बिहीबार, असोज ३०, २०७६

‘सरकार, नेपालमै आएर मर्न पाऊँ'

बहराइनमा उपचाररत प्रकाश कटुवाल। | तस्वीर:काठमाडौं प्रेस

काठमाडौं, साउन २६ : यदि ‘अब म धेरै बाच्दिनँ’ भन्ने थाहा पाउनु भयो भने के गर्नुहुन्छ? एक वर्षदेखि यस्तै अनुभुति गरिरहेका ओखलढुंगाका २७ वर्षीय युवक भन्छन, ‘सरकार, नेपाल आएर मर्न पाउँ।’

चम्पादेवी गाउँपालिका–५ का २७ वर्षीय प्रकाश कटुवाल ठ्याक्कै एक वर्ष अघि वैदेशिक रोजगारीमा बहराइन पुगेका थिए। २०७५ साउन २ गते घरबाट निस्किँदा उनका दाइ मोहन पनि सँगै थिए । काठमाडौंबाट दुवै दाइभाइ साउन ६ गते बहराइनका लागि उडेका थिए।

त्यतिबेला पैसा कमाउन विदेश जानुबाहेक आफूसँग विकल्प नभएको उनले ठम्याएका थिए। ‘घरको आर्थिक अवस्था राम्रो थिएन, छैन। कमाइ खान न जमिन थियो न त जागिर खान पढेका थियौं,’ प्रकाश भन्छन्।

उनीहरूलाई विदेशमा गाह्रोसाह्रो होला भन्ने अनुमान थियो। त्यसैले दुःखसुखमा सजिलो होला भनेर दुवै दाइभाइ बहराइनका लागि उडेका थिए। ‘सजिलो खोज्दै दुवै एउटै देश, एउटै कम्पनीमा आयौं,’ प्रकाश सम्झिन्छन्।

काठमाडौँमा सामाखुशीस्थित त्रिवेणी वैदेशिक रोजगार कम्पनीले दाइभाइलाई बहराइन पठाएको थियो। त्यतिबेला उनीहरूलाई घरभित्रै सामान प्याकिङ गर्नुपर्ने काम भनिएको थियो।

तर, जब दुवै दाइभाइ बहराइन पुगे, त्यसपछि थाहा भयो– ‘सडकको किनार सफा गर्नुपर्ने रहेछ।’  उनी भन्छन, ‘बिदेश आइसकेपछि के गर्नु! फर्कने कुरा भएन, जे मा भएपनि काम गर्नै पर्‍यो।’

बहराइनमा उपचाररत प्रकाश कटुवाल।

प्रकाश दाजुभाइ साउन ९ गते बहराइन पुगे र साउन ११ देखि काम गर्न थाले। काम उहि थियो, सडक किनार सफा गर्ने, खाल्डाखुल्डी पूर्ने। ‘काम राम्रो भए, तीन–चार वर्ष, नत्र दुई वर्षमा फर्कुला भन्ने सोचेको थिएँ,’ प्रकाशले भने, ‘अब त कहिल्यै नेपाल फर्कन पाउँदैन कि जस्तो लाग्दैछ।’

काममा लागेको छठौं दिन थियो। साउन १६ गते बिहान १० बजेतिर हो। आफ्नै साइटमा काम गरिरहेका थिए, बत्तिएर आएको गाडीले ड्याम्मै ठोक्यो। ‘केही यादै भएन्। होस आउदा अस्पतालमा थिएँ,’ प्रकाशले भने।

पछि थाहा पाए, त्यो घटनामा उनीसँगै काम गर्ने भारतको उत्तर प्रदेशका कामदार घाइते भए। सँगै काम गरिरहेका उनका मामा दीपक कार्की पनि घाइते भएका रहेका छन्। भारतको उत्तर प्रदेशका एक कामदारको मृत्यु भएको रहेछ। ‘म पनि मरिदिएको भए हुन्थ्यो। घाइते हुनुभन्दा त मर्नु नै ठीक हरेछ,’ प्रकाशले भने, ‘अहिले त बाँचेर पनि पटकपटक मरेको छु।’

शरीरको पछाडिको भाग कर्‍यामकुरुम भयो। खुट्टामा गम्भीर चोट लाग्यो। हिडडुल, उठबस बन्द भयो। शरीर चल्न छाड्यो। बोल्न सक्ने त भए तर, अरुकै भरमा बाच्नु पर्ने भयो। उनलाई सन्चो लागेको थिएन, तैपनि पाँच महिनापछि अस्पतालले फिर्ता गरिदियो।

अहिले बहराइनको अस्टरस्थित डेरामा छन्। ओछ्यानमै बोलचाल गर्न त सक्छन तर, थोरै समय। अरुले खुवाइदिए खानेकुरा पनि खान सक्छन्। ‘यो भन्दा अरु केही गर्न सक्दिनँ। दिशा–पिसाब पनि जिउमै हुन्छ,’ प्रकाश भन्छन, ‘कटकट जिउ दुख्छ। जिउ दुख्दा त किन बाँचे हुँला जस्तो लाग्छ।’

प्रकाश कटुवाल।

उपचार खर्च त कम्पनीले ब्यहोर्‍यो। अस्पतालबाट फर्केपछि भने झन सकस भएको छ। पैसा कमाउन भनेर बहराइन पुगेका उनका दाइ डेरामा कुरुवा बसेका छन्। उनैले खाना खुवाउने, लुगा फेर्ने, दिशापिसाब सफा गरिदिन्छन्। हप्तामा एक पटक डाक्टर बोलाएर जाँच गराउँछन्, त्यही अनुसार दैनिक औषधि खुवाउछन्।

कक्षा ३ सम्ममात्रै पढेका प्रकाशलाई धेरै जानकारी छैन। उनका दाइ पनि उनीजस्तै छन्। डाक्टरले के भन्छन्, खासै बुझ्दैनन्। उनलाई लाग्छ, राम्रो उपचार गरेपछि निको हुन्थे कि। प्रकाश भन्छन, ‘पैसा भए त राम्रोसँग उपचार गर्थे। निको भइहाल्थ्यो कि।’

उनलाई उपचार गर्नुसक्छु जस्तो लाग्दैन। किनकि, पैसा छैन। विदेश जादा लागेको ऋण पनि उस्तै छ। उनलाई कतिबेला लाग्छ, अब धेरै बाच्दिनँ।
जब बाच्दिन भन्ने मन आउछ, त्यसबेला घरकै याद आउने गरेको उनी बताउछन्। ‘बाँचेर पनि काम त केही गर्न सक्दिनँ तर, मलाई नेपाल आएरै मर्न मन छ,’ उनले भने।

उनलाई घरमा रहेको सानो छोरा छ। श्रीमती, आमाबुवा छन्। उनीहरूलाई हेर्न मन छ। ‘एकपटक छोरा, श्रीमती र आमालाई भेट्न मन छ,’ ईमोमार्फत काठमाडौं प्रेससँगको भिडियो कुराकानीमा प्रकाशले भने, ‘कसरी घर फर्किनु! सरकार, मलाई घर फर्किन मन छ। अब धेरै दिन बाच्दिनँ होला, नेपालमै आएर मर्न पाउँ।’

याे पनि : कोमामा भनिएका बिरामी कोठामै छट्पटाउँदै

 Published Date: Sunday, 11th August 14:13:47 PM