शुक्रबार, असोज ९, २०७७

सभामुखमा हरिबोल गजुरेललाई अघि सार्ने प्रचण्डको तयारी

काठमाडौं, माघ ३ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखमा हरिबोल गजुरेललाई अघि सार्ने तयारी थालेका छन् । 

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार बिहान भएको छलफलमा सभामुख पद पूर्वमाओवादीले पाउने विषय सकरात्मक भएपछि प्रचण्डले गजुरेललाई सभामुखमा अघि सार्ने तयारी गरेका हुन्।

 प्रचण्ड निकट एक नेताका अनुसार पूर्वमाओवादीबाट सभामुखका प्रमुख दावेदार मानिएका अग्नी सापकोटाको नाममा ओली सहमत छैनन् । सापकोटालाई नागरिक समाजका अगुवा र केही विदेशीहरुले पनि ‘अब्जेक्सन’ राखेका छन्। शुक्रबार ओलीसँग भएको बैठकमा प्रचण्डले सापकोटालाई नै सभामुखको उम्मेदवार बनाउने अडान छोडेका छन्। 

प्रचण्डले इच्छाएका अग्नी सापकोटाको नाममा ओली टसमस नभएपछि  सभामुखमा हरिबोल गजुरेललाई अघि सार्ने गरी पूर्वमाओवादीभित्र आन्तरिक छलफल हुन थालेको छ। 

पूर्वमाओवादीबाट सभामुखका लागि सापकोटा, गजुरेल, देवप्रसाद गुरुङ र पम्फा भुसाल आकाक्षी छन्। ‘अग्नीजीको नाममा सहमत हुने भएन । अब अध्यक्षले अर्को नाम प्रस्ताव गर्नु हुनेछ,’ ती नेताले भने, ‘पम्फा भुसाल, देव गुरूङ लगायत पनि अकाक्षी हुनुहुन्छ । तर, अध्यक्षले गजुरेललाई अघि सार्ने सम्भावना धेरै छ ।’ 

सापकोटाको नाममा किन जुटेन सहमति?

 आफ्ना विश्वासपात्र मध्येका एक सापकोटालाई सभामुख बनाउन प्रचण्डले यसअघि ओली समक्ष प्रस्ताव राख्दै आएका थिए । तर, ओलीले सापकोटाको नाम ठाडै अस्विकार गरिदिएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा भइरहेको विवाद र त्यसलाई संसदमा पास गर्न सहयोग गर्न सहयोग गर्ने पात्रको खोजीमा ओली छन् । त्यसका लागि सापकोटा उपयुक्त पात्रा नभएको ओलीको बुझाइ रहेको ती पूर्वमाओवादी नेताको दावी छ। यस्तै सापकोटाले व्यक्ति हत्या र अदालतको अवहेलना मुद्दा पनि खेपिरहेकाले पनि उनको नाममा सहमति नजुट्ने निश्चित भएको हो। 

पूर्वमाओवादीलाई गलाउँन खोज्दा आफैं गले ओली

पूर्वमाओवादी पक्षले ओलीले सभामुखको चयनको विषयमा आफुहरुलाई गलाउन खोज्दा आफैं गलेको बताएको छ । उपभामुख शिवमाया तुम्बाहाम्फेलाई उचालेर ओलीले आफुहरुलाई गलाउन खोजेको पूर्वमाओवादीको बुझाइ छ । ‘उसभामुखलाई राजिनामा नदिन उक्साएर उहाँ (ओली) ले हामीलाई गलाउन खोज्नु भएको थियो । तर, अहिले उहाँ आफैं गल्नु भएको छ,’ पूर्वमाओवादी समुहका एक नेताले भने, ‘पार्टी एकता हुँदा नै प्रधानमन्त्री पूर्वएमाले र सभामुख पूर्वमाओवादीले पाउने सहमति थियो । तर, महरा जीको पद गुमेपछि पूर्वएमालेले सभामुख पद हत्याउन खोजेको हो, जसमा प्रचण्ड कमरेड मान्न तयार हुनुहुन्न ।’ 

राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सहयोगमा ओलीले उपसभामुखलाई उचालेको र सभामुख पद पूर्वएमाले समुहले हत्याउन षडयन्त्र गरेको पूर्वमाओवादीको आन्तरिक बुझाईछ । तर, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावलहरुले नै प्रचण्डलाई सहयोग गर्ने स्थिती बनेपछि ओली गलेको बुझाइ नेकपामा छ । ‘सुवास नेम्वाङलाई सभामुख बनाउनकै लागी ओलीजीले खेल खेल्नु भएको थियो । तर, त्यो सफल भएन’ ति नेताले भने । 

यौन दूव्र्यवहारको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महरा थुनामा छन् । असोजमा महरामाथि आरोप लागेपछि खाली रहेको सभामुख चयन अझै हुन सकेको छैन । प्रतिनिधी सभामको हिँउदे अधिवेशन ४ पुस मै आव्हान गरिएको थियो । तर, नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठक पटक–पटक सुचना टाँस गरेर स्थिगित हुँदै आएको छ । ६ माघमा बैठक बस्ने छ । त्यस अघि नै सभामुखको उम्मेदवार टुंगो लगाउने नेकपाको तयारी छ । 

सभामुख चयन विवादले पूर्वमाओवादी एक ठाँउ

तत्कालिन एमालेसँग पार्टी एकता भएपछि पूर्वमाओवादीका नेताहरु एकै ठाँउ थिएनन् । गृहमन्त्री रामबहादुर थापा र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठहरु ओली क्याम्पमा पुगेका थिए । तर, सभामुख चयनमा भएको विवादले पूर्वमाओदीहरु एक ठाँउमा आएका छन् । ‘एकतापछि हाम्रै साथीहरु पनि ओलीका सहयोगी जस्तो देखिएका थिए । तर, अहिले उहाँहरु प्रचण्डसँगै आइपुग्नु भएको छ,’ प्रचण्ड निकट ती नेता भन्छन्, ‘अझ माधव नेपाल, बामदेव गौतमहरुको समेत सहयोग प्रचण्डको नजिक आउनुभयो ।

त्यसैले सभामुख चयनमा देखिएको विवादले प्रचण्डलाई फाइदा पुगेको छ ।’ पूर्वमाओवादी एकै ठाँउ भएपछि भोलीका दिनमा पार्टीको आन्तरिक राजनीतिमा प्रचण्डलाई फाइदा पुग्ने विश्लेषण ती नेताको छ । ‘अहिलको जस्तो त्रिपक्षीय समिकरण रहिरहने हो भने भोलीका दिनमा समेत प्रचण्डलाई फाइदा पुग्छ । हामी ४० प्रतिशत हौं, उहाँहरु ६० प्रतिशत । हामी एक ढिक्का रहँदा उहाँहरु ३०–३० प्रतिशतमा बाडिँनुहुन्छ । त्यसले प्रचण्डलाई फाइदा गर्छ।’ 

 Published Date: Friday, 17th January 2020 10:25:26 am