बिहीबार, साउन २, २०७६

औँसीको रातमा जन्मेकाहरूले जतासुकै अन्धकार नै देख्छन् 

गएको साल वास्तवमै एउटा चुनौतीपूर्ण वर्षको रुपमा बित्यो। गत सालको सुरुमै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वेत पत्रमार्फत केही गम्भीर प्रश्नहरु सदनमा उठाउनु भएको थियो।

आज पनि ती प्रश्नहरुले पटक–पटक हामीलाई घचघच्याइरहेको छ। वास्तवमा यो गएको सालमा निकै नै डरलाग्दो आर्थिक विचलनहरु प्रकट भएका थिए। यो गएको वर्ष नेपाल कम्युनिष्ट पार्टीको सरकारले अर्थतन्त्रलाई थप चौपट हुनबाट जोगाएको छ। अर्थतन्त्रलाई ओरालो लाग्ने दिशाबाट रोकेको छ। 

यद्यपि उकालो लाग्ने अवस्था अझै पनि सिर्जना भइसकेको छैन। कुनै पनि काम विगार्नु भन्दा बरु त्यसलाई नगरेर त्यही अवस्थामा राख्नु उपयुक्त हुन्छ। यो गएको साल अर्थतन्त्रलाई झन् नकारात्मक दिशामा जान नदिएर एउटा स्थिर ठाउँमा राख्ने कामसम्म भएको छ, यो महत्वपूर्ण कुरा हो। अब यसले आगामी बाटोलाई सहज बनाउँछ।

गएको वर्षमा संरचनागत व्यवस्थाहरु, कानूनी व्यवस्थापनहरु, वित्तीय व्यवस्थापन, कर्मचारी समायोजन जस्ता प्रश्न र संघीयता कार्यान्वयनको पहिलो वर्ष भएको हुनाले त्यो कार्यान्वयनको वर्षले हाम्रो बजेटको खर्च प्रणाली र कतिपय त्यसबाट आउनु पर्ने परिणामहरुमा सकारात्मक प्रभाव नदेखिएको हो। 

तर, अब परिस्थिति बदलिएको छ। अब आउने वर्ष हामीले सम्पूर्ण व्यवस्थापन गरेका छौं। संसदले थुप्रै कानूनहरु निर्माण गरेको छ। संघीयता, अन्तरप्रदेश समन्वय समितिहरु बनेका छन्। प्राकृति स्रोतसाधन र वित्तीय बाँडफाँड आयोग बनेको छ। यी संरचनाहरु निर्माणसँगै १५ औं योजना पनि हाम्रो सामून्य आएको छ। यीनै आधारमा अर्थमन्त्रीले यो विनियोजन शिर्षकका प्राथमिकताहरु प्रस्तुत गर्नु भएको छ। 

मलाई लाग्छ, हाम्रो गाउँतिर एउटा भनाइ छ–आइतबार जन्मेको मान्छेलाई आइते भनिन्छ, सोमबार जन्मेकोलाई सोमे भन्छ। त्यो चरित्र कहिँ न कहिँ देखिन्छ। मलाई लाग्छ कहिले काहिँ यो औँसीको रातमा जन्मेका मानिसहरुले सायद जतासुकै अन्धकार नै देख्छन्। यस्तो प्रवृत्ति हुनसक्छ। तर, यो दुनियाँमा अँध्यारोमात्रै छैन उज्यालाहरु पनि छन्। हामी त्यो उज्यालोका प्रतिनिधिहरु हौंं। नेपाल कम्युनिष्ट पार्टी त्यो उज्यालोको प्रतिनिधि हो।

अन्धकारसँग जुध्दै, ती चुनौतीहरुसँग लड्दै अगाडि बढ्ने संकल्प गरेर आएको पार्टी हुनुको नाताले मलाई विश्वास छ–आगामी दिनमा आगामी वर्षहरुमा हामी सकारात्मक दिशामा अगाडि लैजान सक्छौं भन्ने लाग्छ। हामीले आज हेर्दा हाम्रो सम्भावना के छ, हामी कति अगाडि जान सक्छौं? कि स्रोतका रुपमा हेर्ने हो भने नेृपाल एउटा पर्याप्त प्राकृतिक स्रोत साधन भएको मुलुक हो। जनसंख्याको हिसावले हेर्ने हो भने आज यो दशक हाम्रो निम्ति सबभन्दा अनुकुल दशक हो। 

१५ वर्षदेखि ५४ वर्ष उमेर समूहका मानिसहरु लगभग धेरै काम गर्न सक्ने उमेर समूह हेर्ने हो भने झण्डै ५७ प्रतिशत छ। जुन आज दुनियाँमा एउटा ठूलो श्रम शक्ति नेपालमा छ। र, हाम्रो श्रम शक्तिले नेपाल बनाउनु पदथ्यो तर, विडम्बना अरु देश बनाइराखेका छन्। आज जापान, जर्मनजस्ता धेरै मुलुकहरु काम गर्ने कार्यक्षमता भएका जनशक्ति नहुँँदा उनीहरु ज्याँदै चिन्तित छन्। तर, हामीसँग यो एउटा ठूलो स्रोत छ। हामीसँग जनअनुमोदित बलियो सरकार छ। त्यो आजका निम्ति एउटा अनुकुल परिस्थिति हो।

छिमेकमा ठूला दुई मुलुक छन्, ती देशका बजार हामा निम्मति अनुकुल अवस्था हो, स्थानीय जनप्रतिनिधिहरु प्रदेश र स्थानीय तहमा झण्डै ४० हजार जनप्रतिनिधिहरुले काम गरिरहेका छन्। त्यो आउने वर्षका लागि एउटा त्यो राम्रो सम्भावना हो। त्यसैले यो विनियोजन विधेयक २०७६ ले यो सम्भावनालाई बोक्दै आगामी वर्षका लागि ती कुराहरुलाई अगाडि सारेको छ। यसमा मेरो समर्थन छ। 

हाम्रा केही चुनौतीहरु छन्। विशेषगरी राजनीतिक परिस्थिति अनुकुल हुँदाहुँदै कतिपय परिस्थिति अनुकुल हुँदाहुँदै पनि हिजोका परम्परागत मानसिकताहरु, हिजोका कार्यशैलीहरु हाम्रा निम्ति त्यत्तिकै चुनौतीका अवस्थामा छन्। हाम्रो पुरानो मानसिकता छ। कामहरु समयमै सम्पन्न हुन नसक्ने, जवाफदेहिता, उत्तदायित्व, सुशासनजस्ता चुनौतीहरु हाम्रा अगाडि छन्। ती चुनौतीहरु माथि हामीले विजय प्राप्त गर्नु पर्नेछ। 

अर्थमन्त्रीलाई म भन्न चाहन्छु–यी चुनौतीहरुलाई ख्याल गर्दै आगामी बजेट बनाउन आवश्यक छ। जसले गर्दा समयमै एउटा राम्रो परिणाम दिन सक्छौं भन्ने मलाई लाग्छ। हामीले राष्ट्रिय गौरवका आयोजनाका कुराहरु गर्छौं, त्यो ज्याँदै महत्वपूर्ण कुरा हो। तर, एउटा राष्ट्रिय गौरवको आयोजना कति वर्षसम्म त्यो राष्ट्रिय गौरवको आयोजना हुन्छ? वर्षौं वर्षसम्म पनि त्यसलाई राष्ट्रिय गौरवको सूचीमा राखिरहेका छौं। यो त्यति सुहाउने कुरा होइन। त्यसकारणले हाम्रो प्रधानमन्त्रीले पटक पटक भनेको मैले सुन्छु,आगामी वर्ष आगामी समय केही न केही गेम चेन्ज हुन्छ। त्यस्तो आयोजनाहरु दिनु पर्छ।

अर्थमन्त्रीलाई भन्न चाहन्छु–त्यो गेम चेन्जर के हो? जसले नेपालको विकास प्रणालीलाई, नेपालको विकासका धारणाहरुलाई बदल्न सक्छ र नेपाललाई दुनियाँलाई एउटा समृद्ध मुलुकको रुपमा कार्यप्रगति गर्न सक्ने मुलुकको रुपमा अगाडि ल्याउन सक्छ। वैदेशिक लगानीको कुरा छ–कतिपयले नेपालमा यो अनुकुल छैन। विदेशी ऋणको पासोमा पर्न सकिन्छ। विशेषगरी चीनसँगको विआरआईको सम्बन्धमा त्यस्ता कुराहरु गर्ने प्रवृत्ति मैले देखेको छु। कतिपय बंगलादेशको, कतिपय पाकिस्तानको, श्रीलंकको उदाहरण दिइन्छ। 

म भन्न चाहन्छु–ग्रिसमा कुनै चीनको लगानी थिएन, अर्जेन्टिनामा चीनको लगानी थिएन। तर, त्यहाँको अर्थतन्त्र डामाडोल भयो। र, त्यसले आज उठ्नका निम्ति थिलोथलिो भइरहेको अवस्था छ। त्यसैले आज जसरी बेल्ट एन्ड रोड अन्तर्गत चीनले एउटा विशाल योजना अगाडि सारेको छ। दुनियाँका १३७ भन्दा बढी मुलुकहरुको सहभागितामा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। नेपालले त्यसबाट कसरी फाइदा लिने? म भन्न चाहन्छु– नेपालले यसमा एउटा स्पेशल डिभिजन बनाएर काम गर्नु पर्दछ भन्ने मलाई लाग्छ। 

त्यस्तै हामीले शैक्षिक क्षेत्रको सुधारबिना मुलुकको समृद्धि सम्भव छैन त्यसैले एसईईमा ए प्लस ल्याउने प्रत्येक विद्यालयलाई केन्द्र सरकारको बजेटबाट ५ करोड रुपैयाँ दिने व्यवस्था बजेटमा गर्नु पर्दछ। त्यस्तै विकास बजेटको पूँजीगत खर्च ९० प्रतिशत गर्ने गाउँपालिकालाई १५ र नगरपालिकालाई २० करोड अनुदान केन्द्र सरकारले दिनुर्छ भन्ने प्रस्ताव गर्छु, जसले गर्दा गाउँपालिका र नगरपालिकामा प्रतिस्पर्धा हुन्छ र विकास बजेट खर्च हुन्छ।  

(नेकपा  युवा नेता भट्टराईले सोमबार प्रतिनिधिसभाको प्रि–बजेट छलफलमा व्यक्त गरेको विचारको सम्पादित अंश।)

 Published Date: Monday, 13th May 18:22:19 PM