मंगलबार, मंसिर १६, २०७७

दाङको कुपोषित बालबालिका गृह हटाएर उपकुलपतिको निवास !

काठमाडौं, असार १५ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले दाङमा कुपोषणको सिकार बनेका बालबालिकालाई राख्ने पोषण पुर्नस्थापना गृहलाई हटाएर आफ्नो क्वाटर बनाएकी छन्।

स्वास्थ्य सेवा विभाग मातहत रहेको परिवार कल्याण महाशाखाका अनुसार उपकुलपति भण्डारीले उक्त पोषण गृह हटाएर आफ्नो क्वाटर बनाएकी हुन्। ‘पटक–पटक ताकेता पत्र पठाएर पोषण गृह नहटाउन भन्दाभन्दै उहाँले बलजफ्ती त्यहाँका कुपोषित बालबालिका हटाएर आफ्नो क्वाटर बनाउनु भयो’, महाशाखाका प्रमुख केदारराज पराजुलीले काठमाडौं प्रेससँग भने, ‘तीन महिना खान नपाएर कुपोषित भएका बच्चाको उपचार केन्द्र बन्द गरेर उपकुलपतिज्यूले क्वाटर बनाएपछि कार्यक्रमका लागि जाने सबै रकम रोकिएको छ।’

स्वास्थ्य मन्त्रालयले त्यसभेगका कुपोषणको सिकार भएका बालबालिकालाई उपचार गर्ने उद्देश्यले उक्त गृह संञ्चालन गर्दै आएको थियो। उक्त भवन एक वर्षअघि मात्रै डेढ करोड खर्च गरेर निर्माण गरिएको हो।

तर, भण्डारीले भने उक्त भवनमा उपकुलपतिको क्वाटर भएको स्वीकार गर्दै पोषण गृह बन्द गरेको नभई सारेको बताइन्। ‘पोषण गृहलाई प्रतिष्ठानकै अर्को भवनमा सारिएको छ। बन्द भएको होइन,’ उनले भनिन्, ‘कसलाई के कुरामा चित्त बुझेन, सायद कुपोषित बच्चालाई हेर्ने न्यूट्रिसियन नियुक्तिमा होला। मलाई मतलब भएन। तर, सेवा बन्द भएको छैन र महाशाखाले बजेट पनि रोकेको छैन।’

उपकुलपति भण्डारीले सेवा बन्द नगरेको दाबी गरिरहँदा महाशाखाले भने सेवा बन्द भएको भन्दै सञ्चालनका लागि ताकेता गरिएको बताएको छ।

दाङको उक्त कुपोषण गृहमा उपकुलपतिको निवास बनाइएको छ भने मुलुकका अधिकांश ति गृहहरुबाट बालबालिकालाई निकालेर कोरोनाको क्वारेन्टिन बनाइएको छ। ‘महामारीका कारण आठ पोषण पुर्नस्थापन गृह खाली गराएर क्वारेन्टिन निर्माण गरिएका छन्,’ पराजुलीले भने, ‘देशभर रहेका २१ पोषण पुर्नस्थापना गृहमध्ये आठ वटा खाली गराइएको छ।’

सरकारले ६ महिनामाथि ५ वर्ष मुनिका कुपोषित बच्चालाई पुर्नस्थापना गृहमा राखेर उपचार गर्दै आएको थियो। मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार मुख्यगरी तीन महिना पनि खान नपुग्ने समुदायका र अन्य समस्याले कुपोषित बालबालिका पोषण पुर्नस्थापना गृह राखेर सेवा दिने गरिन्छ।

‘रोजगारी नभएका, जग्गा जमिन नभएका समुदायका बच्चा कुपोषित हुने गरेका छन्। तर, अहिले कोरोनाका कारण क्वारेन्टाइन बनाउनु परेकाले उक्त सेवा लिनबाट बञ्चित गरिएको छ,’ पराजुलीले भने।

अहिले सुनाकोठी पोषण पुर्नस्थापना गृह ललितपुरमा क्वारेन्टाइन बनाउने भनेर महानगरपालिकाले खाली गराइएको छ। बाग्लुङ पोषण पुर्नस्थापना गृहलाई प्रसुती गृह बनाइएको छ। पोखरा पोषण पुर्नस्थापना गृहलाई खाली गराएर राखिएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, जनकपुर पोषण पुर्नस्थापना गृहलाई कोभिड उपचार गर्ने ठाउँ बनाउने भनेर चलाउन दिएको छैन। भेरी पोषण पुर्नस्थापना  गृहलाई कोभिडका लागि भनेर  खाली गराइएको छ। औषतमा एक बच्चा २१ दिन गृहमा बस्ने उनको भनाइ छ। प्रोटिन इनर्जी भनेर हरेक दिन चार किसिमका क्यालोरी पाइने खाना, प्रोटिन पाइने खाना, शरीरलाई सुरक्षा गर्ने खाना र फ्याटयुक्त खाना कुपोषण भएका बालबालिकालाई दिइन्छ।

देशभर रहेका २१ पुर्नस्थापना गृहमा क्षमताभन्दा धेरै बच्चा आउँदा भर्ना गर्न समस्या हुने गरेको छ। प्रत्येक पुर्नस्थापना गृहमा एक पटकमा बढीमा २० जनासम्म बच्चा भर्ना गर्ने क्षमता रहेको छ। हाल आठ गृहमा पूर्णरुपमा कुपोषित बच्चा भर्ना गर्न दिइएको छैन। मुलुकभर हाल ३० जना मात्रै कुपोषित बच्चा भर्ना छन् बाँकी ३९० जनाले सेवा पाएका छैनन्।

सरकारी तथ्यांक अनुसार ६ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिका रहेका छन्। यसमध्ये २ लाख ७० हजार बालबालिका कुपोषित छन्। प्रत्येक गृहलाई सरकारले ३० लाखका दरले प्रत्येक वर्ष बजेट दिँदै आएकोमा अहिले बढाएर ५० लाख पुर्‍याएको छ।
 

 Published Date: Monday, 29th June 2020 1:14:10 pm