सोमबार, असोज २७, २०७६

राष्ट्रपतीय प्रणाली र नेताका पदमा कुरा नमिल्दा समाजवादी–राजपा एकतामा बाधा

छलफलमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरु। | तस्वीर:फाइल फोटो

काठमाडौं, असार २२ : समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच अघि बढेको एकता वार्ता राजनीतिक प्रणाली र नेतृत्व व्यवस्थापनमा गएर अड्किएको छ। राजपाले जनताद्वारा राष्ट्रपतीय प्रणाली स्वीकार गर्ने हो भने त्यसपछि मात्र नेतृत्व व्यवस्थापनबारे छलफल गर्न सकिने समाजवादी पार्टीका नेताहरूको बुझाइ छ।

दुई दलबीच पार्टी एकता गरेर अघि बढ्ने सैद्धान्तिक सहमति यसअघि नै भइसकेको छ। नयाँशक्ति पार्टी र संघीय समाजवादी पार्टीबीच एकता भई समाजवादी पार्टीको घोषणा गर्दा नै सँगै राजपा पनि एकीकृत भएको घोषणा गर्ने तयारी थियो तर राजपाले रुचि नदेखाउँदा यो पछि धकेलिएको हो।

तत्कालीन नयाँ शक्तिका एक नेताले दिएको जानकारीअनुसार, भारतको लोकसभा निर्वाचनको परिणाम हेरेर मात्र एकतामा जाने वा नजाने भन्ने निष्कर्षमा पुग्ने त्यसबेला अनौपचारिक कुराकानीमा राजपाका नेताले बताएका थिए। भारतमा भाजपाकै नेतृत्वमा पुनः सरकार बनेको र पहिलेजस्तै फेरि पनि नरेन्द्र मोदी नै प्रधानमन्त्री भएको सन्दर्भमा राजपाले पुनः पार्टी एकता वार्ता अघि बढाएको हो।

पछिल्लो समय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टीसँग महन्थ ठाकुर नेतृत्वको राजपाबीच फेरि एकता वार्ताले तीब्रता पाएको छ। समाजवादी पार्टी नेपालका वार्ता समिति संयोजकसमेत रहेका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘राजनीतिक प्रतिवेदनमा सहमति भइसकेको छ।’

समावेशी राजनीतिक प्रणाली, मधेश र नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी कांग्रेसलाई हेर्ने दृष्टिकोणबारे दुवै दलको समान धारणा छ। समाजवादी अर्थव्यवस्था, प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली, बहुलवादी समाज, सार्वभौमसत्ता जनतामा निहीत, प्रेस र अभिव्यक्ति स्वतन्त्रताजस्ता मौलिक अधिकारबारे पनि दुवै दल सहमत भइसकेका छन्। त्यसबाहेक ११ प्रदेशसहितको राज्य पुनर्संरचना हुनुपर्ने, स्थानीय सरकार प्रदेश मातहत हुनुपर्नेमा पनि दुई दल एकमत छन्।

‘उहाँहरूले संसदीय प्रणाली छाड्न सक्नुभएको छैन, हामी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीका पक्षमा दृढ छौँ। उहाँहरूले राष्ट्रपतीय प्रणाली स्वीकार्नेबित्तिकै नेतृत्व व्यवस्थापनको कुरा सुरू हुन्छ’, वार्ताटोली संयोजक श्रेष्ठले भने। उनले पार्टी एकताको कुरा फेरि गम्भीर रुपमा अघि बढेको बताए।

लोकतान्त्रिक शासन प्रणालीमा विश्वास गर्छन् दुवै दल। दुवै दलको जनताबाट निर्वाचित कार्यकारी प्रमुख भन्नेमा पनि सहमति नै छ तर संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री कार्यकारी प्रमुख कि जनताको प्रत्यक्ष मतद्वारा निर्वाचत कार्यकारी राष्ट्रपति देशको कार्यकारी प्रमुख हुने भन्नेमा कुरो मिलेको छैन।

देशको तेस्रो ठूलो राजनीतिक शक्तिको हैसियतमा रहेको समाजवादी पार्टी चाहिँ राज्य पुनर्संरचना आयोगको प्रतिवेदनमा आधारित ११ प्रदेशसहितको राष्ट्रपतीय प्रणालीमा अडिग छ। उसले यही मुद्दालाई पार्टीको संगठन विस्तारको आधार बनाइसकेको छ।

राजनीतिक विषय भन्दा पनि नेतृत्वको व्यवस्थापनलाई जटिल मान्छन् दुबै दलका नेता। तथापि वार्ता सकारात्मक दिशामा अघि बढिरहेकाले कोही पनि यसबारे औपचारिक रुपमा बोल्दैनन्।

तर, राजपकाको अध्यक्ष मण्डलमा रहेका ६ जना नेतामध्ये महन्थ ठाकुरलाई वरिष्ठ मान्न समाजवादीलाई कुनै समस्या छैन। त्यसबाहेक शरदसिंह भण्डारी पनि पुरानै हुन् तर राजेन्द्र महतो, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादवलाई ‘अध्यक्ष मण्डल’ भनेर वरिष्ठ मान्न समाजवादीका नेतालाई गाह«ो छ।

समाजवादीका एक नेताले भने, ‘अध्यक्ष मण्डलका चार जना सदस्यभन्दा त हाम्रा परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, हेमराज राई धेरै सिनियर हुन् । यो मिलाउन पनि कठिन छ ।’ तर, मूल राजनीतिक विषयमा कुरा मिलेकाले पार्टी एकता नै असम्भव भने नरहेको उनले बताए । उनले दुई दल मिलेर राष्ट्रपतीय प्रणालीमा चुनाव लड्न आफ्नो हैसियत नेकपाभन्दा कमजोर नहुने पनि बताए।

 Published Date: Monday, 8th July 12:42:38 PM