आरोहणका लागि किन निषेधित भयो माछापुछ्रे चुली? 

भानु पराजुली

पोखरा चैत्र ९ : पोखराको फेवातालमा तैरिएको माछापुछ्रे चुलीको तस्विर बेचेरै धेरैले आफ्नो पर्यटन धाने । कतिले त्यही तस्विर हेररै जीवन विताए । कति त त्यही तस्विर हेर्नैको लागि पोखरा नै आईपुग्छन् । 

तर धेरैलाई थाहा नभएको तथ्य के हो भने यो चुलीमा आरोहण किन निषेध गरिएको हो ? गत असार १० गते यही चुलीको नाउँवाट नामाकरण भएको माछापुछ्रे गाँउपालिकाको पहिलो गाँउसभाले आरोहण खोल्नको लागि पहल गर्ने निर्णय गरेपछि भने फेरि यो चुलीको आरोहण खोल्ने वा नखोल्ने भन्ने विषयले पोखरा तताएको छ । 
माछापुछ्रेको यो चुली सन् १९६५ सम्म खुल्लै थियो । वि.सं २०२० सालदेखि आरोहणका लागि निषेधित छ । निषेधित गरिनुको अहिलेसम्मको कारण भने सुरक्षा नभई गुरुङ्गहरुको पवित्र थलो ठानिनु हो। 

सन् १९५६ मा माछापुछ्रे चुलीको आरोहणका लागि विदेशी टोलीबाट पहिलो पटक ‘रेकी’ अर्थात बाटो खोज्ने काम भएको थियो । त्यो ब्रिटिस आरोही टोलीले पञ्चेनीवराह नजिकको तोमोँ खर्क भन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु लगायत लैजान नपाउने बन्देज भएको थाहा पाएको थियो । भूर्गवविद् स्वर्गीय डा. हर्क गुरुङ्गले पुस्तकमा लेखे अनुसार बन्देज रहेको आफु पुगे भन्दा माथिका ठाँउलाई टोलीका सदस्यहरुले अन्नपूर्ण सेङचुरी नामाकरण गरेका थिए। 


सन् १९५७ मा ब्रिटिस आरोही टोलीले गरेको आरोहण प्रयास माछापुछ्रे चुली भन्दा ४५ मिटर भन्दा तलै हिमपातको कारण सफल हुन सकेन । आरोहण टोलीका नेता कर्नेल जिमी रोर्बट काठमाण्डौंको व्रिटिस दुतावासमा कार्यरत कुटनितिज्ञ मात्र नभई पदयात्राको अगुवा समेत थिए । आरोहण टोलीका अर्का सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयशले सन् १९५८ मा निकालेको 'क्लाईम्विङ दि फिसेज टेल' भन्ने पुस्तकमा ‘आफुले चढ्न नसकेको चुलीमा अरु पनि नचढे हुन्थ्यो भन्ने आरोही जिमी रोर्बट  व्यक्तिगत भावना थियो’ भन्ने उल्लेख छ । डा.हर्कले भन्ने गरेका थिए, ‘आफुले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस वेलाको पर्वतारोहण नियमलाई प्रभावित पारेको थियो।’ 

सन् १९८३ मा विदेशी नाम भएका चुलीहरुको नेपाली नामाकरण गर्ने समितिका संयोजक  समेत रहेका भूर्गवविद् स्वार्गीय गुरुङ्गले मोदीखोलाका गाँउहरु पनि चाहारे । तर हिमचुलीहरुको स्थानीय नाउँ भने फेला परेन । उनले अन्य साँस्कृतिक तथ्य चाँही पत्ता लगाए । सन् २००० को मार्चमा सेतीखोलाको साँदु तातोपानीमा भेटिएको तथ्यका अनुसार माछापुछ्रे सेरोफेरोका लेकालीहरु हिमचुलीलाई कुनै विषेश नाउँले सम्वोधन गर्दैनन् सवैलाई गुरुङ्ग भाषामा ‘क्लि’ (हिउँ) भन्छन् । यो हिमालको त्यस्तो धार्मिक मान्यता खासै देखिन्न । ‘बरु लेकालीहरु आफ्नो भेडी गोठको रक्षा होस् भनी बुग्यान, खर्क तथा बाटामा पर्ने ओढार लगायतका थलोमा उभौली र उधौँली याममा पूजा गर्छन्’ डा. गुरुङले भनेका छन्, ‘उनीहरु नजिकैको थुम्कोलाई “ह्यूल्हा” भनी श्रद्धा गर्छन।’

पोखरादेखि २५ किलोमिटर हवाई दुरीमा रहेको ६९९७ मिटर अग्लो माछापुछ्रे चुलीलाई स्वीटजरल्याण्डको माटर्होन हिमालसँग दाँज्ने गरिएको छ । यो चुलीलाई सुन्दर र पवित्र भएकाले खोलिनु हुन्न भन्ने होईन माछापुछ्रे गाँउपालिकाका अध्यक्ष कर्णवहादुरु गुरुङ्गले भने । ‘सुन्दर हुँदैमा चढन दिईनुहुन्न भन्नु अव्यवहारिक कुरो हो’, उनको तर्क छ।  

स्वीटजरल्याण्डको आल्पसको सवैभन्दा सुन्दर ४४७४ मिटर अग्लो चुली मेटरहर्नलाई सन् १८६५ मा चढेपछि, त्यही चुलीको फेदीमा अवस्थित जेर्मातगाँउ अहिले नामुद पर्यटन केन्द्रमा परिणत भएको छ । ‘यसलाई बुढिकन्या राख्नुको कुनै औचित्य छैन्’ गाउँपालिकाका अध्यक्ष गुरुङ्गले थपे, ‘यो अहिलेसम्म नचढेको भर्जिन चुली हो, यसलाई खुलाउन सकियो भने स्थानीयको रोजगारी र आम्दानी दुबै वृद्धि हुन्छ।’ 

संस्कृतिविद् र पर्यटन व्यवसायी भने यो तथ्यलाई पटक्कै मान्न तयार छैनन् । ‘आरोहणले मात्रै सबै थोक हुन्छ भन्ने होईन’, संस्कृतीका जानकार तीर्थ श्रेष्ठले भने, ‘सुन्दरतावाटै पनि प्रशस्त फाईदा लिन सकिन्छ।’

श्रेष्ठले अरोहण खुला गरिएका गौरीशंकर, अमादव्लम लगायत ७ हजार मिटर अग्ला हिमालको आरोहणले त्यहाँको आर्थिक विकास नभएको तर्क गरे । ‘आरोहणको लागि आउनेहरुले सवै थोक आफैसँग लिएर आउँछन्, स्थानीय उत्पादन केही पनि प्रयोग गर्दैनन्, मात्रै फोहर छाडेर जान्छन्’ श्रेष्ठले भने, ‘बरु ट्रेकिङ्ग रुटको क्षेत्रका रुपमा मात्रै प्रमोट गर्दा स्थानीयलाई बढि फाईदा हुन्छ।’

पोखराका पर्यटन व्यवशायीहरु पनि माछापुच्छ« आरोहणका लागि खुला गर्न नहुने बताउँछन् । ‘माछापुछ्रेको भर्जिन चुली आरोहणका लागि खोल्दा पर्यटक ओईरिन्छन् भन्ने हुदैन’ पश्चिमाञ्चल होटल संघ पोखराका पूर्वअध्यक्ष भरत पराजुलीले भने, ‘सुन्दरतालाई हेर्ने हो, छुने होईन, भएका सवै हिमाल विगार्न हुँदैन । यो हिमाल आरोहण नखोल्दा पर्यटक आएनन भन्नु गलत हो।’

स्थानीय गाँउपालिका कार्यालयले संघीय संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आरोहण खोल्नका लागि अनुरोध सहितको पत्राचार गरिसकेको छ । मन्त्रालय स्रोतका अनुसार आरोहण खुलाउने विषयमा थप प्रक्रिया भने अगाडि बढेको छैन्।  


 

 Published Date: Saturday, 23rd March 2019 12:58:39 pm