आईतबार, फागुन ११, २०७६

इन्डोनेशियाली लिगका ‘तारा’ रोहित चन्द

काठमाडौं, माघ ४ : गत वर्ष रोहित चन्दका लागि बिर्सनै नसक्ने वर्षका रुपमा रह्यो। इन्डोनेशियाको प्रतिष्ठित लिग वान एसियाकै उत्कृष्ट लिग मध्येमा पर्छ। जहाँ नेपाली मिडफिल्डर रोहित चन्द पर्सिजा जकार्ताबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। 

इन्डोनेशियाको लामो लिग सिजन सकाएर नेपाल आएका चन्द केही समय आराम गरेर फर्किएका छन्। यसपटक धेरैले उनको आगमनबारे थाहा पनि पाएनन्। चन्दको इन्डोनेशियामा चर्चा उत्कर्षमा हुने गर्छ। अझ गत वर्ष त रोहितका लागि बिशेष नै रह्यो।

आफ्नो कडा मेहनतकै कारण रोहितले बेतोड सम्मान पाइरहेका थिए। सहकर्मीहरुले काँधमा बोकेर मैदान घुमाइरहेका थिए। त्यो दृश्य कुनै फिल्मी पटकथाभन्दा कम पनि थिएन। यो कथा गत वर्ष पर्सिजाले लिग जित्दा र रोहित उत्कृष्ट खेलाडी चुनिँदा हो।  त्यो क्षण सम्झिँदै रोहित भन्छन्, ‘मैले पर्सिजामा सबैभन्दा बढी कमाएँ क्रेजी समर्थक जसले खेलाडीहरुलाई देखाउने माया सुरुको ह्विसलदेखि अन्तिम ह्विसलसम्म उही लय र उहीँ साथ।’

विदेशी भूमिमा कुनै पनि नेपाली खेलाडीले नपाएको सर्वाधिक ठूलो सम्मान पाउँदा रोहित हर्षविभोर भए। उनी सम्झन्छन्, ‘चार वर्षदेखि गरेको मेहनतको प्रतिफल पाएको महसुस भयो। अझ बढी भावनात्मक भइँदो रहेछ सम्मान पाउँदा।’ 

धेरैलाई थाहा थिएन, रोहित चन्द नेपाल आएको। अन्तरमुखी स्वभावका रोहितले आफूलाई कहिल्यै पनि स्टार र स्टारडमको पछि दौडाउन चाहेनन्। ‘म घर फर्किएको छु। लामो समय लिग खेलेकाले थकान बढेको छ। छोटो समय भएकाले केही समय आराम गरेर फर्किहाल्छु,’ उनले भने, ‘म आउनु र जानुसँग धेरै मान्छेको सम्बन्ध हुँदो रहेनछ। सम्बन्ध जहाँ छ, त्यहाँ माया पाएको छु। अझ रोहितको देश भनेर नेपाललाई चिनाउन पाएको छु।’

किशोर अवस्थामै सन् २००९ मा प्यालेस्टाइनविरुद्ध राष्ट्रिय टिमको खेलाडीका रुपमा डेब्यू गरेका थिए रोहितले। ‘मैले जुन समयमा डेब्यू गरें, त्यो सबै मेरो लगाब र मेहनतकै कारण थियो। आफ्ना कारणबाहेक त्यसपछि मैले पछि फर्कनु परेको छै,’ उनी भन्छन्।

सुर्खेतको इत्राममा जन्मिएका चन्दले सुरुमा क्रिकेट र फुटबल दुवै उत्तिकै खेल्थे। किशोर अवस्थामा उनले खेलको प्यासन छुट्याएनन्। सिजनल खेलहरु खेले। फुटबल विश्वकप हुँदा फुटबल खेले, क्रिकेट विश्वकप हुँदा क्रिकेट। तर जब उनले एन्फा एकेडेमीको यात्रा तय गरे त्यसले उनको जिन्दगीको बाटो कोरिदियो। त्यसपछि उनी निरन्तर फुटबलमै लागिरहेका छन्। परिवारको राम्रो साथ पाएका रोहित तीन सन्तानमध्ये घरको कान्छो छोरा हुन्। रोहितलाई भारतीय आर्मीमा जागिरे रहेका बुवाको साथ निकै राम्रो रह्यो। 

एन्फा एकेडेमीबाट सन् २००९ मा रिलिज हुँदा उनी मच्छिन्द्रको भागमा परे। अझ उनको व्यवसायिक क्लब बन्यो मच्छिन्द्र। एक वर्ष मच्छिन्द्रबाट खेलेपछि उनी अर्को वर्ष भारतको बैंगलोरको क्लब हिन्दूस्थान एचसीबाट आईलिग खेले। दुई सिजन त्यहाँ खेलेपछि उनी नेपाल फर्किए। त्यसपछि मछिन्द्र क्लबका सदस्य रहेका नविन चित्रकारको सल्लाहमा उनी इन्डोनेशियामा ट्रायलका लागि गए। सन् २०१० को अन्तिमदेखि २०११ सम्म आरेमा फुटबल क्लबमा सुरुमा ट्रायल दिएका थिए।

त्यसपछि उनी पीएस पिकेन बारु भन्ने क्लबमा एक महिना ट्रेनिङ गरे। त्यसपछि क्लबले उनलाई आधिकारिकरुपमा अनुबन्ध गरेको थियो। सन् २०१२–१३ मा आधा सिजन पीएस क्लबबाट खेलेपछि उनी लिगको मध्यतिर पर्सिजा जकार्ता गएका थिए।  

पर्सिजाको फुटबल संस्कार 

जब उनी पर्सिजा गए त्यहाँ पुगेपछि बल्ल उनले फुटबलमा फ्यान कल्चर बुझे। समर्थकले फुटबलका लागि कतिसम्म गर्दा रहेछन् भन्ने कुरा बुझे। सुरुवाती एक महिना उनले जीवनको सर्वाधिक कठिन क्षणका रुपमा समय गुजारे।

‘पिकेन बारुमा नै रहँदा मलाई साह्रै दुःख भयो। भाषा, खानपान, कल्चर केही मिल्दैन थियो। जब पर्सिजा गएँ, त्यहाँ गएपछि भने केही सहज भयो। पर्सिजामा विदेशी खेलाडीका लागि सुविधा राम्रो छ। एउटा फ्ल्याट दिएको छ भने गाडीको सुविधा पनि छ,’ उनले भने।

गत सिजन उनको सम्झौता सकिएको थियो। तर, क्लबले आफ्ना स्टार खेलाडी गुमाउन चाहेन। उनलाई भित्राउनुपर्छ भनेर फ्यानहरुले त जुलुस नै निकाले। कोही नेपाली जकार्ता पुग्यो भने उसलाई सोधिने पहिलो प्रश्न हुन्छ - "तपाईंले रोहित चन्दलाई चिन्नुहुन्छ?" उनको यो लोकप्रियता बढ्दै गएको छ। तर यो पटक रोहित र क्लबकै लागि राम्रो वर्ष रहेन। दुवैले यो सिजनमा राम्रो गर्न सकेनन्।

युद्ध जस्तै डर्बी भिडन्त

पर्सिजा डर्बीका रुपमा रहेको पेश्जिब बान्दुङसँगको खेलका दौरान जीवनको सर्वाधिक बढी रिक्स लिएको महसुस हुन्छ रोहितलाई। 

‘हामी उनीहरुको मैदानमा जाँदा पनि सेनाको ट्ंयाक र सुरक्षामा मैदानमा पुग्छौं। उनीहरु पनि हाम्रो मैदानमा आउँदा त्यसैगरी आउनुपर्छ। ढुंगा मुढा प्रहार हुन्छ। साँच्चिकै दर्शकलाई नियन्त्रणमा लिन पुलिस परिचालन नै गर्नुपर्छ। सुरु–सुरुमा अत्यधिक डर लाग्थ्यो, अचेल त बानी पर्यो,’ रोहित भन्छन्।

जिम र खानपान

अफ सिजन भएकाले शरीरलाई फिट राख्न चन्द नियमित अभ्यास गरिरहन्छन्। थकित भएपनि फर्मलाई मेन्टन गर्न जिम जान्छन्। रोहित नेपाल छोटो समयका लागि आएकाले ए डिभिजन लिग फुटबलका केही खेलहरु मात्रै हेरे। यो बीचमा अनेक हल्ला पनि चले, रोहित कुन क्लबमा अनुबन्ध हुँदैछन् भनेर।

तर सबै हल्लामात्रै थिए। रोहित केही दिनअघि अष्ट्रेलिया प्रस्थान गरे र उतैबाट जकार्ता पुग्नेछन्। व्यवसायिक फुटबल खेलेर सर्वाधिक कमाउने फुटबलरमा पर्छन् रोहित।

उनी भन्छन्, ‘सपना साकार पार्न फुटबलसँगै पढाइलाई पनि अगाडि लैजानु पर्छ। फुटबल खेल्दा पढाइ छाड्नु पर्छ भन्ने मान्यता गलत हो। सपना साकार पार्न शिक्षा पनि उत्तिकै महत्वपूर्ण छ।’

 Published Date: Saturday, 18th January 13:34:08 PM