आईतबार, फागुन ११, २०७६

बार्सिलोनाको प्रशिक्षक बन्न किन मानेनन् जाभी ?

जाभी हर्नान्डेज। | तस्वीर:एजेन्सी

काठमाडौं, माघ २ : गत शुक्रबारदेखि सोमबार रातिसम्म स्पेनिस जाइन्ट बार्सिलोनामा ठूलै हलचल मच्चियो। कारण थियो, स्पेनिस सुपर कपमा एट्लेटिको मड्रिडविरूद्धको खेलमा व्यहोरेको पराजय।

नहोस् पनि किन, प्रशिक्षक अर्नेस्टो भालभर्डेको नेतृत्वमा बार्सिलोनाले नकआउट चरणका प्रमुख खेलमा भोगिरहेको नियति फेरि एकपटक दोहोरिएको थियो। सुपरकपको सेमिफाइनलमा बार्सिलोनाले खराब खेलेको थिएन्, तर फुटबलमा निर्णायक गोल नै त हो। भालभर्डेको नेतृत्वको टोलीमाथि यस्तै भइदियो। राम्रै खेल्दा पनि नतिजा ३–२ ले एट्लेटिको पक्षमा गयो।

साउदी अरेवियामा भएको खेलको ९० मिनेटमा जब रेफ्रीले सिट्टी फुके, तब सुरू भयो भालभर्डेको आलोचना। हुन त बार्सिलोना समर्थकले खेल जित्दा भालभर्डेलाई कहिलै जस दिएनन्। दिए त केवल कप्तान लियोनल मेस्सी, लुइस स्वारेजलगायतका खेलाडीलाई। तर, हारको जस भने सिधै भालभर्डेलाई दिने बार्सा समर्थकको पुरानै प्रचलनजस्तो थियो। 

सन् २०१८ मा बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइलनमा इटालियन क्लब रोमासँग हारेयता अधिकांश उपाधि निर्णायक खेलमा पराजित भयो। २०१८–१९ को सिजनमा च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलविरुद्ध घरेलु मैदानमा ३–० को जित निकालेको बार्सा एनफिल्डमा ०–४ गोलले पराजित भयो। सेमिफाइनलको यो लज्जास्पद हारपछि प्रशिक्षक भालभर्डेको आलोचना त चुलियो नै, समर्थक थप आक्रामक बने।