आईतबार, माघ १२, २०७६

मन्त्रीको दबाबमा सगरमाथामा स्काइ डाइभिङ अनुमति

| तस्वीर:फाइल

काठमाडौं, पुस २८ : विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा आरोहणको उपयुक्त समय (बसन्त र शरद ऋतु) मै सगरमाथामा ट्राफिक जाम भयो भनेर विश्वभर नकारात्मक सन्देश फैलिएको समयमा सगरमाथामा पुनः नियम विपरितका कामहरु गर्ने तयारी भइरहेको छ।

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको महत्वाकांक्षी योजना शुरु भइरहेको बेलामा सगरमाथामा कानुन विपरित काम गर्ने तयारी भएको पाइएको हो।

नेपाल भ्रमण बर्षका लागि भन्दै नियम विपरित पर्यटन विभागमा दैनिक फाईलहरु आउने क्रममा बृद्धि भएको पनि विभागले जनाएको छ। विभिन्न टे«किङ एजेन्सीले विभिन्न उच्च निकायका अधिकारीको नाम लिएर भ्रमण बर्षमा सहयोग गर्न भन्दै कानुनविपरितका कामहरुको अनुमति लिन आउने क्रममा बृद्धि भएको विभागका अधिकारीहरु बताउँछन्।

यस्तै एउटा प्रयास हो – सगरमाथाको चुचुरोबाट स्काइ डाइभिङ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भटराई निकटका पर्यटन व्यवसायी इश्वरी पौडेल स्काइ डाइभिङको अनुमतिका लागि दैनिक विभागमा धाउँदै आएको विभागका अधिकारीहरु बताउँछन्। 

हिमालय गाइड्स ट्रेक नामक कम्पनीमार्फत उनले भ्रमण बर्ष सफल बनाएर विश्वमा नेपाललाई चिनाउन भन्दै सगरमाथावाट स्काइ डाइभिङ गर्नका लागि अनुमतिको लविङ गर्दै आएका छन्।

विभागको पर्वतारोहण शाखाका अनुसार नेपाल पर्वतारोहण नियमावली २०५९ मै व्यवस्था नभएको कुरालाई निर्देशिकाको आधारमा सगरमाथावाट स्काइ डाइभिङका लागि विभागमा अनुमति मागिएको छ।

पौडेलले वार्म स्प्रीङ प्रोडक्सन युएसएबाट मार्क पेरिले जहाजको सहयोगबाट हाम्फालेर चुचुरोमा पाइला टेकी नयाँ कीर्तिमान बनाउने प्रस्ताव राखेपछि अनुमतिको लविङ गरेको विभागले जनाएको छ।

यसअघि पनि पौडेलकै अल्पाइन एड्भेन्चर नामक एजेन्सीले सन् २०१४ मा मन्त्रालयवाट सगरमाथावाट स्काइ डाइभिङ गने अनुमति लगेको थियो। तर, मन्त्रालयका कर्मचारीलाई प्रभावमा पारी बिना हस्ताक्षर दुई जनाको लागि अनुमति  लिएको एड्भेन्चरले स्काइ डाइभिङ गर्न भने असफल भएको थियो।

त्यतिबेला पनि उनले नियमविपरित आधिकारिक हस्ताक्षरबिनै अनुमति लिएको विभागका कर्मचारी बताउँछन्।

अहिले फेरी उच्च नेतृत्वको निर्देशनमा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सगरमाथाको चुचुरोबाट स्काइ डाइभिङ गर्न पाइने भन्दै प्रारम्भिक स्वीकृति दिएका छन्। यसअघि पनि मन्त्रालयले अनुमति दिएकाले आफुले प्रारम्भिक स्वीकृति दिएको घिमिरेले बताए।

पर्वतारोहण शाखाले नियमविपरित भएको भनेर रोकेको काम महानिर्देशकलाई प्रलोभनमा पारेर स्वीकृति दिन बाध्य बनाइएको विभागकै कर्मचारीहरु बताउँछन्। 

यसअघि आमादब्लम हिमालको चुचुरोमा बिना अनुमति गैरकानुनी रुपमा कुवेतको झण्डा फहराएपछि त्यसको व्यापक आलोचना भएको थियो। 

नेपालको हिमाललाई देखाएर विभिन्न देशका साहसिक पर्यटक भित्र्याउने योजना बोकेर भ्रमण बर्षको आयोजना गरेको सरकारले विना तयारी किर्तिमानी कार्य गर्दा हिमालकै सान गुम्ने खतरा भएको पर्यटन व्यवसायीहरु बताउँछन्।

कानुनमा के छ?

नेपाल पर्वतारोहण नियमावली २०५९ अनुसार सिमाना जोडिएको विदेशी राज्यसंगको अन्तर्राष्ट्रिय सिमानामा पर्ने हिमालचुली आरोहण गर्न अनुमति पाएका पर्वतारोही दलले अन्तर्राष्ट्रिय सिमाना उल्लघंन गर्न नहुने भन्ने उल्लेख गरिएको छ।

छिमिकी देश चीन र नेपालको  सिमानामा पर्ने सगरमाथा आरोहणका लागि पौडेलले जहाजको सहयोगमा चुचुरोमा पुगेर त्यहाँबाट हाम्फालेर नयाँ कीर्तिमान राख्ने प्रस्ताव गरेका हुन्। 

त्यस्तै, नियमावलीमा आधार शिविरदेखि हिमालचुलीको चुचुरोको अन्तिम बिन्दुसम्म जाँदा र फर्कँदाको सम्पूर्ण दुरी पैदलै तय गर्नुपर्नेछ। तर पर्वतारोहीको आपत्कालिन उद्धारको लागि हेलिकप्टर, हवाईजहाज तथा बेलुनको प्रयोग गर्न भने बाधा पर्ने छैन।
 
पर्वतारोहणसम्बन्धी उपकरण तथा सामग्री पर्वतारोही वा सो दलसँग जान अनुमति प्राप्त कामदारले मात्र लैजाने व्यवस्था गरिएको छ।
 

 Published Date: Monday, 13th January 17:02:35 PM