राष्ट्रियसभामा मनोनित गर्ने,' भट्टराईले काठमाडौँ प्रेससँग भने।

खतिवडाको मन्त्री पद नेकपा झगडा निर्भर

आफुले ल्याएको बजेट कार्यन्वयन गर्नेगरी थप एक वर्ष अर्थमन्त्रीको रुपमा काम गर्ने खतिवडाको इच्छा छ। उनले केही निकटका कर्मचारीहरुलाई आफु अर्थमन्त्रीमा कायमै रहने संकेत गरेको छन्। तर खतिवडाको मन्त्री पद गुम्नी कि बच्ने भन्ने निर्णय नेकपाको आन्तरिक झगडाले कस्तो रुप लिन्छ भन्नेमा निर्भर छ। नेकपामा प्रधानमन्त्री ओली बलियो भए खतिवडाको पद सुरक्षित हुने र कमजोर भए गुम्ने सम्भावना देखिन्छ।  

'निरन्तरता हुने नहुने भन्ने कुरा प्रधानमन्त्रीको इच्छामा भरपर्छ तर मन्त्रीज्यूको चाहना बजेट कार्यान्वयनका लागि निरन्तरता हुनुपर्नेमा छ,' अर्थमन्त्रीका सचिवालयमा कार्यरत एक सदस्यले भने।

खतिवडा प्रधानमन्त्रीका विश्वास पात्र हुन्। प्रधानमन्त्रीको समृद्ध नेपाल, सुखी नेपाली नारालाई बजेटमार्फत सम्बोधन गर्न  खतिवडाले राम्रो भूमिका निर्वाहको ओलीको बुझाई छ। सरकार बदनाम भइरहेकाबेला उनलाई ओलीले फेस सेभिङको जिम्मेवारीसहित सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी थप गर्नाले पनि खतिवडालाई ओलीले कति विश्वास गर्छन् भन्ने कुरा आंकलन गर्न सकिन्छ।

नेकपाभित्रै छ खतिवडालाई हटाउनुपर्ने मत

नेकपाभित्रै भने बहुमतको अर्थमन्त्रीका रुपमा युवराज खतिवडालाई निरन्तरता दिन नहुने मत रहेको छ। अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेको बजेटले सरकारलाई नै असफल बनाएको भन्दै नेकपाकै सांसदहरुले प्रधानमन्त्री ओलीसँग भेट गरी उनलाई हटाउनुपर्ने माग गर्दै आएका छन्।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपाकी सांसद रामकुमारी झाँक्रीलगायतले दुई साता अघि संसदीय समितीमै मन्त्रीले काम गर्न नसेकको भन्दै आलोचना गरेका थिए। 'पुराना तरीकाले काम गर्ने अनि सुधार पनि केही नहुने भएपछि विज्ञ अर्थमन्त्री किन चाहियो?' सांसद झाँक्रीले अर्थ समितिको बैठकमा भनेकी थिइन्। 

यस्तै नेता पाण्डेले कोरोनापछिको अर्थतन्त्र उकास्न केही काम गर्न नसकेको बताएका थिए। 'कोरोनाका कारण औद्योगिकलगायत सबै क्षेत्रमा प्रभाव परेको छ, यसबाट थंगथिलो भएको अर्थतन्त्र उकास्न मन्त्रालयले केही गर्न सकेन,' पूर्व अर्थमन्त्री पाण्डेले भनेका थिए।

बजेट लगत्तै केही सांसदहरुले  प्रधानमन्त्री ओलीसँग भेट गरी अर्थमन्त्रीबाट खतिवडाले राजीनामा दिनुपर्ने माग गरेका  थिए। उनले ल्याएको बजेटका कारण सरकार अझै अलोकप्रिय हुने मत प्रधामन्त्रीसँगको भेटमा सांसदहरुले राखेका थिए।' सरकारलाई थप अलोकप्रिय बनाउन अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट पनि जिम्मेवार छ, सकिन्छ भने करेक्सन गरौँ भन्ने मत धेरै साथीहरुको छ,' सांसद मेटमणी चौधरीले भने।

खतिवडालाई मन्त्रीबाट हटाउन ओली निकट केही नेताहरु पनि सक्रिय छन्। अर्थमन्त्री बन्नका लागि महासचिव विष्णु पौडैलनै रेसमा देखिन्छन भने माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेपनि त्यसका लागि इच्छा देखाइरहेका छन्।

माओवादीका खेमाका नेताहरु समेत मन्त्रिपरिषद् पुनर्गठन हुँदा प्रभावशाली भूमिकामा आफूहरुको प्रतिनिधित्व हुनुपर्ने मत आवाज उठाउँदै आएका छन्।

 Published Date: Sunday, 2nd August 2020 12:56:59 pm