बुधबार, मंसिर २५, २०७६

रोशनले रोशनी पाएको क्षण

शल्यक्रियापछि आँखा देख्न सक्ने भएर रोशन बुधबार नै हेटौँडाको पदमपोखरीस्थित आफ्नै घर फर्के। तर, आँखालाई संक्रमणबाट बचाउन अझै उनले केही दिन पट्टी लाउनुपर्छ। प्लास्टिकको प्वालबाट मात्रै हेर्न सक्छन्।

जसको नामै रोशन, उसैको जीवनमा रोशनी थिएन– आज बिहानसम्म।

हेटौँडा सामुदायिक आँखा अस्पतालमा आयोजित तीन दिने आँखा शिविरको पहिलो दिन हिजो (मंगलबार) डा. सन्दुक रूइतको टिमले झण्डै ७० जना मोतियाबिन्दु रोगीको शल्यक्रिया गरेको थियो। तिनैमध्ये एक थिए – १३ वर्षीय रोशन थिङ।

हिजो दिनभरि शल्यक्रिया गरिएका बिरामीको बुधबार बिहान आँखाको पट्टी खोल्ने कार्यक्रम थियो। सबै उत्सुक थिए, तर रोशनको विषयमा म केही चिन्तित थिएँ। किनकि, शल्यक्रियापछि रोशनले आँखा देख्न सक्नेमा कतिपय डाक्टरहरू विश्वस्त थिएनन्।

अरू बिरामीको आँखामा बुढेसकाल लागेपछि मात्रै मोतियाबिन्दु भएको थियो। एकाधबाहेक सबै बिरामीको एउटा आँखामात्रै बन्द भएको थियो। तर, रोशन जन्मिँदैखेरि राम्ररी देख्न सक्दैन थिए। उनको आँखा झन् बिग्रदै गयो र कक्षा दुईमा पुगेपछि उनी स्कूल जान पनि सकेनन्।

हिजो पटक–पटक उनको आँखाको जाँच भएको थियो। केही डाक्टरहरू रोशनले आँखा देख्नेमा ढुक्क थिएनन्। शल्यक्रियापछि पनि रोशनको समस्या उस्तै रहने हो कि भन्ने शंका तिनको थियो।

तर, जतिसुकै छिप्पिएको मोतियाबिन्दु पनि पाँच मिनेटमै झिकेर फ्याँक्न सक्ने डा. रुइत भने रोशनले फेरि आँखा देख्नमा विश्वस्त थिए। उनको चिन्ता भने अर्कै थियो – रोशनले देख्न त देख्छन्, तर धेरै टाढासम्म देख्न नसक्लान् कि!

यसैले, डा. रूइतले रोशनको पट्टी खोल्दा म डराइरहेको थिएँ। पट्टी खोलियो। रोशनले आँखा चिमचिम गर्न थाले। डा. रुइतले सोधे – उज्यालो देख्यौँ?

भिडियाे

रोशनले भने – अहँ, अँध्यारो छ, सबै कालो छ।

म खङ्ग्रङ्ग्र भएँ। हल्का ओठ सुक्यो। तर, केही क्षणपछि रोशनले भने – अँ, देखेँ....हो, देखेँ देखेँ।

डा. रुइतले पाँच औला देखाएर सोधे – यो कति हो? रोशनले सही जवाफ दिए। अनि फेरि तीन औंला देखाए। त्यसको पनि सही जवाफ आयो।

तै, मलाई विश्वास भएन। अलि पर केही नबोली मूर्तीवत् उभिइरहेकी  रोशनकी वृद्धा हजुरआमालाई देखाउँदै आफैं सोधेँ – उहाँ को हो? 

उनको मुखबाट फ्याट्ट निस्कियो – माम। त्यसपछि भने म ढुक्क भएँ। हामी सबै ढुक्क भयौँ। 

माम अर्थात् हजुरआमा। उनी हजुरआमालाई माम भन्दा रहेछन्। यिनै मामले उनलाई सानैदेखि हुर्काएकी हुन्।

उनका बाबा कामको खोजीमा भारत गएका थिए। फर्किदा पैसा ल्याएनन्। रोग ल्याए। त्यही रोग आमालाई सारे। रोशन सानै छँदा आमा बितिन्। त्यसयता बाबा पनि बिरामी नै छन्।

बाबाको स्नेह र साथ नपाएर हुँदो हो, रोशनलाई बाबाको माया लाग्दैन रे। उनको आमा भने पनि, बाबा भने पनि र संसार भने पनि यिनै माम हुन्।

रोशनले मामलाई अँगालो हाले। टाउको मुसार्दै म्वाइँ खाए। मामको आँखा पनि आँशुले भरियो। त्यसपछि उनले डा. रुइतको आवाज सुने। उनले स्वरैले चिने, मलाई आँखा दिने डाक्टर यिनै हुन्। उनी डा. रुइत भए ठाउँतिर बढ्न थाले। मलाई लाग्यो –अब रोशनले हजुरआमालाई जस्तै डा. रुइतलाई पनि म्वाइँ खान्छन्। 

योपनि: शल्यक्रियापछि स‌ंसार देख्दा डा.सन्दुक रुइतलाई अँगालो

मैले मोबाइल निकालेर भिडियो खिच्न थालेँ। नभन्दै रोशनले डा. रुइतको तालुमा म्वाइँ खाए। टाउको मुसारे। हल्का चश्मा खोलेर नजिकबाट डा. रुइतका आँखा नियाले। फेरि चश्मा लाइदिएर टाउको मुसार्न थाले। 

मेरा आँखा रसाए। हामी सबै खुशीले गद्गद् भयौँ। यस्तो दृश्य सधैं हेर्न कहाँ पाइन्छ र? 

मैले पहिलोचोटी रोशनलाई हिजो मंगलबार बिहान हेटौँडा आँखा अस्पतालको क्यान्टिनमा देखेको थिएँ। उनी घोसेमुन्टो लाएर बेञ्चमा बसिरहेका थिए। 

क्यान्टिनका दाइले रोशन बसेको टेबलमा एक गिलास दूध र एक प्याकेट बिस्कुट राखिदिए। रोशनले छामछाम छुमछुम गर्दै विस्तारै दूधको गिलास फेला भेट्टाए।  बिस्कुटको प्याकेट पनि फेला पारे। एक घुट्की दूध पिए। तर, बिस्कुटको प्याकेट खोल्न सकेनन्। छेवैमा बसेकी मामले त्यो प्याकेट खोलिदिइन्।

मैले सोधेँ – आँखा देख्न सक्ने भएपछि के गर्छौँ ?

उनले भनेको थिएँ – मोटु पात्लु हेर्छु।

उनले मोटु पात्लु कार्टुन चरित्रका स्वरमात्रै सुनेका रहेछन्। मोटु साँच्चै मोटु छन् कि नाममात्रै मोटु हुन्? पात्लु साँच्चै पातला छन् कि नाममात्रकै पातला हुन्? उनका मनमा अनेक प्रश्नहरू थिए।

उनी सानो छँदा अलिअलि आँखा देख्थे। तर, उनले त्यो बेला मोटु पात्लु हेर्न पाएका थिएनन्। रूख कस्तो हुन्छ? चरा कत्रो हुन्छ? कुकुर कसरी हिँड्छ? उनी केही सम्झिन सक्दैन थिए।

शल्यक्रिया सकिएपछि उनी अस्पताल बस्नै मानेनन्। उनलाई कतिखेर घर जाउँ, गाउँ हेरुँ र साथीभाइसँग खेलुँजस्तो भयो। उनले मामलाई तान्दै घर लगे। हामी पनि उनको पछिपछि घर गयौँ। 

तर, घरमा मोटु पात्लु हेर्ने मोबाइल थिएन। जुन साथीको मोबाइलमा कहिलेकाहीँ मोटु पात्लुको स्वर सुन्न पाउँथे, त्यो साथी स्कूल गएको थियो। गाउँमा अरू साथीहरू पनि थिएनन्। सबै स्कुल गएका थिए। 

घर शून्य थियो। आमा थिइनन्। बाबा थिएनन्। टोलमा कुनै दौतरी थिएनन्। एक बटुका उसिनेको चाउचाउ खाएपछि उनी मामसँग भन्न थाले – देख्ने भएपछि त घर कति नराम्रो, अस्पताल नै फर्कौँ!

 Published Date: Wednesday, 3rd July 19:54:30 PM