सोमबार, भदौ ३०, २०७६

‘थापा भए नि, कामी भए नि, मेरो काम त्यही हो- बलिङ’

क्रिकेटर सोमपाल कामी

२०७०, चैत ७। 

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यहरूका लागि अविष्मरणीय दिन थियो, त्यो ।

किनकि, त्यो दिन उनीहरू बंगलादेशमा आयोजित आईसीसी वल्र्ड ट्वान्टी–२० प्रतियोगितामा शानदार प्रदर्शन गरेर नेपाल फर्कदै थिए।

नेपालले प्रतियोगिता नै जितेको त थिएन, तर समूह चरणका खेलमा हङकङ र अफगानिस्तान जस्ता बलिया राष्ट्रलाई हराउन सफल भएको थियो।

बंगलादेशसँग नहारेको भए नेपाल अझ माथि जान सक्थ्यो। र, भारत र अष्ट्रेलियाजस्ता धुरन्धर विश्व क्रिकेट च्याम्पियनहरूसँग नेपालले प्रतिष्पर्धा गरेको हेर्न पाउने नेपाली दर्शकको सपना पनि पूरा हुन्थ्यो।

भिडियो रिपोर्ट

इतिहासमै पहिलोचोटि ट्वान्टी–२० विश्वकपमा सहभागी हुँदा पनि नेपाल नयाँ र अनुभवहीन टिमजस्तो देखिएको थिएन। नेपालको प्रदर्शनको सर्वत्र प्रशंसा भएको थियो।

यसैले त्यो दिन आफ्ना क्रिकेट खेलाडीहरूको स्वागत गर्न हजारौं नेपाली दर्शकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरूको हात–हातमा फूल, राष्ट्रिय झण्डा र समर्थनका ब्यानरहरू थिए। त्यो दिन सोमपाल कामीका लागि त झन् विशेष थियो। किनकि, उनी अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा डेब्यू गरी नेपाल फर्किदै थिए। 

बंगलादेशको चितगोङमा भएको हङकङविरुद्धको खेलमा उनले डेब्यूमात्रै गरेका थिएनन्, दुई विकेट पनि लिएका थिए। उनको ४.३३ इकोनोमी अन्य अनुभवी नेपाली बलरहरूको भन्दा पनि प्रभावशाली थियो। उनले ३ ओभरमा १३ रनमात्रै खर्चेर हङकङका कप्तान जेजे अट्किन्सन र नजिब अमरको विकेट लिएका थिए।

काठमाडौंमा ओर्लदै गर्दा उनलाई कतिबेला विमानस्थलबाहिर निस्कूँ र घर पुगेर आफन्तीहरूसँग आफ्नो अनुभव बाँडू जस्तो भएको थियो। तर, अध्यागमनमा खटिएका एक इन्सपेक्टरले उनलाई रोके र चिनापर्ची गर्न थाले। 

सोमपालका साथी खेलाडीहरू फटाफट अघि बढे, तर उनलाई भने इन्सपेक्टरले अलि पर कुनामा लगे। इन्स्पेक्टरको अनुहारमा माँया, सद्भाव र अलिकति दयाको पनि मिश्रण थियो। 

इन्सपेक्टरले सुरुमा त सोमपाललाई बधाई दिए, तर त्यसपछि भने बडो कौतूहलका साथ एउटा प्रश्न सोधे – ‘साँच्चि, बाबुले किन आफ्नो थर कामी लेखेको?’

सोमपाल अक्क न बक्क परे। उनलाई के भनूँ–भनूँ भयो। उनको मुखबाट एउटा प्रतिप्रश्न खस्यो – ‘किन र सर?’

इन्सपेक्टरले पल्याक–पुलुक यताउता हेरे र साउती मारे जस्तै गरी बोल्न थाले – ‘कामी लेख्दा समस्या हुन्छ नि, बाबु। म नि कामी हुँ। तर, मैले कसैलाई यो कुरा भन्या छैन। 

नागरिकतामा मेरो थर थापा छ। कामी लेखेको भए त सबैले मलाई होच्याउँथे!’

सोमपाल ‘हुन त हो, तर के गर्ने’ भन्दै फुत्किए। उनका लागि त्यो एक नमीठो क्षण त थियो, तर पहिलो त्यस्तो अनुभव भने थिएन। 

गुल्मीको गाउँमा उब्जनी हुने अन्नले हातमुख जोर्न मुश्किल भएपछि सोमपालका बुवा काम खोज्दै भारत गएका थिए। सोमपाल पनि उतै हुर्किए। 

त्यो बेला भारतमा सचिन तेन्दुल्करको दबदबा थियो। गल्लीमा क्रिकेट खेल्ने जो कोही तेन्दुल्कर बन्न चाहन्थे। सोमपाल पनि सचिन बन्ने सपना लिएर पञ्जावमा गल्लीमा क्रिकेट खेल्न थाले। 

विस्तारै उनले भारतमा विभिन्न क्रिकेट प्रतियोगिताहरू खेल्न थाले। व्याटिङमा भन्दा बलिङमा पोख्त हुन थाले।

भारत हुँदा उनलाई कसैले किन कामी थर लेखेको भनी सोधेको थिएन। कामी एक दलित थर हो र कामी लेख्दा नेपालमा विभेद सामना गर्नुपर्छ भन्ने पनि उनलाई थाहा थिएन। 

सन् २०१४ तिर उनी नागरिकता बनाउन नेपाल आए। र, बुवासँग गृह जिल्ला गुल्मी गए। जिल्ला प्रशासन कार्यालय गुल्मीका एक कर्मचारीले उनले सोधे, ‘थर के राख्ने? कामी नै राख्ने?’

त्यो बेला पहिलोपटक उनले त्यस्तो अनुभव गरिरहेका थिए। उनी अचम्मित हुनु स्वभाविकै हो। उनले सोधे, ‘किन र?’

ती कर्मचारीले सहानुभूति दर्शाउँदै भने, ‘कामी लेख्दा त तपाईंलाई पछि समस्या हुन सक्छ। बरु, थापा वा खड्का थर लेख्नुहोस्।’

सोमपालले भने, ‘बुवाको नागरिकतामा त कामी नै लेखिएको छ त !’

ती कर्मचारीले अर्को उपाय सुझाए, ‘थापा वा खड्का नलेख्ने भए  सुनार वा विश्वकर्मा लेख्नुहोस्।’

तर, सोमपाल अर्को थर लेख्न तयार भएनन्। हुर्कदैखेरि उनी सोमपाल कामी थिए। 

हुर्किसकेपछि सोमपाल थापा, सोमपाल खड्का वा सोमपाल सुनार हुन चाहेनन्।

उनलाई आफन्तीहरूले समेत थर फेर्न सुझाएका थिए। धेरैले भनेका थिए – ‘भारतमा कामी थर लेख्दा, कामी भनेर  चिनिँदा फरक पर्दैन थियो, तर यो नेपाल हो। यहाँ कामी भनेर चिनिन धेरै गाह्रो हुन्छ।’

तर, सोमपालले कसैको कुरा सुनेनन्। किनकि, उनी कामीकै नाउँले चिनिन चाहन्थे।

एकपछि अर्को अन्तर्राष्ट्रिय खेलमा विकेट लिन थालेपछि सोमपाल कामी नेपालकै चर्चित र प्रभावशाली बलरमा दरिए। 

लिस्ट ए क्रिकेटमा उनले हालसम्म ६५ विकेट लिइसकेका छन् र उनी सकेसम्म छिटो १०० विकेट झार्ने दाउमा छन्।

प्रतिघण्टा १४० किलोमिटरको गतिमा बलिङ गर्न सक्ने क्षमताका कारण सोमपाल कामीले गुल्मी एक्सप्रेसको उपमा कमाएका छन्। तैपनि, उनलाई अझै पनि कतिपयले थर फेर्ने सुझाव दिन छाडेका छैनन्।

यसै साता कीर्तिपुरको क्रिकेट मैदानमा भेटिएका सोमपालले भने, ‘नामभन्दा पनि काम ठूलो कुरा हो। म काममा विश्वास गर्छु, नाममा होइन।’

सोमपाल हरेक व्यक्ति नामले होइन, कामले चिनिऊन् भन्ने चाहना राख्छन्। आफूले नागरिकतामा कामी लेख्दा र कामीकै रुपमा चिनिन चाहँदा अरुलाई अस्भाविक नलागोस् भन्ने पनि उनको चाहना छ। तर, अझै पनि उनलाई कतिपय मानिसहरू त्यही प्रश्न गरिरहेका हुन्छन् – कामी नै किन?

आफूलाई कामी नै किन भनी प्रश्न सोध्नेहरूलाई सोमपाल आफ्नो हातमा रहेको बल देखाउँदै भन्छन्, ‘मेरो थर थापा, खड्का वा विश्वकर्मा नै लेखेको भए पनि मैले गर्ने भनेको यही बल फ्याँक्ने हो।’

कतिपयले ‘कामी नै किन’ भनेर सोधे पनि धेरैले आफूलाई कामीकै रुपमा माया गरेकोमा भने उनी सन्तुष्ट छन्। 

जब उनी विकेट लिन्छन्, दर्शकहरू चिच्याउँदै भन्छन् – सोमपाल कामी, क्या दामी ! त्यो बेला उनी आफ्नो पहिचानमा गौरव गर्छन्।

उनी भन्छन्, ‘मैले मेरो थर कामी नलेखेको भए सोमपाल कामी, क्या दामी भनेको सुन्न कहाँ पाउँथे र?’

 Published Date: Saturday, 7th September 07:41:13 AM