शुक्रबार, कात्तिक १, २०७६

शल्यक्रियापछि स‌ंसार देख्दा डा.सन्दुक रुइतलाई अँगालो

आँखा देखेपछि डा.सन्दुक रुइतलाई अँगालाे हाल्दै रोशन। | तस्वीर:ओम आस्था राई

हेटौँडा, असार १८ : शल्यक्रिया गरेर पहिलो पटक आँखा देख्दा के गरिएला? हेटौँडाका एक बालकले पहिलो पटक आँखा देख्दा हजुरआमालाई म्वाइँ खाएका छन् भने शल्यक्रिया गर्ने चिकित्सकलाई अंगालो हालेका छन्।

हिजो मकवानपुरको हेटौँडास्थित हेटौँडा कम्युनिटी आई हस्पिटलमा ‘आउटरिच माइक्रोसर्जिकल आई क्याम्प’ राखिएको थियो। त्यहाँ हजुरआमासँगै आएका थिए, हेटौँडाको पदमपोखरीका १३ वर्षीय रोशन थिङ।

शल्यक्रिया गर्नु अघि हजुरअमासँग रोशन।

रोशनको जन्मदैदेखि आँखामा समस्या थियो। कक्षा २ मा पढ्दापढ्दै उनको आँखाको ज्योति गुम्यो। त्यसपछि उनी स्कुल पनि गएनन्।

हसमुख र धेरै बोल्ने रोशन गाउँघरमा पनि सबैका प्रिय छन्। उनी बायाँ आँखाले केही पनि देख्दैन्थ्ये भने बायाँ आँखा नजिकै लगेर मोबाइलका नम्बरसम्म थिच्थे।

घरको आर्थिक अवस्था कमजोर भएकाले राम्रो अस्पताल गएर उपचार पनि हुन सकेको थिएन। उनकी आमाको केही वर्षअघि मृत्यु भएको थियो। उनका बुवा पनि बिरामी नै छन्। हजुरआमाले उनको हेरचाह गर्दै आएकी छन्।

हिजो शिविरमा पनि उनकी हजुरआमाले नै ल्याएकी थिइन्। मोतियाबिन्दुको शल्यक्रिया गर्नु अघि चिकित्सकहरू पनि चिन्तित थिए। किनकि, मोतियाबिन्दु प्रायः उमेर ढल्केपछि हुने गर्छ। उनको भने सानैमा आँखाको ज्योति गुमेको थियो।

शल्यक्रियापछि रोशन।

डा.सन्दुक रुइत भने उनको आँखाको शल्यक्रिया सफल हुनेमा विश्वस्त देखिन्थे तर, उनलाई पनि अलिकति चिन्ता थियो। ‘देख्न त सक्छ तर, कति देख्न सक्छ, डाउट छ,’ डा.रुइतले भनेका थिए।

तैपनि हिजो उनको आँखाको शल्यक्रिया गरियो। बुधबार बिहान डा.रुइतले आँखाको पट्टी खोल्न थाले। सबैको ध्यान रोशनमै केन्द्रीत थियो।

जब उनको आँखाको पट्टी खुल्यो, उनले केही प्रतिक्रिया जनाएनन्। सोध्दा पनि ‘केही देखिनँ’ भन्ने जवाफ दिए। १५–२० सेकेन्डपछि भने देख्न थालेको बताए।

आँखाको पट्टी खोल्ने वितिक्कै केही नदेखेको बताउदै रोशन।

रोशनले विस्तारै मान्छे देख्न थाले। उनलाई हजुरआमाको आवाज थाहा थियो। उनकी हजुरआमा नजिक लगेर को हो? भनेर चिकित्सकले सोधे। ‘माम हो,’ उनले फ्याट्ट भनिहाले। उनी हजुरआमालाई माम भन्ने गर्छन्।

बोलिनसक्दै हजुरआमालाई अंगालो हाले, म्वाइँ खाए। उनी खुशीले उफ्रिए।

	आँखा देखेपछि हजुरआमालाई चुम्दै रोशन।

उनले डा.रुइतको आवाज पनि थाहा पाइसकेका थिए। किनकि, हिजोदेखि डा.रुइत उनीसँगै कुराकानी गरिरहेका थिए। डा.रुइत शल्यक्रिया गरेका अन्य व्यक्ति बसिरहेको देख्ने वितिक्कै त्यहीँ गए। उनलाई अंगालो हाले अनि मायाले सुमसुम्याउन थाले।

शल्यक्रियापछि संसार देख्ने भएर रोशन घर फर्किएका छन्। घरमा के गर्छौँ भन्ने प्रश्नमा उनले भने, ‘घर गएर मोटु पत्लु हेर्छु।’ रोशनले यसअघि मोटु पत्लु सुन्ने मात्रै गरेका थिए।

 Published Date: Wednesday, 3rd July 15:28:17 PM