शनिबार, साउन ४, २०७६

सत्यमोहन जाेशीलाई संस्कृतिविद् बनाउने सिञ्जाखोलाको त्यो कठोर यात्रा

शताब्दि पुरुष सत्यमोहन जोशी उमेरले आजदेखि (वैशाख ३०) सय वर्ष लाग्दै छन्। नेपाली संस्कृतिको जर्गेनामा सिङ्गो जिन्दगी खर्चिएका सत्यमोहनको स्मृतिमा रमाउन हामी पाटनको बखुम्बहालस्थित उनको जन्मघर पुगेथ्यौँ। पहिलो भेटमा कुरा गर्दागर्दै बाँकी अर्को दिन गर्ने वचन पाएपछि हामी फर्केका थियौँ। 

दोस्रो पटक पुग्दा मैले सोधेँ, ‘नेपाली संस्कृति भनेको के हो?’ 

प्रश्नले उनी झर्किए। प्रतिप्रश्न गरे, ‘तपाईंलाई किन परिभाषा चाहियो? यसमा काम गर्नुस् न!’ 

तत्कालै उनले सदाशयता देखाए। र, भने, ‘मैले पनि त्यो बेला तीन साता हिँडेर जुम्ला पुगेपछि मात्र संस्कृति बुझेको हुँ ।’

उनी फेरि आफ्नो ५० वर्ष पुरानो कठोर यात्रामै फर्के। ‘दुःख त कति हो कति ! तर इच्छाशक्तिको अगाडि भौतिक दुःख हार्दो रहेछ,’ उनी आफ्नो स्मृतिमा रोमाञ्चित थिए। 

०२६ सालको चैतमा काठमाडौंबाट हिँडेका जोशी ०२७ साल बैशाखमा जुम्ला पुगेका थिए। उनलाई गते, बार केही थाहा छैन। उनले सम्झे, ‘त्यहाँ हामी कर्णाली अञ्चलाधीश बद्रीविक्रम थापाकोमा पुग्यौँ। हामीले काठमाडौंबाट आएका हौं भन्यौँ।’

थापाको प्रश्न थियो, ‘किन आउनुभयो?’  मैले बताएँ, ‘यसरी यसरी आयौँ भनेँ ।’ उहाँले भन्नुभयो, ‘ओहो दुःख पाउनुभयो ।’ 

उहाँले झन् थप्नुभयो, ‘अब तपाईंले अलिकति पैसा पनि लिएर आउनुभएको होला। त्यो पनि स्वाहा गर्नुहुन्छ? ‘गयो डोटी, खायो रोटी । फर्किंदा धोती न टोपी’ उहाँले उखानै पो सुनाउनुभयो।  उहाँको कुराले एकपटक झस्किएँ ।’

सत्यमोहन जोशीले कर्णालीको लोक संस्कृतिको अध्ययनपछि पाँच खण्डमा प्रकाशित गरेका पुस्तकहरू । तस्वीरः मनीषा अवस्थी

अञ्चलाधीश थापाले सत्यमोहनलाई सघाउने वचन दिए, ‘एक–दुई दिन यहीँ बस्नुस्। बाँकी सिञ्जाखोलासम्मको बाटो देखाउन एक जना मान्छे दिन्छु।’

सत्यमोहन दुई दिन त्यहीँ बसे। त्यसपछि अञ्चलाधीशले पठाएको मान्छेको सहारामा हिँडे।

सत्यमोहनले ५० वर्षअघि नेपालकै पहिलो ठूलो संस्कृति अनुसन्धानबारे सुनाउँदै गए। ‘त्यो बाटोमा हिँड्दा म आफैँ हतोत्साहित थिएँ । सँगै लगेका मान्छेको चित्त पनि बुझाउनुपर्‍याे। मैले अनुनयविनय गरेर टिमलाई बाटोबाटै मजबुत बनाएर सिञ्जाखाेला उपत्यकामा पुगेँ’, सत्यमोहन जोशीले सम्झे, ‘हामी पुग्नेबित्तिकै त्यहाँका मान्छेले हामीलाई छामछुम गरिहाले। को हुन्, कति पैसा ल्याएका छन्, के गर्छन् भनेर सोधपुछ गर्न थाले।त्यहाँ बस्दै, कुरा गर्दै जाँदा यी अड्डाका मान्छे वा गोर्खे भए पनि अलि फरक हुन् भन्ने बुझे। त्यसपछि त उनीहरूकै खाना र सहयोगमा त्यहाँ बसेर सर्वेक्षण गर्यौँ।’

त्यहाँ दुई महिना बसे। निधार खुम्च्याउँदै उनले भने, ‘त्यहीँ दुई महिनाले मलाई संस्कृति सिकायो। संस्कृतिको परिभाषा सिकायो र बल्ल मैले संस्कृति बुझेँ। त्यसअघि मैले किताब लेखेँ, कल्चरको विषयमा बोलेँ तर हाम्रोनिम्ति संस्कृतिको परिभाषा थिएन।’

जुम्लाको सिञ्जा खोला उपत्यकालाई नै अहिले नेपाली (खस) भाषाको उद्गम स्थल भनिन्छ। सत्यमोहन जोशीले त्यहीँ  गएर अनुसन्धान गर्न राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रस्ताव हालेका थिए। सुरुमा त त्यो ‘पर्पोजल’ पारितै भएन तर उनले अडान राखे। पास गराउन धेरै पटक धाए। उनीमाथि उल्टै पटक–पटक प्रश्न उठाइयो, ‘तपाईं सर्वज्ञ होइन। त्यहाँ गएर गर्नु चाहिँ के हुन्छ?’ सत्यमोहन सम्झन्छन्, ‘तर मैले पटक–पटक जिद्दी गरिरहेँ। त्यो पास भयो ।’

याे पनि

सत्यमोहन जोशीको जिन्दगी बदल्ने त्यो जुरेली चरी

प्रस्ताव स्वीकृत भए आफूले त्यहाँ गएर के गर्ने भन्ने उनलाई नै थाहा थिएन। उले भने, ‘खासमा मलाई केही आउँथेन। मैले पनि दुःख पाउँछु भन्ने त लाग्यो। त्यसपछि विभिन्न क्षेत्रमा लागेका मान्छे खोज्न थालेँ। एकेडेमीमा त त्यस्तो मान्छे नै थिएन।’ 

त्यसपछि उनले गृह मन्त्रालय गएर भने– पञ्चायती प्रशिक्षण केन्द्र, बिर्तामोड (झापा) मा समाज अध्ययन गरेको मान्छे छ रे, त्यो मान्छेलाई काजमा खटाइदिनुभयो भने मेरो योजना सफल हुन्थ्यो। मैले यस्तो योजना बनाएको छु। त्यसपछि मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठलाई काजमा पठाइदिए। उनी आएपछि म अलि ढुक्क भएँ।’

त्यसपछि सत्यमोहन जोशी योजना आयोगमा गए। उनले सम्झे, ‘योजना आयोगलाई पनि कल्चर चाहिन्छ। ‘केस स्टडी’ त्यसलाई नमुनाका रुपमा लिन पाए योजना बनाउन सजिलो हुन्छ भनेँ। योजना आयोग पनि सिञ्जाखोलाको अध्ययन गर्न तयार भयो। त्यसमा पनि भूगोल अध्ययन गर्न उनीहरू तयार भए। भूगोलविद् स्थिरजंगबहादुर सिंहलाई खटाउन तयार भए।’ 

त्यसपछि सत्यमोहनको खुशीको सीमा रहेन। ५० वर्षपछि सम्झँदा पनि खुशी हुँदै उनले भने, ‘म उत्साहित भएँ र त्रिभुवन विश्वविद्यालयको नेपाली विभागमा गएँ। मेरो योजना सुनाएँ। नेपाली भाषिकाहरूको अध्ययनका लागि तयार भएँ। डा. चुडामणि बन्धुलाई खटाइयो। त्यसपछि मैले एक जना खोजेँ। त्यो बेला गीतहरू गाउने, गीत लेख्ने पनि एक जना व्यक्ति थिए प्रदीप रिमाल थिए । उनलाई पनि लिएर गएँ।’ 

त्यसपछि झन् संघर्षको कथा सुरु भयो। सत्यमोहनले ‘हिस्टोरिकल इम्प्याक्ट अन कल्चर’ डिल गरे। मल्ल राजाहरूको प्रभावलगायतका विषयमा त्यहाँका सुवर्णपत्रहरूलाई एक एक उतारे, सत्यमोहनले। उनी सम्झन्छन्, ‘जियोग्राफिकल इम्प्याक्ट अन कल्चर स्थिर जंगबहादुर सिंहले गरे। त्यहाँको हावापानी चराचुरुङ्गी, खेतीपाती सबैको अध्ययन गरे। त्यसले त्यहाँको लोकजीवनमा के प्रभाव पार्छ सबै उनले अध्ययन गरे। त्यहाँका घरमा झ्यालै थिएन।’ 

सत्यमोहनले भने, ‘अनि एन्थ्रोपोलोजिष्ट बिहारीकृष्ण श्रेष्ठले चाहिँ जन्मदेखि मृत्युसम्म त्यहाँका मान्छेले कसरी जीवनयापन गर्छन्, के–के जीवन संस्कारहरू गर्छन्। सोसियो इकोनोमिक इम्प्याक्ट अन कल्चर भनेर अध्ययन गरे।’ 

‘अनि भाषाको अवस्था के हो ? सुरुवाती भाषा कस्तो थियो? अहिलेको अवस्था कस्तो छ?  त्यो दुइटा कसरी जोडिन्छ ? अनि राष्ट्रिय भाषासँग कसरी जोडियो? यो कुराबारे लिङ्गुइष्टिक इम्प्याक्ट इन कलचरबारे डा. चुडामणि बन्धुले अध्ययन गरे’, उनले भने। 

सत्यमोहनले सविस्तार बताउँदै गए, ‘प्रदीप रिमालले त्यहाँको मष्टो सम्प्रदायको अध्ययन गरे। त्यो समुदायमा खासगरी धामी नै सर्वेसर्वा हुँदोरहेछ। त्यहाँ मात्रै होइन, कर्णालीपारि सेती महाकालीमा पनि मष्टो समुदाय छ।  यहाँका वर्णवादी समुदाय सबैको कूल देउता खोज्दै जाँदा मष्टो नै हुन्छ।  सर्वोच्चको फैसलालाई पनि उल्ट्याउने हुन्छ धामी त्यहाँ। सबै कुरा धामीलाई सोधिन्छ। हो त्यसको अध्ययन, त्यहाँ लोक गीत लगायतका विषय फोफ्लोरिष्टले नै गरेर हामीले पाँचवटा भोल्युम तयार गर्‍याैँ।’ 

त्यो ठाउँमा २ महिना बस्यो सत्यमोहनसहितको टीम। त्यहाँको लोकजीवनलाई सर्वेक्षण गरेर ल्याए। उनले भने, ‘त्यसपछि मात्रै मैले संस्कृतिको परिभाषा बुझेको छु। संस्कृतिले नै सबैखाले प्रभाव पार्ने रहेछ। संस्कृतिमा इतिहासको प्रभाव, प्राणीशास्त्र तथा प्राकृतिक प्रभाव, संस्कृतिमा सामाजिक तथा आर्थिक प्रभाव र संस्कृतिमा भाषाको प्रभाव पर्ने रहेछ। त्यसपछि मात्रै मेरो लागि संस्कृतिको परिभाषा फेरिएको हो।’

यत्तिका मेहनतपछि एक शताब्दी लामो दीर्घ जीवन संस्कृति संरक्षणमा लगाएका सत्यमोहन जोशीले लामो बसाइको अन्त्यमा संस्कृतिको परिभाषा दिए आम मानिसले बुझ्ने गरी। उनले भने, ‘संस्कृति भनेको परिस्कृत जीवन।  हामी जे–जे गर्छाैँ, त्यही हो संस्कृति। अथवा, जन्मेदेखि मृत्युसम्म एउटा मानिसले जे–जे गर्छ त्यही हो संस्कृति।’

 

 Published Date: Monday, 13th May 07:19:23 AM