शुक्रबार, साउन ३०, २०७७

‘भिटामिन सी खाएर कोरोना जितेँ तर छिमेकी टाढिएर हैरान छौँ’

आजभोलि मेरो घरअगाडि शून्यता छाएको छ । वीरगन्ज छपकैया–३ मा पर्छ मेरो घर । अचेल छरछिमेक पनि मेरो परिवारसँग बोल्न छाडेका छन् । किनकि मलाई कोराना लागेको थियो।

मैले काम गर्दै आएको कपडा कारखाना लकडाउनसँगै बन्द भएकाले मेरा दिनहरु घरमै बसेर बित्ने गर्थ्यो, घरकै काम गरेर । वीरगन्जमा कोरोना देखिएपछि वैशाख २६ गते कोरोना परीक्षणका लागि छप्कैया–३ मा शिविर सञ्चालन गरियो । मलाई कोरोनाको कुनै लक्षण त देखिएको थिएन, तर आत्मसन्तुष्टिका लागि आफैँ परीक्षणका लागि गएँ।

२६ गते गरिएको परीक्षणको रिपोर्ट ३० गते आयो । दिउँसोको करिब ३ बजेको थियो । म सधैँझैँ घरकै काममा व्यस्त थिएँ । मेरो मोबाइलमा वडा कार्यालयबाट फोन आयो, ‘तपाईंको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । नारायणी अस्पतालमा लैजानका लागि एम्बुलेन्स पठाएका छौँ।’

एकैछिन म आफैँ अचम्ममा परेँ । मेरो मनमा अनेकौँ कुरा खेल्न थाले । घरबाहिर कतै गएको थिइनँ, कोरोना संक्रमण ! एकैछिन त सरकारले गरेको परीक्षणमा शंका लाग्यो।

तैपनि आफूलाई सम्हाल्दै परिवारलाई भनेँ, ‘मलाई कोरोना लागेको छ, एम्बुलेन्सले लिन आउँदै छ।’ 

यो सुन्नेबित्तिकै सबैजना हडबडाउन थाले। 

‘कोरोना निको हुने रोग हो । नेपालमा महामारीको रूपमा फैलिएको छैन, डराउनुपर्दैन,’ भनेर घरमा सम्झाएँ। 

यतिन्जेल घरअगाडि नै एम्बुलेन्स आइपुग्यो र मलाई अस्पतालमा लगी आइसोलेसन वार्डमा राखियो।

म अस्पताल पुग्दा त्यहाँ तीनवटा वार्डमा जम्मा २४ जना थिए । एउटा कोठामा आठजना राखिएको थियो । अस्पताल नपुगुन्जेल मैले धेरै कुरा सोचेँ । मेरो अवस्था सामान्य नै थियो । मलाई कुनै अन्य रोग थिएन, छैन । कोरोनाको कुनै लक्षण पनि देखिएको थिएन । अस्पताल पुगेपछि म बसेको कोठामा बस्ने अन्य सातजना साथीको अवस्था मेरोजस्तै रहेछ । उनीहरूमा पनि कोरोनाको कुनै लक्षण देखिएको रहेन छ। 

मलाई अस्पतालमा लगेकै दिनमा मेरो परिवारको पनि कोरोना परीक्षण गरियो, तर कसैमा संक्रमण देखिएन। 

अस्पतालमा गएको दिन मलाई निकै नमज्जा लागेको थियो । घरको चिन्ताले सताइरहेको थियो । त्यसमाथि अस्पतालको हबिगत देखिनसक्नुको थियो । व्यवस्था र सुविधाको नामोनिसान थिएन, नारायणी अस्पतालमा । केही साथीले भने, ‘हामी आफैँ अस्पताल सफा गरौँ।’ 

यतिमात्र होइन, सुरुका दिनहरुमा खाना समेत राम्रो थिएन । सुरुका तीन दिन हामीलाई चाउचाउ, बिस्कुट, भुजा लगायत खानेकुरा दिइएको थियो । पछि हामीले विरोध गरेपछि बल्ल राम्रो खाना दिन थालियो।

यतिको समस्या भोगिसकेपछि हामीले अस्पतालमा बस्नुभन्दा घरमै बस्नु राम्रो देख्यौँ । न कसैले मतलब गर्थ्यो, न चिकित्सक नै हामीलाई हेर्न आउँथे । यति मात्र होइन, आवश्यक व्यवस्थापनमा समेत अस्पताल चुकेको छ । नारायणी अस्पतालको आइसोलेसन नामको मात्र रहेछ भन्ने केही दिनमै थाहा भयो।

म अस्पतालको आइसोलेसनमा १४ दिन बसेँ । यो बीचमा अस्पतालको अवस्था राम्रोसँग अनुभव गर्न पाएँ । औषधिको नाममा हाम्रो बेडमा पारा–सिटामोल, जिन्जर–२० र भिटामिन सी मात्र दिइएको थियो । मलाई ज्वरो र खोकी नभएको भएर भिटामिन सी मात्र सेवन गरेँँ । त्यति खाएरै कोरोनाविरुद्ध विजयी भएँ । त्यही खाएर कोरोना पचाएँ।

सरकारले भने अनुसार, केही व्यक्तिमा कोरोना पोजिटिभ भएमा अस्पतालमा पनि संक्रमितको परीक्षण हुनुपर्थ्यो । तर, म अस्पताल गएको नौ दिनसम्म कोरोना परीक्षण गरिएन । कारण सोध्दा परीक्षणको कीट अभाव भएको जवाफ आयो।

कोरोना परीक्षण कीटको अभावकै कारण अस्पताल लगेको १०औं दिनमा मात्र प्रथम कोरोना परीक्षण गरिएको थियो, त्यसपछि १२औँ दिनमा परीक्षण गरियो । दुईपटक परीक्षण गरी दुवैमा नेगेटिभ आएपछि जेठ १२ गते घर फर्काइयो । अस्पतालले सोही दिन मलगायत ४३ जनालाई घर फर्काइएको थियो।

मेरो जीवनका अविस्मरणीय पलमध्ये पर्छन्, यसपालि अस्पतालमा बिताएका दिनहरु । अस्पतालमा बस्दा दिन बिताउनै गाह्रो हुन्थ्यो । न नेट छ, न त एउटा टिभी नै । आफैँ डाटा प्याक लिएर नेट चलाएरै टाइमपास गर्थें । सायद यी र यस्ता कुराकै कारण यो समयलाई म कहिल्यै भुल्न सक्दिनँ होला।

घर फर्किने बेला त्यहाँ एम्बुलेन्स सुविधा पनि थिएन । साथीभाइको मोटरसाइकलमा बसेर घर फर्किएँ । यति कुरा भोग्दा नेपालमा हाल भइरहेको कोरोनाको परीक्षणको परिपाटी नै गलत भएको पाएँ । मानिसहरुको मृत्युपश्चात् उनीहरुको रिपोर्ट सार्वजनिक गर्नु नै यसको सबैभन्दा ठूलो उदाहरण हो। 

मलाई अहिलेसम्म पनि कुनै स्वास्थ्य समस्या आएको छैन । घर फर्किंदा खुसीको महसुस भने गर्न पाएको छैन । छिमेकीले कोरोना लागेको मान्छे बस्ने घर भनेर नजिकै पर्दैनन् । मानिसको मनमा कोरोनाको नाममा एक प्रकारको त्रास बसिसकेको छ । मलाई कोरोना भएको भनेर घरका अन्य सदस्यसँग समेत छिमेकीहरु बोल्न रुचाएका छैनन्। 
 

(सोनी शाहीसँगको कुराकानीमा आधारित)

 Published Date: Thursday, 28th May 12:45:42 PM