शनिबार, जेठ १७, २०७७

सर्वोत्तम आमा

सर्वोत्म पिठो बनाएर नेपाली वालवालिकालाई कुपोषणबाट बचाउने मिरियम क्रान्ट्स | | तस्वीर:शोभा मानन्धर

के तपाईं मिरियम क्रान्ट्सलाई चिन्नुहुन्छ? सायद चिन्नुहुन्न! धेरै नेपालीले उनको नामै सुनेका छैनन्।

के तपाईंलाई सर्वोत्तम पिठोबारे पनि थाहा छैन? पक्कै थाहा होला ! सन् १९७० को दशकयता जन्मेका प्रायः धेरै नेपाली सर्वोत्तम पिठो खाएरै हुर्केका छन्।

भुटेको भटमास, मकै र गहुँलाई मसिनो गरी पिसेर बनाइएको यो पौष्टिक पिठोको लिटो सानो छँदा नखाने–नचाख्ने नेपाली को होला र! यही सर्वोत्तम पिठोकी विकासकर्ता हुन् – मिरियम क्रान्ट्स्।  

जीवनका सारा उर्जाशील समय कुपोषण विरुद्धको लडाइँमै खर्च गरेकी यी अमेरिकी पोषणविद्ले सर्वोत्तम पिठोको सर्वाधिकार आफूसँग सुरक्षित राखिनन्। त्यसतर्फ उनले चासै दिइनन्। उनको चासो केबल नेपाली बालबालिकालाई कुपोषणबाट जोगाउनुमा थियो।

अहिले मिरियम क्रान्ट्सकै फर्मूला प्रयोग गरेर विभिन्न कम्पनीले थरीथरी ब्रान्डका सर्वोत्तम पिठो बजारमा ल्याएका छन्। कतिपय कम्पनीले आफ्नो ब्रान्डलाई बालबालिकामाझ लोकप्रिय बनाउन नुन, चिनी र अन्य स्वादहरू पनि मिसाउने गरेका छन्। 

मिरियम क्रान्ट्स्ले बनाएकी सर्वोत्तम पिठो अहिलेको बजारिया लिटोजस्तो स्वादिलो त थिएन, तर धेरै पोषिलो थियो। केही पनि नमिसाइएको सर्वोतम पिठो सागसब्जी र फलफुलसँग मिसाएर खान सकिन्थ्यो।

भिडियो रिपोर्ट

न्यूयोर्कबाट नेपाल आउन एक महिना

मिरियम क्रान्ट्स् ५५ वर्षअघि अर्थात् सन् १९६३ मा पहिलोपटक नेपाल आएकी थिइन्। न्यूयोर्क हार्वरबाट पानीजहाज चढेर मुम्बईसम्म आइपुगेकी थिइन्। त्यहाँबाट रेल चढेर कोलकाता। र, त्यहाँबाट हवाईजहाज चढेर काठमाडौं आउँदा एक महिना बितेको थियो।

त्यस बेला उनी २६ वर्षकी मात्रै थिइन्। युनाइटेड मिशन टू नेपालका तर्फबाट भोल्यून्टिएरको रुपमा नेपाल आएकी उनले सुरुमा पाटनको शान्तभवन अस्पतालमा पोषण विभाग व्यवस्थापकको रुपमा काम गरिन्। 

त्यस बेला नेपालमा कुपोषण चरम अवस्थामा थियो। धेरै बालबालिकाहरू पाँच वर्ष नपुगी मर्थे। शान्तभवन अस्पतालमा ‘सुकेनाश’ लागेका बच्चाहरूको भीड लाग्थ्यो। अति कुपोषण भएका बच्चालाई औषधिले मात्र निको हुँदैन थियो।

चार दशकअघि पोखरामा मिरियम क्रान्ट्स्

चार दशकअघि पोखरामा मिरियम क्रान्ट्स्

मिरियम क्रान्ट्स्लाई लाग्यो – पोषणविद्ले अस्पतालमा भन्दा समुदायमा पो काम गर्नुपर्ने हो। समुदायमै पुगेर बच्चालाई कुपोषणबाट बचाउन सके अस्पताल आउने कुपोषित बच्चाको संख्या स्वतः घट्ने उनको ठहर थियो।

जहाँ इच्छा त्यहाँ उपाय भने झैं भयो । शान्तभवन अस्पतालमा ८ वर्ष बिताएपछि उनले सन् १९७४ मा शान्तभवनको सामुदायिक स्वास्थ्य कार्यक्रमको सहयोगमा खुलेको नेपालकै पहिलो पोषण पुनर्स्थापना केन्द्रमा काम गर्ने मौका पाइन्। 

पोषण पुनर्स्थापना केन्द्रमा आबद्ध भएपछि मिरियम क्रान्ट्स् र अन्य सहकर्मीहरू कसरी नेपाली बालबालिकालाई कुपोषणबाट बचाउन सकिन्छ भनेर निरन्तर छलफल गरे।

कुपोषणको समाधान खोज्न पोषणको अवस्था बुझ्नु आवश्यक थियो। आम नेपालीले बिहान–बेलुकी के खान्छन्, आफ्ना बच्चालाई के र कसरी खुवाउँछन्, अनि नेपाली गाउँमा प्रायः के खानेकुरा उपलब्ध छन् भन्ने थाहा नपाई कुपोषण अन्त्य गर्ने उपाय पहिल्याउनु मुश्किल थियो।

यसैले, मिरियम र उनका सहकर्मीहरूले दुई नेपाली गाउँमा पोषणको अवस्थाबारे अध्ययन गर्ने निधो गरे। उनीहरूले यसका लागि ललितपुरको इमाडोल र सानागाउँ छाने।किनकि, यी दुई गाउँमा दाताको सहयोगमा कुनै कार्यक्रमहरू सञ्चालन भएका थिएनन्। त्यस वरपर रहेका चापागाउँ, बुङमती र फर्पिङलगायतका ठाउँमा भने दाताले मिल्क पाउडर वितरण गरिरहेको थियो।  

त्यो बेला इमाडोल र सानागाउँ अहिलेजस्तो घना सहर थिएनन् । गाडीहरू थिएनन्। बस्तीहरू पनि पातला थिए । एउटा बस्तीबाट अर्को बस्ती पुग्न गोरेटो बाटो हिँड्नु पर्थ्यो।

पोषण अवस्थाको अध्ययन गर्न समुदायमा पुगेर मात्रै हुँदैन, घर र अझ भान्सामै छिर्नु पनि आवश्यक पर्छ। तर, त्यो बेला विदेशीलाई नेपालीको भान्सामा छिर्नु सजिलो थिएन। मिरियमले नेपाली भाषा सिकिन्। स्थानीय महिलाहरूलाई साथी बनाइन्। बिस्तारै उनले छिँडीसम्म प्रवेश पाइन्। छिँडीबाट चोटामा। र, चोटाबाट भान्सामा। 

दिसाबाट लिटो

नेपालीका घर–भान्सामै छिर्न पाउँदा पनि मिरियम क्रान्ट्स्ले कुपोषणको औषधि भेटेकी थिइनन्। उनी यस्तो पोषणको खोजीमा थिइन्, जुन सबै नेपालीको घरमा सजिलो उपलब्ध हुन्थ्यो र बच्चाले पनि मिठो मानी खान्थे।

एक दिन उनले सर्वोत्तम पिठोको फर्मूला भेटिन् – बच्चाको दिसामा ! 

हो, दिसामा।  

 

त्यो हिउँद याम थियो । काठमाडौं उपत्यकाका घाँसे मैदानहरू बिहान अबेरसम्म तुषारोले छोपिएका हुन्थ्यो। त्यो बिहान पनि तुषारो परेको थियो। उनी कुपोषित बच्चा भएका परिवारलाई भेट्न इमाडोलको एउटा घर जाँदै थिइन्। 

घर पुग्नै लाग्दा एउटा फराकिलो चौर थियो। तुषारोले छपक्क छोपिएको त्यो चौरको पर्खाल अगाडि घाँसे भूइँबाट बाफ आइरहेको देखियो। नजिक गई हेर्दा थाहा भयो – त्यो त बच्चाको ताजा दिसा पो रहेछ। 

त्यो दिसामा भटमासका सग्ला दानाहरू थिए। बच्चाको पेटले भटमास पचाएको थिएन। जस्तो खाएको थियो, त्यस्तै निक्लिएको थियो। त्यो भटमासका दाना मिश्रित दिसा देखेर उनको दिमागमा बिजुली चम्के जस्तो भयो। 

त्यो बेला अहिलेजस्तो बच्चाका लागि नानाथरी खानेकुरा उपलब्ध हुन्थेनन्। आमाबुवा जे खान्थे, बच्चालाई पनि त्यही खुवाइन्थ्यो। आमाबुवाको पेटले पचाएको खाना बच्चाको पेटले पचाउँदैन थियो। र, बच्चाहरू सुकेनाश र फुकेनाशको शिकार हुन्थे।

मिरियम क्रान्ट्स् एकजना सहकर्मीसँग त्यो घरभित्र गइन् र त्यहाँकी आमासँग कुरा गर्न थालिन्। अहिले ८१ वर्ष पुगेकी मिरियम क्रान्ट्स् ४० वर्षअघिको त्यो संवाद अझै सम्झिन्छिन् – 

मिरियमः आमा, तपाईंको बच्चाले बाहिर दिसा गरेको रहेछ । दिसामा त भटमासका दानाहरू डल्लै रहेछन् नि!

आमाः के गर्नु र? हामी खाजामा भुटेको भटमास, मकै र गहुँ खान्छौं। हामी जे खान्छौँ, बच्चाहरूलाई पनि त्यही चाहिन्छ। त्यही दिइन्छ।

मिरियमः अनि बच्चालाई सिङ्गै भटमास खुवाउँदा फाइदा हुन्छ त?

आमाः हुँदैन नि ! जस्तो खायो, उस्तै निकाल्छ। पेटले पचाउँदै पचाउँदैन। तर, के गर्ने र खै?

मिरियमले त्यसबेला केही भनिन्। आमाले आफैं भनिन्, ‘तर म भटमास पिस्न सक्छु।’

मिरियमः  हो आमा,भटमास पिस्न सक्नुहुन्छ? घरमा पिस्ने जाँतो छ?

आमाः किन नसक्नु? हामी मकै, गहुँहरू जाँतोमै त पिस्छौँ।

त्यो उनको ‘यूरेका क्षण’ थियो । उनले बुझिसकेकी थिइन् –नेपालीहरूले बच्चाहरूलाई खुवाउनुपर्ने खाना नै खुवाउँदा रहेछन्, तर तरिका मिलेको रहेनछ! 

बच्चालाई भटमास त्यसै खुवाउनुको सट्टा भुटेर पिनेर पिठो बनाई खुवाए हितकारी हुने निष्कर्ष उनको थियो। तर, उनले ती आमालाई तत्काल आफ्नो ज्ञान बाँडिनन्। किनकि, यसबारे उनलाई थप अनुसन्धान आवश्यक थियो।

त्यो दिन मिरियम क्रान्ट्स् फिल्डबाट घर गइनन्। सिधै अफिस गइनन्। र्‍याकबाट पोषणसम्बन्धी किताबहरू निकालेर पढ्न थालिन्। भटमास, मकै र गहुँको मिश्रणमा  के के पौष्टिक त्तत्वहरू हुँदा रहेछन् भन्ने हेरिन्। भटमास पोषिलो त हुँदो रहेछ, तर त्यसमा फ्याट, प्रोटिन र  क्यालोरी धेरै हुँदो रहेछ। 

त्यसपछि उनले भुटेको भटमासमा मकै र गहुँ पनि मिसाएर पिठो बनाइन्। यो मिश्रित पिठोमाकति–कति मात्रामा कुन–कुन पौष्टिक त्तत्व हुन्छन् भन्ने जाँच्न प्रयोगशालामा पठाइन्। सुरुमा काठमाडौंको बबरमहलस्थित सरकारी प्रयोगशाला पठाइयो। नतिजा राम्रो आयो। थप जाँचका लागि भारतको हैदराबाद र नेदरल्यान्डका आधुनिक पोषण प्रयोगशालामा पनि पठाइयो। 

सर्वोत्तम पिठोका लागि आवश्यक गेडागुडीहरु

सर्वोत्तम पिठोका लागि आवश्यक गेडागुडीहरु

काठमाडौं, हैदराबाद र नेदरल्यान्डकै प्रयोगशालाको साझा निष्कर्ष थियो – भुटेको भटमास, मकै र गहुँ मसिनो गरी पिसेको पिठो बच्चाका लागि साँच्चै पोषणयुक्त हुन्छ। अण्डा, मासु र दूधमा पाइने प्रोटिन यही लिटोमा पाइन्छ। 

उनी भन्छिन्, ‘त्यो एउटा रिभोलूशन थियो, कुपोषण विरुद्ध।’ 

मिरियम क्रान्ट्सले भटमास, मकै र गहुँको लिटो पोषण पुनर्स्थापना केन्द्रकै बच्चाहरूलाई खुवाउन थालिन् । बच्चाहरूले यो लिटो मन पराए । बच्चाले लिटो मन पराएपछि आमाहरू पनि दङ्ग परे।

मिरियमले सर्वोत्तम पिठोमा नुन र चिनी मिसाइनन्। त्यसको कारण छ – अत्यधिक कुपोषण भएका बच्चामा नुनचिनी मिश्रित लिटो खुवाएमा नराम्रो असर पर्न सक्छ। नुन खाएका बच्चाहरू सुन्निएर झन् मृत्युको मुखमा पुग्छन्।

पोषण  पुनर्स्थापना केन्द्रमा एक दिन सुकेनाश लागेको बच्चा आयो। बच्चा र आमा दुबैलाई सँगै राखेर दुई सातासम्म सर्वोत्तम पिठो दिइयो । जब बच्चा बुवा लिन आए, तब पोषिलो छोरा देखेर छक्क पर्दै उनले सोधे – यो मेरै बच्चा हो र?

ती दिन सम्झिँदा अझै मेरियम क्रान्ट्सका आँखा चम्किन्छन्। उनको अनुहारमा खुशी र सन्तोषको भाव देखा पर्छ। 

चुनौती

बच्चाहरूले सर्वोत्तम पिठोबाट बनेको लिटो त मज्जाले खान थाले। तर, त्यसलाई सर्वव्यापी बनाउनु चुनौतीपूर्ण थियो। किनकि, त्यसबेला केही गैरसरकारी संस्थाहरूले नेपाली बालबालिकाका लागि स्किम मिल्क पाउडर बाँड्थ्यो। पाउडर दूध मिठो। बच्चालाई खुवाउनु पनि सजिलो। तर, सर्वोत्तम पिठोजसतो घरमै बन्ने र पोषिलो थिएन। 

कृषिप्रधान नेपालका अधिकांश घरमा गाईभैंसी नहुने त कुरै भएन। तर, मानिसहरू बच्चालाई गाईभैंसीका दूध र घरमै बनेको लिटो खुवाउनुका सट्टा दातृ निकायहरूले बाँड्ने पाउडर दूधमा लोभिन्थे। कति त गाईको दूध बेचेर पाउडर दूध लिन क्लिनिकमा आइपुग्थे। पाउडर दूध पाएन भने झगडा गर्थे।

तर, दातृ निकायले बाँड्ने पाउडर बच्चाका लागि खासै राम्रो थिएन। त्यसैले सामुदायिक स्वास्थ्य कार्यक्रमले दाताले दिएको स्किम मिल्क पाउडर लगायतका सहयोग नलिने निर्णय गर्‍याे। दाताको सहयोगमा चलेका कार्यक्रम बन्द भएपछि मानिसहरूले फेरि घरकै जाँतोमा भटमास, मकै र गहुँ पिनेर लिटो बनाई बच्चालाई खुवाउन थाले। 

चार दशकअघि सर्वोत्तम पिठोका विषयमा जानकारी गराउँदै मिरियम क्रान्ट्स्

चार दशकअघि सर्वोत्तम पिठोका विषयमा जानकारी गराउँदै मिरियम क्रान्ट्स्

यसरी जुर्‍यो सर्वोतम पिठोको नाम

दुई भाग भटमास, एक भाग मकै र एक भाग गहुँ पिनेर पौष्टिक पिठो त बनाइयो, तर त्यसको कुनै नाम थिएन। यसलाई एउटा नाम दिनैपर्छ भन्ने मेरियमलाई लाग्यो। तर, के नाउँ दिने?

मिरियम क्रान्ट्स् र उनका साथीहरूले नाम जुराउने प्रतियोगिताको आयोजना गरे । गाउँलेको जिब्रोमा सजिलै बस्ने, अर्थपूर्ण र सुन्दर नाम सिफारिस गर्न शान्तभवन अस्पताल, नर्सिङ क्याम्पस र सामुदायिक क्लिनिकका कर्मचारीहरूलाई आग्रह गरियो । सबैतिर नाम हाल्ने बाकसहरू पनि राखिए।

ती बाकसहरूमा अनगिन्ती नाम लेखिएका चिर्कटोहरू हालिएका थिए। त्यसैमध्ये एउटा छानियो – सर्वोत्तम पिठो। यो नाम सुन्दर थियो । सार्थक पनि । हिमाल, पहाड र तराई सबैतिरका मानिसले बुझ्ने पनि। तत्कालीन पञ्चायत सरकारको महिला तालिम केन्द्रका महिला अधिकृतले उक्त नाम छानेका थिए । तर संयोग नै भनौं छनौटमा परेको त्यो नाम मिरियमले नै खसालेको चिटमा थियो । जुन त्यतिवेला महिला मन्त्रालयका कर्मचारीहरु र उनका सहकर्मीहरुलाई पनि थाहा थिएन ।  पञ्चायत सरकारको महिला तालिम केन्द्रले पास गरेपछि मकै, भटमास र गहुँको पिठोको नाम रह्यो – सर्वोत्तम पिठो।

पोषण पुनर्स्थापना केन्द्रमा इन्स्टिच्यूट अफ मेडिसिनका विद्यार्थीहरू अध्ययन भ्रमणका लागि आउँथे। यति सामान्य र सर्वसुलभखानाले बच्चालाई कुपोषणबाट जोगाएको थाहा पाउँदा उनीहरू आश्चर्यचकित पर्थे । उनीहरूले सर्वोत्तम पिठोको प्रचार गर्न थाले। अलि पछि यूनिसेफले पनि सर्वोत्तम पिठोको प्रचार र प्रवर्द्धन गर्न थाल्यो। त्यसपछि यो अमृतसरह लिटो नेपालीको घर–घरमा पुग्यो।

सन् १९७० काे दशकयता नेपालमा जन्मेका अधिकांश बालबालिकाले सर्वोत्तम पिठो खाएका छन्। सर्वोत्तम पिठोको आविष्कार साँच्चै एक क्रान्ति थियो। नेपालले कुपोषणविरुद्धको लडाइँमा जे–जति उपलब्धि हासिल गरेको छ, त्यसमा सर्वोत्तम पिठो र मिरियम क्रान्ट्स्लाई पनि महत्वपूर्ण श्रेय जान्छ। 

मिरियम भन्छिन, ‘अहिले पनि म त्यस्ता मानिसहरूलाई भेट्छु, जो सर्वोतम पिठो खाएर हुर्केको मलाई सुनाउँछन्। उनीहरूलाई भेट्दा मलाई खुशी लाग्छ।’

आफ्नो दैनिकी अहिले पनि स्कुटरबाट सुरु गर्छिन् मिरियम क्रान्ट्स्

आफ्नो दैनिकी अहिले पनि स्कुटरबाट सुरु गर्छिन् मिरियम क्रान्ट्स्

बाँकी जीवन नेपालमै

अमेरिकाको पेन्सिलभेनियामा जन्मे–हुर्केकी मिरियम क्रान्ट्स नेपाल आउँदा यो एक हिन्दू राजतन्त्र थियो। उनकै जीवनकालमा नेपाल धर्मनिरपेक्ष संघीय गणतन्त्र बन्यो। उनले यहाँ पञ्चायत, राजतन्त्र, जनआन्दोलन, माओवादी युद्ध, संकटकाल, हड्ताल र कफ्र्यू सबै देखिन्–भोगिन्। 

नेपालमा यस्ता ठूल्ठूला राजनीतिक लडाइँहरू हुँदा मिरियम क्रान्ट्स पनि एउटा युद्ध नै लड्दै थिइन् – कुपोषणविरुद्ध।

यस अवधिमा कुपोषण धेरै हदसम्म नियन्त्रित भएको छ। विक्रम सम्वत् २०४६ सालतिर ५७ प्रतिशत नेपाली बालबालिकामा स्टन्टिङ थियो। अर्थात्, प्रत्येक १०० बालबालिकामध्ये ५७ जना पुड्का थिए। अहिले ३६ प्रतिशत बालबालिकामा मात्रै यो समस्या छ।

त्यो बेला ४२ प्रतिशत बालबालिकामा वेस्टिङ थियो। अर्थात्, प्रत्येक १०० मा ४२ प्रतिशत बालबालिका ख्याउँटे थिए। अहिले २७ प्रतिशतमा मात्रै यस्तो समस्या छ। त्यो बेला १५ प्रतिशत बालबालिका कम तौलका थिए। अहिले यो प्रतिशत १० मा झरेको छ।

नेपालमा व्याप्त कुपोषणविरुद्धको लडाइँकी योद्धा मिरियम क्रान्ट्सको योगदानलाई विभिन्न संघसंस्थाले कदर गरेका छन्। तर, नेपाल सरकारले भने उनलाई कुनै तक्मा, विभूषण दिएको छैन। 

तर, उनी गुनासो गर्दिनन्। उनी आफ्नो काम र जिन्दगीप्रति सन्तुष्ट छन्। यही सन्तुष्टिकै कारण होला, ८१ वर्षको उमेरमा पनि उनी स्वस्थ छन्। घरका सबै कामहरू गर्छिन्। काठमाडौंका भीडभाडपूर्ण र धूले सडकमा पनि मोटरसाइकल कुदाउँदै हिँड्छिन्। उनले बाँकी जीवन यहीँ बिताउने निधो गरेकी छिन्। 

(झण्डै एक बर्ष अघि प्रकाशित यो स्टोरी पुन प्रकाशित गरिएको हो)

 Published Date: Saturday, 4th April 08:28:10 AM