कास्कीको बाहाकोट मेश्रम बराह मन्दिर पुनःनिर्माण

फाइल फोटो

पोखरा, चैत २३ : कास्की अन्नपूर्ण गाउँपालिका–८ दाङसिङमा रहेको बाहाकोट मेश्रमबराह मन्दिर पुनःनिर्माण गरिएको छ।

सो गाउँको उच्चस्थानमा रहेको उक्त मन्दिर जीर्ण भई पूजाआरधना गर्न आउने भक्तजनलाई समेत अप्ठेरो परेपछि दाङसिङ पोखरा गुरुङ सम्पर्क समाजको सक्रियतामा आठ लाख रूपैयाँको लागतमा पुनःनिर्माण गरिएको हो। सो गाउँमा जन्मेर विभिन्न पेशा, व्यवसाय एवं रोजगारको सिलसिलामा स्वदेश तथा विदेशमा रहेका महानुभावको सक्रियतामा उक्त रकम संकलन  गरिएको बाहाकोट मेश्रम बराह मन्दिर निर्माण समितिका सदस्य राजुकुमार गुरुङले जानकारी दिए। 

प्रत्येक वर्ष वैशाख महीनामा सो मन्दिरमा सामूहिक पूजा गर्ने प्रचलन रहेको बताउँदै उनले भने,'मन्दिरमा भेडा र बोकाको बलि दिने चलन छ।' भक्तजनलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यले बाटोमा ढुङ्गा छापेर पैदलमार्गसँगै रेलिङबार निर्माण एवं मन्दिर परिसरमा ट्रष्ट भवन निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए।

दुई महिना अघि स्थानीय बासिन्दाको भेलाले चिज गुरुङको अध्यक्षतामा पाँच सदस्यीय मन्दिर पुनःनिर्माण समिति गठन गरिएको थियो। पुनःनिर्मित सो मन्दिरको आगामी वैशाख ३ गते पूजासहित विधिवत्रुपमा उद्घाटन गर्ने कार्यक्रम छ। कास्कीको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा परिचित नयाँ पुल, वीरेठाँटी हुँदै दाङसिङ गाउँसम्म मोटर बाटोको सुविधा पुगेको छ भने उक्त गाउँबाट लगभग एक घण्टाको पैदलयात्रा पश्चात मन्दिर पुग्न सकिन्छ। 

 Published Date: Saturday, 6th April 2019 2:05:15 pm