शुक्रबार, असोज ९, २०७७

सामाजिक सञ्जालमा महिलामाथि प्रहार किन ? 

कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहले १२ असारमा सामाजिक सञ्जाल इन्स्टाग्राम लाइभमार्फत ‘आफूमाथि दुर्व्यवहार भएको’ बताइन्। 

त्यसमा विभिन्न प्रतिक्रिया आएपछि उनले अर्को भिडियोमार्फत ‘जापानस्थित एक कार्यक्रममा आफ्नो बुबाको उमेरका पुरुषले दुर्व्यवहार गरेको’ उल्लेख गरिन्। १७ वर्षको उमेरमा आफूमाथि भएको दुर्व्यवहारको सामना गर्न सल्लाह माग्दा ‘चलचित्र जगतबाटै बाइकट हुनुपर्ने’ कुरा सुन्नुपरेको उनले बताएकी छिन्। 

भर्खरै कलाकार तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा महानायकका विषयमा दिइएको अभिव्यक्तिले सामाजिक सञ्जाल तातिएको छ। टेलिभिजनमा अन्तर्वार्ताका क्रममा दीपाले ‘राजेश हमालदाइ मात्र महानायक हुनुभयो, चलचित्र निर्माण गर्नेहरू महानायक भएनन् ?’ भनेपछि विवाद चर्किएको हो।

राजेश हमालले चलचित्र जगतलाई हाक्नुपर्ने तर त्यसो नभएको दीपाको तर्क थियो । त्यसपछि हमालका प्रशंसक दीपाविरुद्ध जाइलागे। दीपाको कलाकारिताको यात्रा, सुरुवाती समय, शारीरिक बनोट, यहाँसम्म कि उनको चरित्रलाई समेत जोडेर सामाजिक सञ्जालमा उनीविरुद्ध खनिए। सामाजिक सञ्जालमा आफूलाई मनपरी गाली गरेपछि उनले फेसबुकबाटै माफी पनि मागिन्। 

गत वर्ष कलाकार शिल्पा पोखरेलले ‘आफूमाथि श्रीमान् छवि ओझाले घरेलु हिंसा गरेको’ खुलासा गरेकी थिइन्। ‘छविले आफूलाई कानको जाली फुट्ने गरी हानेको’ भन्दै प्रहरीमा उजुरी गरेकी उनले सामाजिक सञ्जालमा अनेक तर्क सुन्नुपर्यो। पुरुषवाद प्रवृत्तिले उनको कुरा पत्याएन।

उनको विवाह राजीखुसी भएको थियो, उनले विवाहपछिका असमझदारी अभिव्यक्त गरेकी थिइन्। तर सामाजिक सञ्जालमा उनको चरित्रमा प्रश्न गरियो। ‘उनले सम्पती हेरेर र फिल्म खेल्नकै लागि विवाह गरेको’जस्तो तर्क गरियो । 

‘नेपाली समाजको पितृसत्तात्मक चिन्तन शैक्षिक स्तरले मात्रै बदलिँदैन। यसमा बेग्लै चेतना आवश्यक छ। महिलाले दिएको कुनै विचारलाई लिएर सामाजिक सञ्जालमार्फत पढे–लेखेकाले जसरी प्रतिक्रिया जनाउँछन्, त्यसमा पुरुषवादी दम्भ छर्लंग देखिन्छ।’

कलाकार रिमा विश्वकर्माले सामाजिक सञ्जालमार्फत ‘आफूले कालो चिया बनाउन सिकेको’ बताइन्। त्यसलाई ‘कालो चिया काण्ड’ नाम दिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले रिमाको विरोध मात्र गरेनन्, बरु उनको विगतको सम्बन्धविच्छेद र जातलाई समेत जोडेर चरित्रहत्या गर्न खोजेको देखियो। 

माथिका केही उदाहरण मात्र हुन्। महिलाले कुनै विषयमा आफ्नो विचार राखे सामाजिक सञ्जालका कमेन्टले झन् थिलथिलो बनाउने प्रवृत्ति व्याप्त छ। 

सञ्चार गृहमा होस् वा चलचित्र जगत्, अन्य निजी संस्थान होस् वा सरकारी कार्यालयमा नै किन नहोस्, महिलाले आफूमाथि भएका हिंसाको विषयमा बोल्दा वा कुनै विषयमा आफ्नो विचार राख्दा चरित्रसँग जोडेर एक्लो बनाउने प्रवृत्ति अझै कायम रहेको बताउँछिन्, कलाकार दिया मास्के। महिलालाई अविश्वासको पात्र बनाएको समाजले महिलामाथि भएको हिंसाको प्रमाण खोज्नु नै मूर्खतापूर्ण रहेको उनको भनाइ छ।

‘जब एउटी महिला हिम्मत गरेर आफ्नो दबेको आवाज बाहिर प्रस्तुत गर्न चाहन्छे, त्यहीबेला सारा समाज उसको घाँटी थिच्न तयार हुन्छ,’ उनले भनिन् । उनका अनुसार महिलाले दिएका अभिव्यक्तिलाई लिएर साइबरबुलिङ, अनलाइन ह्यारेसमेन्ट र विद्युतीय सञ्चारमाध्यमको प्रयोग गरी अश्लील र मिथ्या कन्टेन्ट बनाउने प्रतिस्पर्धा नै चलेको छ। ‘एकपटक सुटिङका क्रममा सेटमा काम गर्ने बहिनीहरूमाथि दुर्व्यवहार भयो, त्यसविरुद्ध बोल्दा सारा फिल्म सुटिङ युनिटले मलाई एक्लाएको थियो,’ उनले भनिन् । 

समय परिवर्तनसँगै चलचित्रको आयाम फेरिए होलान्, तर महिलालाई दुर्व्यवहार गर्ने मानसिकता कहिल्यै परिवर्तन हुन नसकेको उनको भनाइ छ। ‘कुनै पनि विषयमा सहमत या असहमत हुन पाइन्छ, व्यक्तिगत अभिव्यक्ति दिन पाइन्छ,’ उनी भन्छिन्, ‘तर सबै भीडकोपछि दौडन खोज्छन्, जहाँ भीडको पछाडि नलाग्ने, भीडभन्दा फरक हुने एक्लिनुपर्ने तितो यथार्थ छ।’ 

आफूमाथि भएको उत्पीडनविरुद्ध आवाज उठाउनुपर्ने बताउँछिन्, कलाकार सरिता लामिछाने। बोल्न पाउने स्वतन्त्रता र बाँच्न पाउने नैसर्गिक अधिकारको सही सदुपयोग गर्दै आफूमाथि भएको दुर्व्यवहारको प्रतिक्रिया दिनुपर्ने उनी बताउँछिन्। ‘जुनसुकै क्षेत्रमा महिलाले आफूलाई मन नपरेको व्यवहार र विषयमा प्रतिवाद गर्नुपर्छ,’ उनी भन्छिन्, ‘पछिल्लो पुस्तालाई सहनुपर्ने बाध्यता छैन।’

एकपटक गाडी पार्किङ शुल्क तिर्दा पैसा लिने पुरुषले आफ्नो हात नराम्रोसँग समातेको अनुभव उनले गरिन्। उनले तुरुन्तै विरोध जनाइन्। उक्त पुरुषले हात जोडेर माफी माग्यो । उनी भन्छिन्, ‘तर यो घटनाले मनमा कैयौं सवाल खडा गर्यो।’ एकाध आत्मनिर्भर महिला जो पढे–लेखेका छन्, हिंसा र उत्पीडनबारे आवाज उठाउँछन्, उनीहरू पनि पुरुष चिन्तनले विक्षिप्त हुनुपर्ने डरलाग्दो अवस्था रहेको उनको भनाइ छ।

‘नेपाली समाजको पितृसत्तात्मक चिन्तन शैक्षिक स्तरले मात्रै बदलिँदैन,’ उनी भन्छिन्, ‘यसमा बेग्लै चेतना आवश्यक छ। महिलाले दिएको कुनै विचारलाई लिएर सामाजिक सञ्जालमार्फत पढे–लेखेकाले जसरी प्रतिक्रिया जनाउँछन्, त्यसमा पुरुषवादी दम्भ छर्लंग देखिन्छ। सामाजिक सञ्जालमा महिलामाथि जसरी निच किसिमका प्रहार गरिन्छ, मैले त हेर्नै सक्दिनँ।’ 

कलाकार उषा रजक महिला आफैँमा कमजोर नहुने तर समाजका थोत्रा मूल्य–मान्यता देखाएर उसलाई कमजोर बनाइने बताउँछिन्। ‘महिलाले बोलेको, टिप्पणी गरेको विषयमा आएका नकारात्मक टीका–टिप्पणीले नेपाली साक्षर समाजको चरित्र दर्शाउँछ,’ उनी भन्छिन्, ‘महिलाले बोलेका विषयलाई हलुका रूपले लिनु नै महिलालाई कमजोर ठान्नु र तुल्याउनु हो।’ 

महिलालाई दोस्रो दर्जाको ठान्ने र बनाउने समाजले उसलाई हाँसोको पात्र बनाउनु, उसको चरित्रमा प्रश्न उठाउनु नौलो नभएको उनको भनाइ छ। ‘यस्तो प्रवृत्ति युगौँदेखिको हो,’ उनी भन्छिन्, ‘सीता, द्रौपदी हुँदै यो कलियुगसम्म आइपुग्दा तरिका र माध्यम फरक भएको हो, सोच उही छ। आज पनि समाजमा महिलाको अधिकार नबुझ्ने, महिलाको नेतृत्व स्वीकार्न नसक्ने, महिलालाई सम्मान दिन नचाहनेको संख्या धेरै छ। त्यही कुण्ठा सामाजिक सञ्जालमा देखिन्छ।’

महिलालाई असफल र कमजोर साबित गर्न चरित्रसँग जोडेर निच देखाउने प्रवृत्ति पुरानै रहेको उनको भनाइ छ। 

सामाजिक सञ्जालको कमेन्ट बक्समा समाजको चेतनास्तर स्पष्टसँग देख्न सकिने बताउँछिन्, कलाकार सुरक्षा पन्त । महिलाले हिंसाको विषयमा आवाज उठाउँदा आवाज दबाउने मात्र नभएर भविष्य नै तहसनहस पारिदिने प्रवृत्ति पितृसत्तात्मक चेतको उपज रहेको उनको बुझाइ छ । 

महिलाले आफूमाथि परेको हिंसाको विषयमा बोल्दा उसको पक्षमा भन्दा विपक्षमा धेरै हुने र त्यो विषय त्यहीँ मर्ने उनी बताउँछिन् । ‘हिंसा, दुर्व्यवहार भनेको महसुस हो, कति पुरुषले चाहेर पनि महसुस गर्न सक्दैनन्,’ उनले भनिन् । 

सामाजिक सञ्जालमा नचाहिने, गलत, तुच्छ प्रतिक्रियाको सिकार महिला नै किन ? 

उनी भन्छिन्, ‘यस विषयमा बहस हुनुपर्छ ।’  सामाजिक सञ्जाल एक मैदानजस्तै र त्यहाँ महिलाहरूलाई भकुण्डोजस्तै बनाइएको उनले बताइन् । संवेदनशीलता भन्ने शब्द पनि लोप हुन लागेकामा उनलाई चिन्ता छ । ‘सामाजिक सञ्जालमा महिला पात्रलाई मनोरञ्जनका रुपमा प्रयोग गरिने विषयमा पुरुषहरूसँग नै स्वस्थ बहस हुनुपर्छ,’ उनी भन्छिन्, ‘पीडितको बोली नसुन्नु पनि थप पीडा दिनु हो ।’ 
 

 Published Date: Monday, 3rd August 2020 7:44:13 am