बिहीबार, असार २५, २०७७

‘छुवाछुतमुक्त नेपाल’ को भ्रम

लगभग एक वर्षअघिको कुरा हो। दलितसम्बन्धी काम गर्ने एउटा संस्थाले कार्यपत्र प्रस्तुत गर्न अनुरोध गरेको थियो। समय थोरै थियो र पनि नाई भन्न सकिएन किनकि मनमा सधैँ दलितको अधिकारका लागि केही गर्न नसकिएकोमा आफैँप्रति रिस उठिरहेको हुन्थ्यो। 

कार्यपत्रको टिप्पणीकर्ताका रुपमा एक जना हिन्दू जात व्यवस्थाका जन्मजात पवित्र विद्वानलाई बोलाइएको रहेछ। जातै माथिल्लो झन् त्यसमाथि औपचारिक (मानवीय हैन) शिक्षा पनि सबैभन्दा माथिको भएपछि के चाहियो र। छुवाछुत सम्बन्धी मेरा तर्कलाई टिप्पणीका क्रममा उनी कमजोर बनाउँदै थिए।

भन्दै थिए– छुवाछुत दलितभित्र मात्र छैन। ब्रामणभित्र पनि खाना खाने चुलामा, महिलाहरु रजश्वला भएको बेलामा अनि मृत्यु संस्कार अन्तर्गत किरियापुत्री बस्दामा छुवाछुतको चलन छ। प्राज्ञिक कार्यक्रममा टिप्पणीको प्रतिटिप्पणी गर्ने खासमा मेरो संस्कार हैन तर त्यो दिन चुप लागेर बस्न सकिएन। साथमा, कार्यक्रमका सहभागीले पनि उनले प्रस्तुत गरेको तर्कको खण्डन गरेपछि उनी आफ्नो छुवाछुत सम्बन्धीका पूर्ववतः धारणालाई सच्चाउन सहमत भए। 

जेठ २१ गते अर्थात आज ‘राष्ट्रिय छुवाछुतमुक्त दिवस’ का दिन म उनै सवर्ण विद्वानलाई सम्झिरहेको छु। के साँच्चिकै आफ्ना धारणासँगै उनले व्यवहार पनि सच्चाए होलान् त ? यो प्रश्न आज पनि संसारभरका हिन्दू जनसंख्या भएका देशमा सबैभन्दा बढी उत्पीडनमा परेका दलितले गरिरहेका छन् तर आफूलाई, आफूले नै लेखेको धर्मले, चलाएको सत्ताले अनि बसालेको संस्कारले उच्च जात बनएकाहरुले आज पर्यन्त दिने आँट गरेका छैनन्।

२०६३ जेठ २१ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले नेपाललाई ’छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरेको थियो। सरकारले यो दिनलाई २०६८ सालदेखि हरेक वर्ष ’छुवाछुतमुक्त दिवस’का रूपमा मनाउँदै आएको छ। त्यसैगरी सरकारले २०६८ जेठ १८ गतेदेखि लागू हुनेगरी ’जातीय भेदभाद तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८’ कार्यान्वयनमा ल्यायो। 

तर, एक तथ्यांक अनुसार २०६८ देखि २०७६ सालसम्म अन्तरजातीय विवाह र जातीय विभेदका कारण २५ जना दलितले ज्यान गुमाइसकेका छन्। २०६८ साल भदौमा दैलेखका सेते दमाईलाई गैरदलितको समूहले छातीमा खुकुरी प्रहार गरेर हत्या गर्‍यो। त्यस घटनामा पूरा गाउँ नै दलित परिवारमाथि आक्रमणमा उत्रिएको थियो।

त्यस्तैगरी, २०६९ साल असारमा धादिङको मूलखर्कमा एक दलित युवकले सुवेदी थरकी युवतीसँग प्रेमविवाह गरेपछि गैरदलितले सिंगो दलितबस्तीमाथि नै आक्रमण गरेका थिए जसका कारण दलितबस्ती नै सो स्थानबाट  विस्थापित हुन पुगेको थियो। माथि उल्लेखित जातीय हिंसाका मूल कारणमा जातीय विभेदमध्ये पनि सबैभन्दा क्रुर र अमानवीय छुवाछुत रहेको छ। यीबाहेक तथ्यांकमा नआएका र समाचार बन्न नसकेका जातीय विभेदका अन्य घटनाहरु पनि धेरै छन्।

पछिल्लो समय गएको जेठ १० गते रुकुम पश्चिम चौरजहारी–८ सोतीमा घटेको घटनाले प्रष्ट पारेको छ, नेपाली समाजमा रहेका तथाकथित छुतहरु अछुतहरुलाई छुनुभन्दा मार्नुलाई नै आफ्नो धर्म ठान्छन्।  आफ्नो उच्च जातीय संस्कार ठान्छन् अनि बहादुरी ठान्छन्। रुकुम पश्चिमको नरशंहार गैरदलितसँग प्रेम सम्बन्ध राख्दा मात्र पनि गैरदलित समुदायबाट दलित समुदायमाथि हुने हत्या, अपमान र क्रुर उच्च जातीय बर्बर यातनाको प्रतिनिधि घटना हो।

यो एक व्यक्ति र अर्को व्यक्तिबीचको सम्बन्धको कुरा मात्र होइन। यो त दलित समुदायमाथि समाजको अहंकारयुक्त व्यवहार, दलितप्रति राज्यको ऐतिहासिक दृष्टिकोण र संवेदनहीनताको पराकाष्टा पनि हो। नेपालको राजनीतिक इतिहासमा दलित समुदायले हरेक राजनीतिक आन्दोलनमा साथ दिए। यथोचित सहयोग गरे। आजसम्म भएका सबै निर्वाचनमा आफ्ना आवाज बोल्नेलाई नै मतदान पनि गरे। तर, ठूला–ठूला राजनीतिक परिवर्तन भए पनि सांस्कृतिक र सामाजि करुपमा राज्यको चरित्रमा परिवर्तन हुन सकेन जसका कारण आज पनि दलितहरु छुवाछुत जस्तो अमानवीय विभेद सहन बाध्य छन्।

दुःख त त्यतिबेला हुनेरहेछ जतिबेला विगतमा ठूल्ठूला सामाजिक परिवर्तन र राजनीतिक क्रान्तिका कुरा गरेर आएका नेपालका फुकुयामावादी–मार्क्सवादीहरुले पनि धर्मको आडमा मनुले कल्पना गरेको र जयस्थिति मल्ल हुँदै जंगबहादुर राणाले स्थापित गरेको जातिवादी राज्य व्यवस्थामा नै आफ्ना राजनीतिक अभिष्टहरु पूरा गर्न अभ्यस्त हुन थाल्छन्।

हिन्दू धर्मभित्रको जटिल जात व्यवस्थालाई कमजोर बनाउन र सामान्यकरण गर्न केही हिन्दूवादी धर्मवीरहरु पोर्चुगिज जरा भएको ‘काष्ट’ शब्द हिन्दू समाजको नभएको र जात सम्बन्धी उच–निच व्यवस्था हिन्दूहरुले नभई औपनिवेषिक भारतमा ‘फुटाउ र राज गर’ भन्ने सिद्धान्तका आधारमा बेलायती औपनिवेशिक शासकले लादेको कुरा गर्छन्। 

तर, यसो भनिरहँदा उनीहरु हिन्दू धर्मभित्र रहेका तमाम महिला र दलित विरोधी अवधारणा र व्यवस्थालाई परिवर्तन गर्ने न्यायोचित पहल कदमी उठाउने प्रयाससम्म पनि गर्दैनन्। नेपालमा चलिरहेको हिन्दू जात व्यवस्था तत्कालीन मनुवादी भारतबाट आयातित, त्यसपछिका भारतीय अहंकारी ब्राह्मणहरुबाट संरक्षित र हालको हिन्दू मोदीवादी फाँसीवादबाट प्रभावित छ भन्ने कुरामा कुनै दुविधा छैन। हिन्दू जातीय राज्यले सत्तालाई इश्वरीय देन मान्छ र सत्तामाथिको अधिकारलाई खास जातिको धार्मिक विधान मान्छ। धर्म जोगाउने ब्राह्मण र ब्राह्मण जोगाउने क्षेत्रीमात्रै राज–काजको मुख्य हिस्सा मान्छ र बाँकी सबैलाई कुनै न कुनै हिसाबको विभेद र अपमान गरिरहन्छ।

यहाँनिर आएर हिन्दू धर्म र जात व्यवस्थाको सवालमा स्वतन्त्र भारत अभियानका दुई महान नेतृत्व, महात्मा गान्धी र बाबासाहेब भिम राव अम्बेडकरको चर्चा गर्नु उपयुक्त होला। हिन्दू धर्मभित्रको जात व्यवस्थाको विषयमा यी दुवै सारै चिन्तित थिए। तर, त्यो चिन्ताको निराकरण गर्ने उपाय भने दुवैको  फरक थियो। महात्मा गान्धी जात व्यवस्था हैन जातीय विभेद हटाउन पर्छ भन्ने गर्थे। तर, बाबासहेब अम्बेडकर समग्र जात व्यवस्थाकै अन्त्य चाहन्थे।

जात व्यवस्थाको अन्त्य गर्नुपर्ने कारणसहितका उनका विचारको भाषण यति बौद्विक र वैज्ञानिक थिए कि जुन सन् १९३६ मा ’एनिहिलेशन अफ काष्ट’ पुस्तकका रुपमा प्रकाशित भयो। अम्बेडकर भन्ने गर्थे– भारतलाई बेलायती उपनिवेशबाट स्वतन्त्र बनाइरहँदा भारतीय दलितलाई हिन्दू ब्राह्मणवादी जात व्यवस्थाबाट पनि स्वतन्त्र बनाउन उत्तिकै आवश्यक छ। अन्यथा, दलितका लागि साँचो अर्थको स्वतन्त्रता आउने छैन र तमाम दलितहरु जात व्यवस्थाभित्र नै दास भएर रहन बाध्य हुनेछन्।

गान्धी भन्ने गर्थे– यदि हिन्दू धर्मभित्रको जातीय विभेदलाई (जात व्यवस्थालाई हैन) अन्त्य नगर्ने हो भने अन्ततः यसले हिन्दू धर्मलाई नै सखाप पार्नेछ। 
अम्बेडकरलाई सुन्ने र बुझ्ने शाहस त कथित उच्च जातका अहंकारीलाई विल्कुलै छैन कमसेकम महात्मा गान्धीलाई मात्र सुने पनि जातीय अहंकार र घमण्ड कम हुने थियो र दलितहरु छुवाछुत जस्तो क्रुरताबाट पीडित हुनुपर्ने थिएन। तर, अहिले पनि मोदी अतिहिन्दूवादी भारत र ढोग माक्र्सवादी नेपालले त्यो गर्ने छनक देखिँदैन।

अन्त्यमा,

दलितमाथि गरिने हिंसा र उत्पीडन कुनै नयाँ कुरा होइन। यो एउटा ऐतिहासिक सत्य हो। रुकुम पश्चिमको घटनाले ऐतिहासिक रुपमा दलितमाथि भइरहेको छुवाछुत लगायतका विभेद भेरी नदी जत्तिकै लामो र गहिरो छ भन्ने बोध फेरि एक पटक गराएको छ।

‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा बोकेको वर्तमान नेपाली समाजमा दलितविरुद्ध व्याप्त  हिंसा र अत्याचारलाई सतहमा ल्याइदिएको छ। यसको मतलव गएका केही दशकमा जतिसुकै ठूला राजनीतिक परिवर्तन भए पनि नेपाली समाजको समन्ती संस्कार र संरचनामा अझै पनि तात्विक भिन्नता आएको छैन भन्ने नै हो।

र, उच्च जातीय अहंकारले ग्रसित नेपाली समाज अझै ’छुवाछुतमुक्त’ भएको छैन। 
 

 Published Date: Wednesday, 3rd June 10:48:17 AM