आईतबार, कात्तिक १६, २०७७

‘छोरी जन्माई भनेर हेपिएकी मेरी आमाका लागि यो स्वर्ण’

काठमाडौं प्रेस

जनकपुर, मंसिर २२ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत ५५ केजी तौल समूहमा स्वर्ण जितेपछि जब संगीता धामी रुन थालिन सबैको अनुहार मलिन भयो। गुरुले सम्झाईरहे पनि धेरैवेर उनका आँसु रोकिएनन्।

जब पत्रकारले उनको आमाबुवाको नाम सोध्न खोजे, त्यसपछि उनले दिएको प्रतिक्रियाले सबै चकित परे। उनले भने, ‘बुवाको नाम नलिनुस्, यो स्वर्ण आमाका लागि हो।’

उनको यो आक्रोसभित्रै गहिरो पीडा छ। कञ्चनपुरको महेन्द्रनगरकी संगीताका बुवाले सानैमा छोडेका थिए। चार छोरी जन्मिएपछि उनका बुवा नन्दसिंह धामीले छोरा नजन्माएको भन्दै उनकी आमा धाना धामीलाई छोडे।

‘बुबाले अल्छिनी भनेर तिरस्कार गर्नुभयो। घरबाट निकाल्नु भयो,’ संगीताले स्वर्ण जितेपछि विगत कोट्याइन्, ‘बुवाले अर्को बिहे गर्नुभयो। हामी चार दिदीबहिनीलाई लिएर आमा घरबाट निस्कनुभयो।’